मंसिर २६, २०७२- दृढ इच्छा शक्ति र सकारात्मक सोचले मानिसलाई सफलताको चुचुरोमा पुग्न समय लाग्दैन । जापानका एकजना उद्यमी, जो कलिलै उमेरमा अर्बपतिको श्रेणीमा आफूलाई पुर्‍याउन सफल भए । ती उद्यमी हुन् ४० वर्षीय युसाकु मैजावा । सन् १९७५ नोभेम्बर २२ मा जापानको चिवा कामागायामा उनको जन्म भएको हो । पारिवारिक पृष्ठभूमि व्यापारिक नभए पनि उनी व्यापारमा अब्बल दर्जामै दरिएका छन् ।

मैजावाले मध्य (१९९० ताका म्युजिक सीडी बेचेर आफ्नो पहिलो व्यापार थालेका हुन् । यो व्यापारमा उनले आफूलाई सक्रिय राख्दै फेसन व्यापार पनि सुरु गरे, त्यो पनि अनलाइन सेवामार्फत । उनले आफ्नो भान्साको टेबलबाट मेल अर्डरबाट टिसर्टहरू बेच्न थाले । यो व्यापारमा उनी जम्दै गए । पहिले ‘स्टार्ट टुडे’ कम्पनी र पछि ई–कमर्स साइट ‘जोजोटाउन’ मा लगानी गरेर उनी ३५ वर्षमै अर्बपति बन्न भ्याए । उनी आफ्नो कम्पनीलाई नाफाउन्मुख मात्रै बनाएनन्, जापानमा गएको शक्तिशाली भूकम्प र सुनामी पीडितहरूका लागि उद्धार कार्यक्रमसमेत सञ्चालन गर्ने पहिलो कम्पनी बनाउन सफल भए । ‘जोजोटाउन’ को तत्कालका १५ सय सप्लायर्समार्फत ‘स्टार्ट टुडे’ ले तयार पारेको विशेष खालका टिसर्टहरू २५ अमेरिकी डलरमा बेच्दै त्यसबाट उठेको ३ दशमलव ७ अर्ब अमेरिकी डलर जापानी रेडक्रसलाई दान गरेर एकाएक चर्चित मात्र्र भएनन्, जापानी युवाहरू माझ आफूलाई स्थापित नै बनाए ।

 आफैंले सञ्चालनमा ल्याएको ई–सपिङबाट उनी आफू अर्बपति बन्छु भन्ने सोचेका थिएनन् तर कर्म गर्दै जाँदा उनी त्यो स्थानमा पुग्न भ्याए । सर्वप्रथम सन् २००४ मा उनले अनलाइन फेसन स्टोर ‘जोजोटाउन’ सञ्चालनमा ल्याए । मैजावाले सञ्चालन गरेको वेबसाइटले ब्रान्डेड सामानहरू मलहरूमा किनमेल गरेझैं अनुभूति हुने गरी सेवा दिन थाल्यो । उपभोक्ताहरूलाई यी युवा उद्यमीको साइटमा हरेक दिन झुम्मिन अवसर प्रदान गर्‍यो । जहाँसम्म ‘जोजोटाउन’ को कुरो छ, त्यो एउटा त्यस्तो वेबसाइट हो, जुन अद्वितीय मात्रै थिएन, ३५ वर्ष मुनिका हजारौं जापानी युवालाई रातारात आफूतर्फ ध्यानाकर्षण गराउन सफल भएको कम्पनी हो । हजारौं युवाको क्रेज मैजावाको व्यापारप्रति बढ्दै थियो, आम्दानीमा पनि वृद्धि हुँदै गयो ।

अहोरात्र श्रम र मिहिनेत गर्दै कम्पनीलाई लोकप्रिय बनाए । आज उनको वेबसाइट हाउसेस लगभग १६ सय विभिन्न ब्रान्डहरूको व्यापार गर्छ । खासगरी अधिकांश जापानीको माझ यो अत्यन्तै लोकप्रिय छ । ४० लाख त यसका सदस्यहरू नै बनिसकेका छन् । केही सञ्चारमाध्यमहरूका अनुसार उनको यो सफलताका पछाडि उनी जापानी पंक ब्यान्डका सदस्य भएर पनि हो । उनले आफ्नो ब्यान्डको सीडी आफैं बेच्दा सुखानूभूति भएको अनुभव हुने गरेको बताउने गर्छन् । त्यसताका उनले आफैंले विकसित गरेको मेल अर्डर व्यापारलाई ‘स्टार्ट टुडे’ नाम दिए । केही वर्ष यसै कम्पनीको नाममा व्यापार गरिरहे । पछि जोजोटाउनको सुरुआत गरे । कम्पनीमा उनको हालको पुँजी ५९ प्रतिशत रहेको छ ।

