मंसिर १२, २०७२- सरकारले मंसिर १५ देखि हस्तलिखित चालक अनुमति पत्र (लाइसेन्स) लाई विद्युतीय प्रविधिको स्मार्ट कार्डबाट विस्थापन गराउने भएको छ । यातायात व्यवस्था विभागले गत साउनमै स्मार्ट कार्ड लागू गर्ने तयारी गरेको थियो तर वैशाखको महाभूकम्पका कारण पछाडि धकेलिएको हो । उक्त नयाँ प्रविधिको लाइसेन्स सुरुमा काठमाडौं उपत्यकामा लागू हुने छ । त्यसको दुई सातापछि अन्य १४ यातायात व्यवस्था कार्यालयबाट वितरण थालिने विभागले जनाएको छ । पुस पहिलो सातादेखि देशभर स्मार्ट कार्ड वितरण थालिने विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा एक लाख ६० हजार स्मार्ट कार्ड वितरण गरिने छ । विभागका अनुसार हालसम्म २० लाखभन्दा बढी लाइसेन्स जारी भएका छन् । तीमध्ये करिब १५ लाख सक्रिय छन् । एसियाली विकास बैंकको १५ करोड रुपैयाँ सहयोगमा यातायात क्षेत्रमा नयाँ प्रणालीको विकास गर्न लागिएको हो । स्मार्ट कार्ड छपाइको जिम्मा भारतको मद्रास प्रिन्टर्सले पाएको छ । उक्त कम्पनीको नेपाल प्रतिनिधि भने लनर्स टेक प्रालि छ । यसअघिको प्रणालीबाट नयाँ सफ्टवेयरमा डाटा स्थानान्तरण गर्न समय लाग्ने भएकाले केही दिन काम अवरुद्ध हुने भएको छ । ‘सोही कारण उपत्यकामा मंसिर १ देखि ७ सम्म सेवा अवरुद्ध हुनेछ,’ प्रवक्ता अधिकारीले भने । लाइसेन्स नवीकरण, नयाँ बनाउने, वर्ग थप र प्रतिलिपि गर्न आउने ग्राहकलाई चिट दिइने उनले जानकारी दिए । कार्यालय सुचारु भएपछि उनीहरूले सेवा पाउने छन् । स्मार्ट कार्डको प्रक्रिया मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को जस्तै हुनेछ । हस्ताक्षरमा समेत डिजिटल प्रविधि नै अपनाइने भएको छ । सुरुमा चालक अनुमतिपत्रमा लागू हुने यो प्रविधि अर्को चरणमा सवारी दर्ता प्रणालीमा समेत कार्यान्वयनमा ल्याउने सरकारी तयारी छ । के हो स्मार्ट कार्ड ? बैंकको एटीएमजस्तै हुने कार्डको बीचमा मोबाइलको सिमजस्तो सम्पूर्ण सूचना रहने चिप्स हुन्छ । र, यसमा चालकको परिचयपत्र, सवारी नम्बरलगायत सवारी र चालक दुवैको सम्पूर्ण तथ्यांक हुनेछ । यसको प्रयोगसँगै ब्लु बुक र लाइसेन्स बोकेर हिँडने झन्झट हुने छैन । स्मार्ट कार्डको आयु १० वर्षको हुनेछ । त्यसका लागि यातायात व्यवस्था कार्यालयमै गएर मतदाता नामावली जस्तै गरी तस्बिर खिचाउनुपर्छ । औंठाछाप र र लेजर प्रविधिबाट हस्ताक्षर गर्नुपर्छ । आफ्ना सबै विवरण चालकले अनलाइनबाटै भर्न सक्छन् । तस्बिर खिचाउन, हस्ताक्षर र औंठाछापका लागि कार्यालयमा पुग्नुपर्ने छ । ट्राफिक प्रहरी र विभागका कर्मचारीले ‘स्मार्ट कार्ड रिडर’ प्रयोग गर्नेछन् । चालक अनुमतिपत्रलगायत कामका लागि यातायात व्यवस्था कार्यालयबाहिर लाग्ने बिचौलियाको भीड यससँगै अन्त्य हुने विभागको दाबी छ ।

Post a Comment

 
Top