काठमाडौं मंसिर १२  –  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी १६ वर्षदेखि लगातार सांसद छन् । तर, उनको पार्टी सरकारमा कहिल्यै गएन, उनी मन्त्री हुने कुरै भएन । उखानतुक्का मिसाएर आफ्ना भाषण र कुराकानीलाई मिठास दिन केसी माहिर छन् । उनको माउ पार्टी मसालले यसपालि सरकारमा सहभागी हुने निर्णय गर्‍यो र केसी गरिबी निवारण मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री बने । उनका बानी र स्वभावबारे पत्नी पार्वतीलाई नयाँ पत्रिकाका खगेन्द्र पन्तले १०१ प्रश्न सोधेका छन् :

सुत्ने/उठ्ने
१४. कति बजे उठ्नुहुन्छ ?
चार बजे उठिसक्नुहुन्छ ।
१५. चिया/कफी के रुचाउनुहुन्छ ?
कालो चिया खानुहुन्छ, तर बिहान उठ्नेबित्तिकै पहिला नुनपानी खानुहुन्छ ।
१६. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?
गर्नुहुन्छ । घरवरिपरि नै हिँडडुल गर्नुहुन्छ । पहिला–पहिला ‘मर्निङवाक’मा निस्कनुहुन्थ्यो । मार्ने धम्की आउन थालेपछि बाहिर जान बन्द गर्नुभयो ।
१७. कस्तो धम्की नि ?
विदेशको नम्बरबाट ‘संघीयताको विरोध गर्छस्, ज्यानको माया छैन’ भनेर धेरै धम्की आयो । धम्कीले केही नभएपछि ‘कति पैसा चाहिन्छ’सम्म भने ।
१८. योगा पनि गर्नुहुन्छ ?
योगा त गर्नुहुन्न ।
१९. साँझमा पनि एक्सरसाइज गर्नुहुन्छ कि ?
फुर्सद भए पो गर्नु ? राति अबेर त घर पुग्नुहुन्छ ।
२०. राति कतिखेर सुत्नुहुन्छ ?
अबेरै सुत्नुहुन्छ । बिबिसी नसुनी कहिल्यै सुत्नुहुन्न ।
२१. सुत्नुअघि केही खाने बानी छ ?
केही खानुहुन्न ।
२२. घरमा बस्दा कस्ता लुगा लगाउन मन पराउनुहुन्छ ?
टी–सर्ट, ट्राउजर, ज्याकेट लगाउनुहुन्छ ।

पत्रपत्रिका/टेलिभिजन
२३. पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?
फुर्सद भएका वेला पत्रपत्रिका त हो पढ्ने ।
२४. टेलिभिजन कति हेर्नुहुन्छ ?
मन्त्री भएपछि त अलि कम हेर्नुभएको छ । पहिला त हेर्नुहुन्थ्यो, घरमा फुर्सद भएको वेला कि पत्रिका पढ्ने, कि टिभी नै हो हेर्ने।
२५. आफ्नोबारेमा आएका समाचार हेरेपछि कस्तो प्रतिक्रिया हुन्छ ?
खासै केही भन्नुहुन्न । नराम्रा समाचार रहेछन् भने ‘विरोधीले लेखिहाल्छन्’ भन्नुहुन्छ ।

