ताजाखबर, ११ मंसिर- प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गर्नु भएको छ । आफ्नो सरकारी निवास बालुवाटारमा आज प्रेस काउन्सिल नेपालको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सामाजिक सद्भाव भड्कनेतिर सचेत हुन आग्रह गर्नु भएको हो । मुलुकलाई अगाडि बढाउन सञ्चारजगतको भूमिका महत्वपूर्ण हुनेभन्दै ओलीले समाजिक सद्भाव बिथोल्ने गरी कसैले समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो । ओलीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेकोभन्दै सञ्चार माध्यमले सही सूचना सम्प्रेषण गर्नुपर्ने धारणा राख्नुभयो । प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले मिडिया अनुगमनका लागि काउन्सिलसँग बजेटको अभाव भएको भन्दै १ करोड ४० लाख रुपैँया बजेट उपलब्ध गराउन माग गर्नुभयो । यसैबीच प्रधानमन्त्री ओलीले जारी मधेस आन्दोलन र समस्या समाधानका लागि भइरहेका प्रयासको बारेमा आजै नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालासँग पनि छलफल गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मधेस आन्दोलनको माग सम्बोधन गर्न द्धिपक्षीय छलफल चलाउने बारेमा पनि कुराकानी भएको जनाइएको छ ।

Post a Comment

 
Top