मंसिर २७, २०७२- १२ दिनदेखि जारी एमाओवादी केन्द्रीय समिति बैठकमा गृहमन्त्री शक्ति बस्नेतका कारण बहस मोडिएको छ । अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि बोल्ने क्रममा केन्द्रीय सदस्यहरुले गृहमन्त्री बस्नेतले परिवारका सदस्य, नातागोतालाई भूकम्पपीडितका नाममा चीन भ्रमणमा पठाएको विषयलाई बैठकभित्र छुट्टै कार्यसूचीका रुपमा समावेश गरेर छलफल अघि बढाउनुपर्ने माग गरेका हुन् । प्रतिवेदनमाथि सदस्यहरुले बोल्ने क्रम सकिन लाग्दा अकस्मात् गृहमन्त्रीको विषयले प्रवेश पाएपछि बैठक गर्मिएको हो ।

पेरिसडाँडास्थित एमाओवादी मूख्यालयमा अघिल्लो मंगलबारदेखि जारी बैठकमा आइतबार बोल्दै पोलिट्ब्युरो सदस्य शशि श्रेष्ठ, केन्द्रीय सदस्य हेमराज भण्डारी, श्रीप्रसाद जवेगु, घनश्याम यादव र गंगा कार्कीले बस्नेतका गतिविधिहरु स्वेच्छाचारी र पार्टी आचारसंहिताविपरीत भएको भन्दै राजीनामासमेत माग गरेका थिए । बस्नेतले राजीनामा नदिए उनलाई पार्टीले फिर्ता बोलाउन अध्यक्ष दाहालसामू उनीहरुको माग थियो ।

दाहाल प्रतिवेदनमाथि आफ्नो बोल्ने पालो पहिल्यै सकिए पनि भण्डारी र जवेगुले बैठककै बीचमा फेरि बोल्दै गृहमन्त्रीको राजीनामा माग गरेका थिए । ‘भण्डारीजीले त लिखित टिप्पणी नै गरिसक्नुभएको थियो, मैले पनि आज फेरि आफ्नो भनाई राख्दै गृहमन्त्रीलाई फिर्ता बोलाउनुपर्ने माग गरेको छु,’ जवेगुले भने ।

अधिकांश वक्ताहरुले गृहमन्त्रीलगायत केही मन्त्रीहरुको कार्यशैलीमाथि प्रश्न उठाएपछि अध्यक्ष दाहालले सोमबार छलफल गराउने वचन दिँदै बैठक स्थगित गरेका थिए । ‘ठिक छ, साथीहरुबाट यो विषय प्राथमिकताका साथ उठ्यो । अब यो विषयलाई बैठकको एजेन्डा बनाइयो,’ अध्यक्ष दाहाललाई उद्धृत गर्दै एमाओवादी बैठक स्रोतले भन्यो ।

स्थायी समिति सदस्य गोपाल किरातीले मन्त्रीहरुको कार्यशैलीबारे स्थायी समितिमात्रै नभई केन्द्रीय समितिमा समेत छलफल गर्न पाउनुपर्ने माग गरेका थिए । अर्का सदस्य राजकाजी गुरुङले थपे, ‘पार्टीकै साथीहरुबाट अध्यक्षसमेतलाई सिध्याउनेगरी गतिविधि भइरहेका छन्, पार्टी कब्जा गर्ने दाउ त होइन ?’
स्थायी समिति सदस्य किरातीले गृहमन्त्रीको कार्यशैलीबारे छलफल नगराइए केन्द्रीय समिति बैठकमै मतदान माग गर्ने तयारी भइरहेको खुलाए । शनिबार बिहान बसेको स्थायी समिति बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने आफ्नो दलका मन्त्रीहरु स्वेच्छाचारी भएको भन्दै आफूले सरकार सञ्चालन संयन्त्रको संयोजक पद त्याग्ने घोषणा गरेका थिए । दाहालले तत्काल त्यसो नगर्न भनेपछि श्रेष्ठ रोकिएका थिए । सोमबार बस्ने स्थायी समिति र केन्द्रीय समितिमा यसबारे विस्तृत छलफल हुने एमाओवादी सचिवालयले जानकारी दिएको छ ।

गृहमन्त्री बस्नेतले भने चीन भ्रमणमा जाने आफन्तहरु भूकम्पपीडित नै भएको दाबी गर्दै आएका छन् । ‘यद्यपि उनीहरुलाई चीन पठाउने कुरा मेरो जानकारीबाहिर थियो, आइन्दा यस्तो नहोस् भन्नेमा म सचेत छु,’ उनले पार्टी स्थायी समितिसमक्ष प्रष्टीकरण दिएका छन् ।

सामान्य प्रशासन मन्त्री रेखा शर्माले भने आफ्नै मन्त्रीहरुको बेइज्जती हुनेगरी बोल्दा त्यसको असर पार्टीलाई पर्ने भन्दै स्वस्थ आलोचनात्मक बहसको माग गरिन् । ‘पार्टीले योग्यता क्षमताको मूल्यांकन गरी पठाइएका साथीहरुमाथि निश्चय नै प्रश्न र सवाल गर्न पाइन्छ, तर यो बहसको कुनै तरिका भएन,’ शर्माले भनिन्, ‘यो आलोचना होइन, भर्त्सना हो । यसरी पार्टीमा स्वस्थ बहस हुँदैन ।’

दाहाल प्रतिवेदनमाथि बोल्ने क्रम सकिन लाग्दा अरु केन्द्रीय सदस्यले समेत मन्त्रीहरुको विषयमा बोल्ने तयारी गरेका छन् । गृहमन्त्री बस्नेतले भने उठेका टिप्पणीहरुमाथि आफ्नो मत राखेका छैनन् । मन्त्रीहरुको शैलीका विषयमा उठेको बहसले अध्यक्षको प्रतिवेदनमाथि जारी बहसलाई समेत छायामा पारेको भन्दै केही केन्द्रीय सदस्यले आलोचनासमेत गरेको बैठकले स्रोतले कान्तिपुरलाई बतायो ।



Post a Comment

 
Top