पोखरा, २९ मङ्सिर । ( फाइल तस्विर )  सात तालको बगैँचा शहर लेखनाथ नगरपालिकाको पचभैयामा अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना निर्माणको काम थालिएको छ । बृहत् पोखराको अवधारणा अनुसार यहाँका ११, १२, र १४ नम्बर वडामा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर चिडियाखाना निर्माणको कार्य अघि बढाइएको हो ।
युनाइटेड क्लब पोखराको विशेष पहल एवम् स्थानीयवासीको सकृयतामा यहाँको एक सय ३४ हेक्टर क्षेत्रफलमा चिडियाखाना निर्माण गर्न लागिएको क्लबका अध्यक्ष एवम पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेलले बताउनुभयो ।
चिडियाखानाको गत साउन १५ गते तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीले शिलान्यास गर्नुभएको थियो ।
पर्यटकीय शहर पोखरामा नयाँ पर्यटकीय गन्तव्यको रुपमा चिडियाखाना स्थापनाको सोच भने २०६७ सालदेखि बढेको हो । क्लबले विगत पाँच वर्षदेखि पोखरा महोत्सव गर्दै आएकामा उक्त महोत्सवबाट हुने आम्दानीको २० प्रतिशत रकम चिडियाखाना निर्माणकै लागि छुट्याइएको छ । यस वर्ष पनि आगामी पुस ३० गतेदेखि पोखरा महोत्सव गर्ने तयारी क्लबले गरेको छ ।
“महोत्सवबाट अहिलेसम्म चिडियाखाना निर्माणका लागि १५ लाख रुपैयाँ समेत जम्मा भइसकेको छ,” अध्यक्ष बख्रेलले भन्नुभयो – “क्लबको पहल र सामुदायिक वन उपभोक्ता समिति, वन कार्यालय, स्थानीय प्रशासन, स्थानीय निकाय, राजनीतिक दलहरु विभिन्न सङ्घ संस्थाको सहयोगमा चिडियाखाना निर्माण कार्यलाई अघि बढाइएको हो ।”
उहाँका अनुसार चिडियाखाना अवलोकन गर्नेका लागि जालीको डोम निर्माण गरी जनावर र पक्षीलाई खुल्ला छाडिने छ ।  चिडियाखानामा वन्यजन्तु प्रदर्शन, संरक्षण शिक्षालाइ समावेश गरिनुका साथै भविष्यमा विश्वभरको हावापानीमा पाइने पक्षी तथा जनावरको कक्ष बनाउने लक्ष्य राखिएको छ ।
सामुदायिक वनमा भएका जनावरको अवलोकन गर्न मिल्ने वातावरण बनाएर स्वदेशी हावापानी अनुसारको जीवजन्तु प्रर्दशनी कक्षसमेत निर्माण गरिने क्लबले जनाएको छ । वन्यजन्तुको लालनपालन र तिनीहरुको स्वास्थ्यलाई ख्याल राख्न वन्यजन्तु संरक्षण केन्द्र स्थापना गर्ने क्लबको लक्ष्य छ ।
नेपालकै पहिलो खोरमुक्त आधुनिक चिडियाखानामा बाल उद्यान, बल्छी हान्ने पोखरी, डुङ्गा शयरका लागि ताल, जङ्गल सफरीलगायत अतिरिक्त क्रियाकलापलाई पनि समेटिने चिडियाखाना निर्माण अभियानका अभियन्ता एवम् क्लबका कोषाध्यक्ष दामोदरभक्त थापाले बताउनुभयो ।
हिमाली दृश्यावलोकनसहित तालको अवलोकनमा रमाउन चाहने पर्यटकहरूलाई यहाँको चिडियाखानामा वन्यजन्तु एवम् चराचुरुङ्गी हेर्ने अवसर प्राप्त हुने उहाँले बताउनुभयो । तारजाली लगाई चिडियाखाना निर्माण स्थललाई जङ्गल सफारीको रुपमा प्रयोगमा ल्याउने लक्ष्य राखिएको भएपनि नाकाबन्दीका कारण तारजाली लगाउने काम सुरु गर्न नसकिएको क्लबले जनाएको छ ।
लक्ष्यित क्षेत्र आसपासमा बसोवास गर्ने एक हजार घरधुरीको समुदाय पनि चिडियाखाना निर्माण अभियानलाई सफल बनाउन लागिपरेका छन् । स्थानीयवासी एवम् पचभैया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मनबहादुर घिमिरे यस क्षेत्रमा तीन सय ६१ प्रजातिका वनस्पति, एक सय ७५ प्रजातिका जडीबुटी पाइनुका साथै बाघ, मृग, अजिंगर जस्ता जनावर पाइने बताउनुहुन्छ ।
एकसय ३४ जातका वन्यजन्तु तथा चराचुरुङ्गी पाइने यो क्षेत्रलाई विश्वकै नमूना प्राकृतिक चिडियाखानका रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ । चिडियाखानाका रुपमा विकास गर्दा यहाँको प्रसिद्ध रुपाताल पनि संरक्षण हुने विश्वास लिइएको छ ।

Post a Comment

 
Top