धनगढी, ११ मङ्सिर– बोक्सीको आरोपमा झन्डै दुई वर्षअघि निर्मम यातना पाएर पीडित हुनुभएकी कैलाली जिल्लाको साविक बेलादेवीपुर गाविसकी एक वृद्धाको आज निधन भएको छ ।

आफन्तबाट विसं २०६९ चैतमा यातना पाउनुभएकी बेलादेवीपुर गाविस ९हाल अत्तरिया नगरपालिका० घुरसुवा गाउँकी राजकुमारी रानाको निधन भएको उहाँका छोरा दरबारी रानाले बताउनुभयो ।

उहाँ छ दिनदेखि बेहोस हुनुहुन्थ्यो । सो घटनापछि आमालाई समयसमयमा बेहोस हुने समस्या देखिने गरेको भए पनि आर्थिक समस्याकै कारण पूर्ण उपचार हुन नपाएको दरबारीले बताउनुभयो ।

उहाँलाई उपचारका लागि छ दिनअघि सेती अञ्चल अस्पतालमा ल्याइएकामा निको हुन नसकेपछि घरमै राखिएको थियो ।

सोही गाउँका रामकुमारी राना, निरा राना, धर्मसिंह राना, रामसिंह रानाले अमानवीय तरिकाले उहाँलाई कुटपिट गर्दै मलमूत्रसमेत खुवाएर घर नजिकको रुखमा बाँधेर यातना दिएका थिए ।

घटनाका दोषी रामसिंह राना र धर्मसिंह राना अझै फरार रहेको बताइएको छ । पीडकमध्येका निरा र रामकुमारी रानालाई तत्कालै प्रहरीले पक्राउ गरी कारबाही गरेको थियो । रासस

Post a Comment

 
Top