खाना/खाजा
२६. बिहानको खाजामा के लिनुहुन्छ ?
बाहिर जानुपर्ने भए तातोपानीमा सातु राखेर खानुहुन्छ । घरमै बस्दा बिहान खाजा खानुहुन्न ।
२७. खानामा के मन पराउनुहुन्छ ?
दालभात तरकारी, कहिले ढिँडो खानुुहुन्छ ।
२८. रातिको खानामा के रुचाउनुहुन्छ ?
रोटी खान मन पराउनुहुन्छ । तर, दाँत छैन, चपाउन सक्नुहुन्न । त्यसैले ढिँडो खानुहुन्छ ।
२९. माछामासु खानुहुन्छ कि खानुहुन्न ?
पहिला त खानुहुन्थ्यो । अचेल खानुहुन्न । माछा धेरै मन पराउने हो । दराम खोलामा माछा त कति मार्ने कति ? दुवाली थुनेर र हातैले माछा मार्ने । डोको भरी–भरी माछा ल्याउनुहुन्थ्यो । डाक्टरले माछामासु नखानुस् भनेपछि केही वर्ष भयो, अचेल त खानुहुन्न ।
३०. खानामा कमेन्ट गर्ने बानी कत्तिको छ ?
खाना त जस्तो दिए पनि खानुहुन्छ । कुनै गुनासो गर्नुहुन्न ।
३१. कहिलेकाहीँ किचेनमा पसेर आफैँ पकाउन रुचाउनुहुन्छ कि हुन्न ?
एक गिलास पानी सारेर त खानुहुन्न, खाना के पकाउनुहुन्थ्यो ? किचनमै पस्नुहुन्न ।
३२. भनेपछि सबैथोक उहाँका अगाडि पुर्‍याइदिनुपर्छ ?
हो । चुठ्न मात्रै जानुहुन्छ किचनमा ।
३३. ‘पानी त आफैँ सारेर खानु नि’ भनेर तपार्इं कहिले कराउनुहुन्न ?
बानी नै त्यस्तै छ, के कराउनु ?
३४. अचेल मात्रै पकाउन छाड्नुभएको कि पहिल्यैदेखि पकाउनुहुन्थेन ?
गाउँमा हुँदा त पकाउनुहुन्थ्यो । म घरखेतको काममा लाग्थेँ । उहाँ पकाउनुहुन्थ्यो ।
३५. उहाँले पकाएको तपार्इंले के खानुभएको छ ?
भयो होला २४–२५ वर्ष । बहुदल आएदेखि उहाँले पकाउनुभएको छैन ।
३६. के–के पकाउन आउँछ उहाँलाई ?
दालभात, तरकारी, माछा पकाउनुहुन्थ्यो ।

रेस्टुरेन्ट
३७. तपार्इंलाई कहिलेकाहीँ रेस्टुरेन्टमा लगेर खाना/खाजा खुवाउनुहुन्छ कि हुन्न ?
पहिला–पहिला कहिलेकाहीँ जान्थ्यौँ । अचेल त जाँदैनौँ ।
३८. अचेल किन जानुहुन्न नि ?
मलाई सन्चो पनि छैन, उहाँले पनि माछामासु, रक्सी केही पनि खानुहुन्न । बाहिर गएर खाने धेरै रुचि पनि छैन ।
३९. बाहिर खाँदा उहाँले के खान मन पराउनुहुन्छ ?
जेरी–पुरी हो, उहाँले मन पराउने ।

फिल्म/गीत–संगीत
४०. सिनेमा हेर्न कत्तिको रुचि छ ?
बहिर गएर त हेर्नुहुन्न, टेलिभिजनमा आउँदा कहिलेकाहीँ हेर्नुहुन्छ ।
४१. कस्ता सिनेमा रुचाउनुहुन्छ ?
नेपाली सिनेमा हेर्नुहुन्छ ।
४२. दुईजना सँगै हलमा गएर सिनेमा हेर्नुभएको छ कि छैन ?
अचेल त हेरेका छैनौँ । उहिल्यै केटाकेटी नहुँदै एकपल्ट बुटवलमा र एकपल्ट काठमाडौंमा हेरेका थियौँ ।
४३. तपाईंले भनेर लैजानुभएको कि आफैँले ‘जाऔँ’ भनेर लग्नुभएको ?
‘सबै जान्छन्, हिँड हामी पनि हेरौँ न’ भन्नुभयो, अनि गयौँ ।
४४. कुन सिनेमा हेर्नुभएको थियो, थाहा छ ?
नाम त थाहा छैन ।
४५. टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ?
हेर्नुहुन्छ । हास्यव्यंग्य सिरियल हेर्नुहुन्छ ।
४६. गीत कत्तिको सुन्नुहुन्छ ?
सुन्नुहुन्छ । फुर्सद भएसम्म गीत आएका वेला सुन्नुहुन्छ ।
४७. कस्ता गीत मन पराउनुहुन्छ ?
दोहरी एकदमै मन पर्छ ।
४८. आफैँ गाउनु पनि हुन्छ कि ?
गाउने त होइन, सुन्नुहुन्छ ।
परिवारलाई समय
४९. परिवारलाई कत्तिको समय दिनुहुन्छ ?
उहाँको समय के हुनु ? परिवारलाई समय उही भात खाने वेला हो ।
५०. घरमा बसेका वेला राजनीतिक गफ कति गर्नुहुन्छ ?
त्यस्तो त गर्नुहुन्न । खाना खाने वेला राजनीतिक गफ गर्ने बानी छैन ।
५१. पार्टीका कुरा तपार्इंलाई कति सुनाउनुहुन्छ ?
मलाई त बताउनुहुन्न ।
५२. चित्रबहादुर केसीले आफ्नै छोरालाई पनि जागिर लगाइदिएनन् भनेरसमेत समाचार आए नि ?
हो त क्यारे । यही काम खोजिदिएको भए, जागिर लगाइदिएको भए छोराहरू, बुहारी, नाति जापान किन जान्थे र ?
५३. १६ वर्षदेखि सांसद हुनुहुन्छ, कार्यकर्ता पनि आउँदा हुन नि जागिर लगाइदिनुपर्‍यो भनेर ?
कोही आउँदैनन् । आफ्नै छोराहरूलाई त जागिर नलगाएपछि अरूलाई कसरी लाइदिनु भन्नुस् त ? जागिर लगाइदिन्छु भनेर अचेल मान्छेले पैसा खान्छन्, उहाँले त्यस्तो लप्पन–छप्पन गर्नुहुन्न, त्यस्तो बानी छैन ।
५४. यत्रा वर्ष सांसद हुँदा पैसा जोगाउनुभएको होला नि ?
केको पैसा जोगाउनु ? पैसा भएको भए भाडाको घरमा बस्थे र । पार्टी पनि चलाउनुपर्‍यो, आफू पनि बाँच्नुपर्‍यो ।

