१७ मंसिर, काठमाडौं । भारतको माथिल्लो सदन राज्यसभामा नेपाल भारत सम्बन्धबारे बहस सुरु हुनासाथ स्थगित भएको छ । अब अर्को दिन लामो (कम्तिमा साढे ३ घन्टा) छलफल हुनेछ ।
बहसको प्रारम्भमा विदेशमन्त्री सुष्मा स्वराजले नेपालको परिस्थितिबारे लिखित मन्तव्य पढ्दै गर्दा सभाको सभापतित्व गरिरहेका उपसभापतिले उनलाई वीचैमा रोके । लिखित वक्तव्य आइसकेकाले पढिरहनु नपर्ने उपसभापतिले बताएपछि मन्त्री स्वराजले प्रतिवाद गर्न खोजिन् । तर, उनलाई थप बोल्न दिइएन ।
‘ यसोभए यो पढे सरह भयो’ भन्दै मन्त्री स्वराज बसिन् । लगतै जीडीयूका सांसद पवनकुमार बर्माले नेपालमा तेल र खाना पकाउने ग्यासको अभाव रहेको र नेपालको अवस्था संकटपूर्ण रहेको बताउँदै संविधान जारी हुँदा विदेशमन्त्रीले दिएको अभिव्यक्तिबारे प्रश्न उठाए ।
बर्माले बोल्दै गर्दा उपसभापतिले बेल बजाएपछि फेरि लफडा सुरु भयो । प्रत्येक सांसदलाई नेपालबारे ३ मिनेट बोल्न दिइएको थियो ।
बर्मालाई रोकिएपछि मन्त्री सुष्माले वीचैमा उठेर भनिन्- ‘म सांसदहरुको भावनाको कदर गर्छु, यो तीन/तीन मिनेटमा बहस गरेर सकिने विषय होइन । छोटो बाटोबाट छलफल गर्नेभए आजै रातिसम्म बसेर गरौं, म भोलि जवाफ दिन्छु, या अर्को हप्ता दिन्छु, कसरी छलफल गर्ने हो, गरौं ।’
बैठकमा अधिकांश सांसदहरुले नेपालबारे छलफल गम्भीर भएको भन्दै लामो छलफल आवश्यक भएको बताए । लगतै सभाध्यक्षले अर्को बैठकको समय तय गर्ने बताए ।

Post a Comment

 
Top