२३ मंसिर, काठमाडौं । काठमाडौंको झोंसेस्थित इलेक्ट्रोनिक्स सामानको गोदाममा बुधबार आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ ।
दुर्गा ट्रेडर्सको गोदाममा आगलागी भएको हो । आगो लागेको बेला गोदाममै फँसेका सुरक्षा गार्डलाई सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको छ ।
वंशीकृष्ण श्रेष्ठको घरको एउटा फ्लाट भाडामा लिएर अनुज खतिवडाले इन्डक्सन चुल्हो लगायतका बिजुलीबाट चल्ने सामान भण्डारण गरेर राखेका थिए । दिउँसो २ बजेतिर लागेको आगोले पाँचकोठे फ्लाटमा राखिएका सामान सबै जलेर नष्ट भएका छन् ।

आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम भैरहेको प्रहरीले जनाएको छ ।
आगो निभाउने प्रयासमा माथिल्लो तलामा उक्लिएका सुरक्षा गार्ड कृष्णहरी दाहाललाई सेनाको टोलीले उद्धार गरेको थियो । उद्धारपछि अनलाइनखबरसँग कुरा गर्दै दाहालले आफूले पुनर्जीवन पाएको प्रतिक्रिया दिए ।
सुरक्षा गार्ड दाहालले घटना विवरण यसरी सुनाए
मैले यहाँ सुरक्षा गार्डको रुपमा काम गरेको १४-१५ बर्ष भयो । सधैंजस्तै आज पनि गेटपट्टी ड्युटीमा थिएँ । स्कूले केटाकेटीहरु ‘आगो लाग्यो, आगो लाग्यो’ भनेर चिच्याएको सुनें ।

सुर्यमोहन रेष्टुरेन्टका मान्छेहरु पनि आगो लाग्यो भन्दै आए । उनीहरुले दुई-चार बाल्टी पानी हालेर निभाउन खोजे । त्यतिबेला दुईवटा कार्टुनमा आगो सल्किएको थियो ।
फ्लाटमा साना-ठूला गरी पाँचवटा कोठा छन् । जताततै सामानै सामान थियो । अस्तीमात्रै भैरहवाबाट दुई ट्रक सामान ल्याएर राखिएको थियो ।
सामान जल्नबाट जोगाउन सकिन्छ कि भनेर म माथि उक्लिएँ । केहि कार्टुन सामान बाहिर निकालें । एकछिन पछि त धुँवाको मुस्लोले केहि पनि देखिनँ । सास फेर्न पनि गाह्रो भयो । म बाहिरै निस्कन नसक्ने भएँ ।

त्यतिबेला दमकल लिएर सेना र प्रहरीहरु पनि आइसक्नु भएको रहेछ । उहाँहरुले बाहिरतिर भर्‍याङ राखिदिनु भयो र मलाई उद्धार गर्नुभयो । दमकलले आगो निभायो ।
मैले पुनर्जीवन पाएजस्तो भएको छ । म त आगोमा जल्नबाट जोगिएँ तर, त्यतिका धेरै सामान सबै नष्ट भयो । आगो लाग्नेबेला वत्ति पनि थिएन । दिउँसो ३ बजे मात्रै वत्ति आउने पालो हो । कसरी आगो लाग्यो थाहै भएन ।

Post a Comment

 
Top