Via:Taja Khabar

धुन्चे (रसुवा), ११ मङ्सिर-
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले नेपाल–चीनबीचको व्यापार व्यवसाय तीव्र पार्न गल्छी–त्रिशुली–स्पाफ्रुवेशी–रसुवागढी अन्तर्राष्ट्रिय मार्ग दुई वर्षमा निर्माण हुने बताउनुभएको छ ।

उत्तरी रसुवागढी नाकाको वर्तमान अवस्था र निर्माण गरिने सडक क्षेत्रको स्थलगत निरीक्षणका लागि आउनुभएका उपप्रधानमन्त्री गच्छदारले निरीक्षणपश्चात् काठमाडौँ फर्कनुअघि रासससँग कुराकानी गर्दै सो कुरा बताउनुभएको हो ।

उहाँले सञ्चालित सडकलाई स्तरोन्नति गर्ने गल्छी, त्रिशुली, बेत्रावती, मैलुङ, हाकु, स्याफ्रुवेशी रसुवागढीसम्म दोहोरो लेनको अन्तर्राष्ट्रिय मार्ग निर्माण हुने र बेत्रावती, मैलुङ, हाकु, स्याफ्रुवेशी क्षेत्रको बढी भिर चट्टान भएको २८ किमी क्षेत्रको नयाँ सडक निर्माणका लागि नेपाली सेनालाई परिचालन गरी द्रुतरुपमा काम आगाडि बढाइने उपप्रधानमन्त्री गच्छदारले बताउँदै सरकारले रसुवागढी सडक विस्तार निर्माण कार्यलाई उच्च प्राथमिकतामा रोखेको समेत जानकारी दिनुभयो ।

उहाँले इन्धन समस्या समाधान गर्न चीनको आपूर्तिले मात्र समस्या समाधान नहुने भएकाले राजनीतिक पाटोबाट आन्तरिक समस्या समाधान गरी भारतसँग कूटनीतिक पहल थालिने पनि बताउनुभयो ।

त्यस्तै उपप्रधानमन्त्रीका साथ रसुवागढी पुग्नुभएका अर्थमन्त्री विष्णु पौडेलले भन्नुभयो– “गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माणका लागि यथेष्ठ बजेट व्यवस्थापन गर्ने बताउँदै चीनसँग कारोबार गर्ने रसुवागढी नाका छोटो भएका कारण गल्छी, बेत्रावती धुन्चे, स्याफ्रुवेशी रसुवागढी मार्गलाई पनि यथास्थानमा राख्न स्तरोन्नति गर्ने र बेत्रावतीदेखि मैलुङ, हाकु, स्याफ्रुवेशी नयाँ मार्गका रुपमा विकसित हुने भएकाले यससम्बन्धी प्रक्रिया अगाडि बढाइनेछ ।”

सडक र रसुवागढी क्षेत्रमा निर्माण हुने संरचना निर्माणका लागि स्थलगत भ्रमणमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलका साथ रसुवाका सभासद् जर्नादन ढकाल, अर्थसचिव लोकदर्शन रेग्मी, सडक विभागका महानिर्देशक माधवजङ्ग कार्की, राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक फणीन्द्र खरेलसमेतको सहभागिता रहेको थियो ।

रसुवाका प्रजिअ शिवराम गेलाललका अनुसार उपप्रधानमन्त्रीसहितका सरकारी अधिकारीले सुक्खा बन्दरगाह बन्ने टिमुरे र भन्सार अध्यागमनलगायतका निकाय स्थापना गरिने रसुवागढी क्षेत्रको स्थलगत र हाकु मैलुङ बेत्रावती क्षेत्रमा हवाई निरीक्षण गर्नुभएको थियो । रासस


Post a Comment

 
Top