मंसिर १४, २०७२- पछिल्लो मधेस आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट करिब २ करोड रुपैयाँ बराबरको क्षति पुगेको पूर्व नेपाल यातायात व्यवसायी संघले दाबी गरेको छ । संघका अनुसार पूर्वाञ्चलका ४ सय यातायात व्यवसायी टाट पल्टिने अवस्थामा पुगेका छन् ।

 यातायात व्यवसायमा कार्यरत करिब १५ हजार श्रमिकमध्ये झन्डै ६ हजार बेरोजगार भएको उसले जनाएको छ । विराटनगर–जोगबनी र हाटखोला–रंगेली चल्ने बसका ३ सय यातायात मजदुर त सडकमै आएको संघको दाबी छ ।

दिउँसो र राति चल्ने हरेक खालका बस र ट्रक गरी झन्डै ३ सय ५० गाडीमा क्षति पुगेको संघका अध्यक्ष राजन कँडेलले बताए । ‘अधिकांश बसका सिसा फुटेका हुनाले कुट वा तारजालीले त्यो भागलाई ढाकेका छौं,’ उनले कान्तिपुरसँग भने । व्यवसायीका अनुसार डिलक्स वा एसी बसको अग्रभागमा नयाँ सिसा लगाउँदा ३८ हजारदेखि ४० हजार रुपैयाँसम्म पर्छ । झ्यालमा नयाँ सिसा जडान गर्दा १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म पर्छ ।

बन्दभरि ढुंगा प्रहारबाट जोगिनलाई यातायात व्यवसायीले अस्थायी समाधानका रूपमा सिसाका ठाउँमा तारजाली वा बाक्लो कुट लाउने गरेका छन् ।

बसको अग्रभागमा तार जाली लाउँदासमेत १५ हजार रुपैयाँ खर्च हुनुका साथै जडान गर्नलाई दुई दिन लाग्ने गरेको व्यवसायीहरूले बताए । ‘बन्दभरि ढुंगा नछिर्ने गरी तार जाली लगाएका छौं,’ कँडेलले भने, ‘सिसा लाउने पैसा र अवस्था, दुवै छैन ।’ प्रदर्शनकारीको आक्रमणमा अहिलेसम्म ४० यातायात मजदुर घाइते भएको उनले जानकारी दिए ।

‘आफैं वा यातायात व्यवसायीले उनीहरूको उपचार भएको छ, सरकारको कहीँ पनि उपस्थिति छैन,’ उनले निराश मुद्रामा भने, ‘यो आन्दोलन अझैं कति लम्बिने हो, थाहा छैन ।’ सरोकारवाला व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारीहरू एवं यातायात व्यवसायी महासंघमार्फत गाडी एवं जीउधनमा पुगेको क्षतिबारे सरकारलाई लिखित जानकारी गराएका छन् ।

आफूहरूको दायित्व सुरक्षा दिनेसम्म मात्र भएको र घाइते यातायात मजदुरको उपचार व्यवसायीहरूले नै गर्नुपर्ने जवाफ प्रशासनहरूबाट पाउने गरेको कँडेलले बताए ।

‘एउटै गाडीले पनि क्षतिपूर्ति पाउनु त परै जाओस्, सरकारबाट बुझ्ने काम पनि भएको छैन,’ उनले भने । पूर्वाञ्चलमा बस एवं ट्रकलगायत करिब ३ हजार ५ सय गाडी सञ्चालनमा रहेको संघले जनायो । यसमा झन्डै १ हजार २ सय दिवा, रात्रि र मिनी बसहरू छन् । अधिकांश यातायात व्यवसायीले घर, घडेरी र खेत धितो राखेर ऋणमा गाडी लिन्छन् ।

मोटोमोटी एउटा डिलक्स बसको ४६ लाख रुपैयाँ र एसी बसको ६१ लाख रुपैयाँसम्म पर्छ । यसमा ७० प्रतिशत बैंकको र ३० प्रतिशत लगानी व्यवसायीको हुन्छ । ऋण चुक्ता नगरुन्जेल गाडी बैंककै नाममा हुन्छ । व्यवसायीले एउटा बसका लागि मासिक २५ देखि ३५ हजार रुपैयाँसम्म बैंकलाई ब्याज तिर्नुपर्छ । ‘बैंकको ऋण बढदै गएको छ,’ उनले भने, ‘थुप्रै व्यवसायीको घरजग्गा बैंकद्वारा जफत हुने स्थिति छ ।’ पूर्वाञ्चलका ४ सय व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको संघले जनायो ।

‘सरकारले बैंकको तीन महिनाको ब्याज मात्र मिनाहा गराइदिए पनि राहत हुन्थ्यो,’ संघका अध्यक्ष कँडेलले भने ।




Post a Comment

 
Top