मंसिर २५, २०७२- महिना दिनअघि जब ब्रिटिस गायिका एडेलले ‘हेलो’ भनिन्, म्युजिकको दुनियाँ यसरी हर्षित भयो मानौं, सबै उनकै प्रतीक्षामा थिए । सायद थिए, पनि । नत्र उनको तेस्रो एल्बम ‘२५’ मा रहेको यस सिंगलले यति धेरै विश्व रेकर्ड ब्रेक गर्ने थिएन । रिलिज हुनासाथ यसले २८ देशको म्युजिक चार्टमा प्रथम स्थानमा हक जमायो । साताभित्र मिलियनभन्दा बढी डिजिटल बिक्री हुने पहिलो सिंगलमा नाम लेखायो । भिभो रेकर्डस्मा चौबिस घण्टाभित्र सबैभन्दा बढी हेरिएको भिडियो मात्र बनेन, सबैभन्दा छोटो समयमा मिलियनभन्दा बढी हेरिएको भिडियो पनि बन्यो । झन्डै पाँच वर्षको अन्तरालपछि ‘हेलो’ भन्दै यस्तो धमाकेदार ‘कमब्याक’ गरेकी २७ वर्षीया एडेलको एल्बम ‘२५’ को पर्खाइ फ्यानका लागि मात्र नभई म्युजिक समालोचकदेखि म्युजिक उद्यमीका लागि त्यतिकै आतुरी र उत्साहजनक रह्यो । एल्बमले निराश बनाएन । रिलिज भएको दिनदेखि नै रेकर्डमा रेकर्ड ब्रेक गरिराखेको छ । विलबोर्डसँगै विश्वको ११९ मध्ये ११० म्युजिक चार्टमा प्रथम स्थानमा शान जमाएको छ । ब्वाई ब्यान्ड ‘एनसिन्क’ देखि ब्रिट्नी स्पेयर्स, टेलर स्वीफ्ट, माइली साइरसजस्ता अहिलेका जल्दाबल्दा अमेरिकी गायिकाको रेकर्ड सजिलै ब्रेक गरिरहेको छ । यसरी विश्वभर विभिन्न रेकर्ड ब्रेक गर्नेक्रममा तीन मिलियन कपी बिक्री भए । र, ‘२५’ म्युजिक इतिहासमा साता दिनभित्र सबैभन्दा बढी बिक्री हुने एल्बम पनि बनेको छ । एल्बमले यस्ता नयाँ नयाँ रेकर्ड राख्दै गर्दा एडेलको ‘स्टार पावर’ मा शंका गर्ने ठाउँ त पक्कै रहेन । तर, धेरै गीत संगीत समालोचकलाई आश्चर्य चकित भने पक्कै बनाएको छ । विशेष गरेर एल्बमको बिक्रीवितरणले संसारमा घोप्टे मुन्टो लगाएको समय एडेलको यो एल्बम किन्नचाहिँ मानिस म्युजिक पसलमा लाइन नै किन लागे ? इन्टरनेटबाटै म्युजिक बिक्रीवितरण गरिने जमानामा गायिकाले एल्बमलाई स्पोटिफाई, यु–ट्युब, एप्पल म्युजिकजस्ता अनलाइन स्ट्रिमिङ अर्थात् डाउनलोडिङमा नराखिदिएकै कारण हो त ? या केही समयपछि अनलाइन किन्नका लागि उपलब्ध गराउने गायिकाले आश्वासन दिएकी भए पनि पर्खिन नसक्ने अहिलेको ‘उपभोक्ता मेन्टालिटी’ ले गर्दा हो ? ठ्याक्कै कारण यही हो भनेर न कसैले भन्न सकेका छन् न एकअर्काको विचारमा ठ्याक्कै सहमत हुन नै सकेका छन् । तर एडेलको मन्त्र मुग्ध बनाउने जादुमयी स्वरमा उनीहरूबीच विमति हुने कुरा रहेन । न त शब्द—शब्दमा श्रोतालाई आफ्नै कथा—व्यथा, चाहना—भावना लेखिदिएकी हुन् कि जस्तो अनुभव गराउन सक्ने गायिकाको