भारतले घोषित वा अघोषित जे—जस्तो रूपमा भए पनि तेस्रो पटक नेपालमा नाकाबन्दी गरेको छ । पहिलोपटक नाकाबन्दी गरेको ४५ वर्ष बितिसक्दासमेत देशले विश्वशक्तिका रूपमा रहेको उत्तरी छिमेकीसँग पारवहन विस्तार वा व्यापार विस्तार गर्न नसक्नु दुर्भाग्यपूर्ण अवस्था हो ।

०४४ सालमा नोकरीको सिलसिलामा म संखुवासभाको चैनपुरमा पुगेको थिएँ । त्यस बखत धनकुटाको सिदुवासम्म बस जान्थ्यो र वसन्तपुरसम्म कच्ची बाटो खनिँदै थियो । त्यसबेला केही उच्चपदस्थ अधिकारीको छलफलबाट मैले थाहा पाएअनुसार तत्कालीन राजा बीरेन्द्रले वसन्तपुर–गुफापोखरी–तोप्के गोला हुँदै तिब्बतको ‘रिउ’सम्म विस्तार गर्न ०४२ सालमै सेनाद्वारा सर्भे गराएको थिए । सर्भेअनुसार रिउदेखि धरानसम्मको दूरी दुई सय १६ किलोमिटर रहेको समेत बुझिएको थियो । ०४४ सालमा पूर्वाञ्चल भ्रमणका क्रममा राजाले ल्याएको सो प्रस्तावलाई केही प्राविधिकले ‘सरकार, त्यस्तो मानव वस्ती नभएको ठाउँबाट सडक लानुहुँदैन’ भन्ने राय दिएका थिए । प्राविधिकले दिएको रायमा हस्तक्षेप नगर्ने बीरेन्द्रको कमजोरीका कारण सो बाटो बनेन । आज आएर मात्रै असली कुरा बुझें कि ती प्राविधिकले कसका इशारामा त्यस्तो राय दिएका रहेछन् र राजालाई समेत मान्न बाध्य पारेका रहेछन् भन्ने । त्यसबखत जे जस्तो गल्ती भयो, त्यसकै परिणाम त ०४५ साल र ०७२ सालको नाकाबन्दी हामीले भोग्नुपर्यो ।

आज फेरि राष्ट्रियतामा केन्द्रित भएको जनभावनालाई चतुर्याईंपूर्वक अर्को गल्ती गर्न बाध्य पारिँदै छ । त्यो के भने त्यही चीन नेपाल सीमानाको रिउ बजार (जहाँ २०४४ सालमै सडक आएको थियो) त्यहाँबाट माथि उल्लेखित पापुङ सभापोखरी हुदै गुफापोखरी आउने करिब एक सय पाँच किलोमिटरमात्रको बाटो छोडेर ओलाङचुङगोला, लेलेपतर्फको ताप्लेजुङ जिल्लाको बाटो र किमाथाङ्का हटियागोलातर्फको संखुवासभा जिल्लाको बाटोमा ध्यान केन्द्रित गर्न खोजिदैछ । ओलाङचुङगोला र किमाथाङ्कातर्फका बाटाहरू ती जिल्लाको स्थानिय विकासका लागि उपयोगी नै भएपनि समग्र देशको लागि भने रिउबजारबाट आउने बाटो नै उपयुक्त हुन्छ । जसका निम्न कारण छन्,
– डाँडाको बाटो भएकाले छोटो हुने र पुल कल्भर्टसमेत हाल्न नपर्ने ।
– बाढीपहिरोको जोखिम नहुने ।
– हाल चीनतर्फ पेट्रोलियम पाइपलाइन आइपुगेको ठाउँ सिगात्सेबाट पाइपलाइन नेपालको तराई (धरान)सम्म आउने एउटै मात्र छोटो र कम जोखिमयुक्त सुरक्षित बाटो हुने ।
– पूर्वाञ्चलको प्रसिद्घ धार्मिकस्थल सभापोखरी र मानाभरा देवीसम्म मोटर बाटो पुग्ने ।
– तिपतलाबाट ओलाङ्चुङ्गोला जोडिने, पापुङ साँवा हुदै ताप्लेजुङ सदरमुकाम जोडिने साथै ताप्लेजुङतर्फ थुकिम्बा, थिङलाबु जोडिने छन् । त्यस्तै संखुवासभातर्फ मादी क्षेत्र, चैनपुर, वाँनालगायत उत्तरी गाउँहरू समेत सोही बाटोको सञ्जालमा आउने छन् ।
– दुई सय १६ किलोमिटर बाटोमध्ये धरानबाट वसन्तपुरसम्म पक्की सडक ८५ किलोमिटर र वसन्तपुरबाट गुफापोखरीसम्म कच्ची सडक २६ किलोमिटर सडक चालू अवस्थामा रहेको छ ।
– गुफापोखरी मिल्केडाँडा क्षेत्र नेपालकै सबैभन्दा बढी जातको र सबैभन्दा बढी संख्यामा गुराँस पाउने क्षेत्र भएको हुँदा सो ठाउँको पर्यटकिय विकास हुने ।
– हिमपात हुँदा केही दिन अवरोध हुनेबाहेक वर्षैभरि सञ्चालन हुने हुँदा सो सडकबाट चीनतर्फको व्यापारमा अस्थिरता नआउने ।
– चीनसँग पनि पारवाहन सन्धी गरी ताजिकिस्तानसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न सकिने ।
तसर्थ उल्लेखित बाटो करिब ३० वर्षदेखि ओझेलमा पारिएको हुँदा यसको अबिलम्ब विस्तृत अध्ययन गरी सडक निर्माणतर्फ अघि बढ्नु आवश्यक छ । त्यसो भयो भने हामीले नाकाबन्दीको मार फेरि खप्नुपर्ने सम्भावनाको अन्त्य गर्न सकिन्छ ।

Post a Comment

 
Top