१४ मंसिर, बिराटनगर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सोमबार भएको त्रिपक्षीय वार्ता सरकारले भारतलाई देखाउन मात्र गरेको आरोप लगाएको छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको आहृवानमा सत्तारुढ दल, कांग्रेस र मधेसी मोर्चाबीच भएको वार्ता एजेण्डामा प्रवेश नै नगरी सकिएको थियो । वार्तामा मोर्चाका तर्फबाट महन्थ ठाकुरसहितका नेताहरु मात्र थिए । अन्य तीन शीर्ष नेता भने बिराटनगरमा बैठक गरिरहेका थिए ।
साँझ विराटनगर १८ स्थित संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्रं यादवको निवासीमा पत्रकार सम्मेलन गरेर मोर्चाका नेताहरुले सरकारले वार्तामा बोलाएर जिस्क्याउने काम मात्र गरेको बताए ।
सरकारले विना गृह कार्य भारत र विदेशीलाई देखाउन मात्र वार्ताको नाटक गरेको उनको आरोप थियो । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा भारत जान लागेकाले यो वार्ताको नाटक भएको उनको दाबी थियो ।
मधेसी मोर्चाले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । यादवले आन्दोलन अधिकार प्राप्तिको लडाइ भएको भन्दै भन्दै यसलाई अवका दिनमा अझ व्यवस्थित, मर्यादित र अनुशासित बनाएर लैजाने बताए ।
मोर्चाको बैठकमा फोरम अध्यक्ष यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवकमा साथै झापा, मोरङ र सुनसरीका जिल्ला नेताहरुको सहभागिता थियो ।

Post a Comment

 
Top