शक्तिमा न हरेक उमेरका मनलाई तरंगित बनाउने उनको संगीत रचनामा । तर, यो पनि त होइन कि उनको जस्तो मीठो स्वरका धनी गायिका छँदै छैनन् । या, उनले जस्तै ‘ब्रेक अप’ देखि ‘ग्रोइङ अप’, पश्चाताप, अधुरा—अपुरा प्रेमका गीत अरूले आँसु बराबरी झार्दै गाएका छैनन् । तर पनि, लाइमलाइट नरहने हो भने महिना दिनमै लोकप्रियता घट्ने मात्र नभई अस्तित्व नै हराउने संगीत क्षेत्रमा यति लामो अन्तरालपछि देखापर्दा उनीप्रति देखिएको क्रेजले सोच्न बाध्य अवश्य बनाउँछ । अझ, केही समालोचकले उनको ‘२१’ जस्तो ‘२५’ उत्कृष्ट नभएको बताइराखेका समय उनको पछिल्लो एल्बमले रेकर्डमा रेकर्ड ब्रेक गर्दा थप चासो बढ्ने नै भयो । त्यस्तो के छ त एडेलमा जुन उनको समकक्षीहरूले बुझ्न सकिराखेका छैनन् ? त्यो हो ‘इमेज’ । सबै बिक्री हुने पुँजीवाद संरचना समाजमा ‘इमेज’ ले जति असर गर्छ, सायदै अरूले गर्ला । अहिलेको मनोरञ्जन क्षेत्रमा सबैले आफ्नो भिन्न ‘इमेज’ बनाइराखेको समयमा त्यस्तो के फरक छ त यी गायिकाको इमेजमा ? उनको ‘स्टारपावर’ पापाराजीमा नभई प्रतिभामा जग गाडेको देखिन्छ । उनको इमेज अरूको जस्तो विवादास्पद विचार या घटनाले रातारात बनेको भन्दा पनि उनको गायनशैलीमा टिकेको छ । उनको म्युजिकप्रति रहेको लगाव र लगनमा अडिएको छ । मार्केटको डिमान्डअनुसार नभई आफ्नै चाहनाअनुसार म्युजिकमा रमाउने उनको शारीरिक इमेजमा पनि त्यही लागू भएको देखिन्छ । विशेष गरेर गायिकाका लागि संगीत बजारमा टिक्न चाहिने भनिएको ‘दुब्लो–पातलो, बारुली कम्मर भएको’ शारीरिक इमेजलाई चुनौती दिँदै उनले ‘जिम गरे पनि मेरा लागि, मेरो स्वास्थ्यका लागि गर्छु । कसैका लागि साइज जिरो हुनलाई होइन,’ भनेरै जितेकी छन् । फेसन दुनियाँमा धेरै नाम चलेकाबाटै वजनसम्बन्धी सेलिब्रिटीमाथि गरिने ‘बुली’ बाट नबचेकी भए पनि उनीहरूलाई मुखभरिको जवाफ फर्काएर चुपचाप बनाएकी छन् । फेसनको सवालमा पनि उनको भिन्नै इमेज रहेको छ । समकक्षीले शरीरलाई बढी एक्सपोज गर्ने पपुलर ट्रेन्ड पछ्याउँदा उनी भने धेरैजसो काला रंगका शरीरलाई पूरा छोप्ने लामा ड्रेसमा सजिइन् । यसले गर्दा पनि उनको इमेज स्टाइलिस तर भीडको भन्दा भिन्न बन्यो । फेरि एकै प्रकारको इमेजमा अट्ने टाइपको नभएर पनि होला, ‘२५’ को प्रचारप्रसार क्रममा कालोमात्र नभई विभिन्न रंगका ड्रेस लगाउने गरेकी छन् । साथै, पहिलेको भन्दा अहिले उनको वजन पनि घटेको देखिन्छ । तर, उनको इमेजमा यसले सकारात्मक या नकारात्मक कुनै असर गर्लाजस्तो लाग्दैन ।

Post a Comment

 
Top