अर्थमन्त्री बिष्णु पौडेलले आज भैरहवास्थित सुनौली नाका अवलोकन गरेका छन्। यस नाकामा कुनै अवरोध नभएको र नाका आसपासका सबै क्षेत्र सुरक्षित रहेको भन्दै उनले भने ‘अब चाडै नै नाकाबन्दी खुल्छ।’

‘नेपाली सिमानामा कुनै पनि सुरक्षाको कमी छैन, तपाईहरुले  यो संकटको समयमा पनि दिन रात नभनी काम गरिरहनु भएको छ यसको मूल्याङकन हुन्छ’ अर्थमन्त्रीले भनेको कुरालाई उदृत गर्दै सुनौली नाकाका भन्सार अधिकृत रविन्द्र प्याकुरेले बताए। भारततर्फ अड्किएका मालवाहक र इन्धनका गाडीहरु नेपाल भित्रन कुनै समस्या नरहेको ठहर समेत मन्त्रीको छ।

भारततर्फ रोकिएका गाडीहरु तत्कालै नेपाल भित्र्याउने प्रक्रिया सुरु गर्न मन्त्री पौडेलले स्थानीय प्रशासनलाई निर्देशनसमेत दिएका छन्।

नाकामा कुनै पनि अवरोध नदेखिएको र मोर्चाका कार्यकर्ताको धर्नासमेत नरहेको अवस्थामा भारततर्फ रोकिएका गाडीहरु तत्कालै नेपाल ल्याउने प्रक्रिया थाल्न मन्त्री पौडेलले स्थानीय प्रशासनलाई निर्देशन दिएको प्याकुरेलले सेतोपाटीलाई बताए।

सुरक्षामा कुनै समस्या नरहेकाले भारतीय पक्षसँग समन्वय गरेर नाका सुचारु हुनुपर्ने मन्त्रीको तर्क छ।  ‘यदि नाकाबन्दी होइन भने बेलहिया नाकाबाट गाडीहरु भित्रिन कुनै सुरक्षा समस्या छैन, चौबीसै घण्टा स्कर्टिङ गरेर गाडी पास गर्नुपर्छ’ पौडेलले भने। पौडेलले माथिबाट आफूले कुटनीतिक पहल गर्ने समेत बताएको प्याकुरेलले जानकारी दिए।


Post a Comment

 
Top