युसाकु मैजावाले आफ्नो कम्पनीलाई विश्वका विभिन्न मुलुकमा पुर्‍याएका छन्, शाखा खोलेर । तीमध्ये एउटा चीनमा समेत छ । सफ्ट बैंकको ‘ताओबाओ डट कम’ सँग मिलेर चीनमा उनले शाखाको विस्तार गरे । त्यो शाखा चिनियाँ युवाहरूमाझ पनि अत्यधिक लोकप्रिय बनेको छ । उनको अनलाइन व्यापारमा प्राप्त सफलताले धेरैलाई मन्त्रमुग्ध पारेको छ ।

त्यसैको परिणाम हो, हालसम्म हजारौं जापानी र चिनियाँ उद्यमीहरूले उनलाई आफ्नो आदर्शको स्रोत मान्दै फोन गर्छन् । उनको आवाजहरू सुन्न सधैं ललायित हुने गरेका छन् ।

 फोब्र्सले पहिलोपटक सन् २०११ मा जापानको सर्वाधिक धनाढ्यहरूको सूचीमा राखेको थियो । त्यसको एक वर्षपछि उनी २१ औं स्थानमा पर्न सफल भए । विश्वभरका धनाढ्यहरूको सूचीमा त्यो वर्ष उनी १०७५ औं स्थानमा पुग्न सफल भए । सन् २०१५ को फोब्र्सको सूचीमा ५० जना सर्वाधिक धनाढ्य जापानीमध्ये उनी १ दशमलव ८४ अर्ब अमेरिकी डलरसहित २३ औं र विश्वकै अर्बपतिको सूचीमा १४१५ औं स्थानमा छन् ।

अर्थात उनी त्यो सूचीमा आफूलाई लगातार राख्न सकेका छन् । त्यो पनि आफैंले सञ्चालन गरेको अनलाइन खुद्रा व्यापारबाट । मैजावाको कम्पनी हाल जापानकै सबैभन्दा ठूलो अनलाइन फेसन मल जोजोटाउन बनेको छ, जसका संस्थापक उनी आफैं हुन् । उनको व्यापार अझै फस्टाउँदै गएको छ । उनको साइटको ६५९ स्टोरहरूमा ३ दशमलव ५ मिलियनले किनमेल गरिसकेका छन् ।

उनको मोबाइल एप्प ‘वेयर’ लाई फेसनका लागि फेसबुकसमेत भन्ने गरिन्छ, जहाँ प्रयोगकर्ताले आफूलाई मन पर्ने सामग्रीको बार कोड्स स्क्यान गरेर राख्न सक्छन् । सन् २००० मा ‘स्टार्ट टुडे’ बाट थालेको व्यापारले १५ वर्षभित्रै युसाकु मैजावालाई विश्वको अर्बपतिमा सूचीबद्ध गरेको छ । उनले सञ्चालनमा ल्याएको वेबसाइटमार्फत उपभोक्ताहरूले तिनका स्टोरहरूबाट २ हजारभन्दा बढी ब्रान्डका सामान किनमेल गर्न सक्छन् ।

यति मात्रै होइन, कहिलेकाहीँ १ लाख ३० हजारभन्दा बढी आइटमहरू त्यसैमार्फत बिक्री हुने गरेको छ । उनी व्यापारमा सफल छन् तर उनको वैवाहिक जीवन भने सफल हुन सकेन । व्यापारमा सधैं व्यस्त रहने कारणले धेरै उद्यमीहरूको दाम्पत्य जीवन सफल छैन । मैजावाको जीवनमा पनि त्यस्तै भयो । उनी हाल श्रीमतीसँग पारपाचुके गरी बस्दै आएका छन् । उनका एक सन्तान छन् ।


Post a Comment

 
Top