लहान–१५ वर्षदेखि लहान बजारमा रिक्सा पेलेर जीवन धानिरहेका सिरहा निपानेका दशै साहको रोजगार खोसिएको तीन महिना बढी भयो। मधेसी मोर्चाको बन्दका कारण राजमार्ग र बजार सुनसान भएपछि साहको रिक्सा थन्किएको छ।

लहानमा रिक्सा चलाउँदै आएका साह महिनाको १० देखि १५ हजार कमाउँथे । मधेस आन्दोलन चर्केपछि साहको रोजीरोटी गुम्यो। 'दैनिक पाँच सय रुपैंया सम्म कमाइ हुन्थ्यो, अहिले बोहनीसमेत हुन छाडेको छ,' साहले दुखेसो गरे,'छोराछोरी र वृद्ध आमा बुवा पाल्ने समस्याले सताएको छ।'

दुई छोराछोरी र आमा बुवासहित छ जनाको परिवार पाल्न अहिले समस्या भएको र गाउँको खेतमा कृषि काममा अहिले मजदुरी नपाइने भएपछि परिवार पाल्न धौ–धौ भएको उनको गुनासो छ। चाँडबाडमा पनि छोरा छोरीलाई नयाँ लुगा किन्न नपाएको दुखेको पोख्दै उनले भने,'चुल्हो बाल्न त मुस्किल छ, कहाँबाट नायाँ लुगा किन्नु ।'

लहानमा सिटी रिक्सा चलाउँदै आएका रामचन्द्र महतो व्यथा पनि त्यो भन्दा कम छैन। 'बैंकबाट ऋणमा किनेको रिक्साको व्याज बुझाउँन पुनःऋण नै लिनुपर्ने बाध्यता छ,' उनले भने,' बजार खुलेको छैन, सडकमा सवारीसाधन चल्दैन दिनभर सडकमा खाली रिक्सा दौडाएर साँझ खाली हात घर फर्किनुपर्ने दैनिकी छ।'

'साँझ खाली हात घर फर्केपछि चुल्हो कसरी बल्छ चिन्ताले सताउँछ,' उनले भने । साहुबाटसापट लिएर अहिलेसम्म हातमुख जोडेको दुखेको सुनाउँदै उनले भने,'सापटी लिएर कति दिनसम्म गुजारा गर्ने?' 'सय दिन नाघिसक्यो सरकार आन्दोलन सम्वोधन गर्ने हकमा टसमस भएको देखिँदैन,' महतो भन्छन्,'गरिब मर्न लाग्यो सरकार, सामाधान खोज्न गम्भीर बन्नुस्।'

सय दिन नाघिसकेको मधेस आन्दोलनले मधेसका मजदुर वर्ग मात्र नभई व्यापारीसमेत आत्तिएका छन्। जिल्ला उद्योग बाणिज्य संघ सिरहाका वरिष्ठ उपाध्यक्ष अशोककुमार साह भन्छन्,'छोटो समयका लागि बजार खुलेपनि उपभोक्तामा क्रयशक्ति ह्रास आएकाले व्यापार छैन्।'

'अति आवश्यकीय वस्तु खरिद गर्ने बाहेक उपभोक्ता अरु खरिददारी गरिरहेका छैनन्,' उनले भने। दैनिक उपभोग्य वस्तु, दाल, चामल, पिठो, तेलबाहेकका वस्तु खरिदमा ब्यापक गिरावट आएको उनले बताए। झन्डै चार महिना भैसक्यो मधेस बन्द भएको, बचत गरेर राखेको पैसा पनि धेरैसँग सकियो', उनले भने,'व्यपार कसरी चल्छ।'

बन्दमा मजदुरदेखि साहु सबैलाई आर्थिक समस्या परेको उनले सुनाए । मजदुर मात्र नभई मधेसका बजारमा व्यपार गर्नेहरुको पनि बन्दले बेहाल छ । लहानका व्यपारी सन्तोष साह बन्द भोगाई सुनाउँछन्,'तीन महिना नाघ्यो घरपट्टीलाई भाडा तिर्न सकेको छैन।' व्यपारका लागि बैंकबाट लिएको ऋणको व्याज तिर्न धौ–धौ परेको उनले दुखेको पोखे। 'बन्दको समाधान छिटो भइदिए राहत पाइन्थ्यो,' उनले भने,'अवस्था यस्तै रहने हो भने दैनिकी चलाउन पनि ऋणकै भर पर्नु पर्ने अवस्था आउँछ।'

Post a Comment

 
Top