बिहे/घरजम
५५. तपार्इंहरूको बिहे कति बर्षको उमेरमा भयो ?
२०१२ सालमा बिहे भयो । त्यतिखेर म १० वर्षकी थिएँ, उहाँ १४ वर्षको हुनुहुन्थ्यो ।
५६. बिहेपछि माइतीमा बस्नुभयो कि घरमै ?
कहाँ घर बस्नु नि । चार वर्ष माइतीमै बसेँ । कहिलेकाहीँ आउने–जाने त भइरहन्थ्यो ।
५७. तपाईंहरू दुईजनाको बोलचाल हुन्थ्यो कि हुन्थेन ?
हुँदैनथ्यो । म माइतीमै बस्थेँ । बिहे गरेको दुई वर्षपछि उहाँ पढ्न काठमाडौं जानुभयो । कहिलेकाहीँ दसैँ–तिहारमा घर आउनुहुन्थ्यो ।
५८. त्यतिवेला पनि बोलचाल हुँदैनथ्यो ? सन्चो–बिसन्चो सोध्नुहुन्थेन ?
कसरी हुनु ? म बोले पो ।
५९. कतिपछि भयो त बुढाबुढीको बोलचाल ?
उहाँ ०१८ सालमा एसएससी पास गरेर फर्किनुभयो । त्यसपछि बल्ल हाम्रो बोलचाल हुन थालेको हो । बिहे गरेको कति ५–६ वर्षपछि मात्रै बोलचाल भयो ।

लुगा/पहिरन
६०. आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ?
जस्तो छ, त्यस्तै लगाउनुहुन्छ ।
६१. लुगामा आइरन आफैँ गर्नुहुन्छ कि अरूले लगाइदिनुपर्छ ?
आफूले लगाउनुहुन्न, लाइदिने मान्छे छैन, अनि के गर्नु ? जस्तो छ, त्यस्तै लगाएर हिँड्नुहुन्छ ।
६२. तपाईं गरिदिनुहुन्न ?
लगाउँदिनँ मैले त ।
६३. आफ्ना लागि वर्षमा कति जोर लुगा किन्नुहुन्छ ?
कहाँको किन्नु नि ? ०५६ सालमा सांसद भएपछि दुई जोर कोट–पाइन्ट हाल्नुभाथ्यो । त्यसपछि अस्ति उपप्रधानमन्त्री बन्ने भएपछि एक जोर कोट–पाइन्ट र एकजोर लबेदा (दौरासुरुवाल)–कोट सिलाउनुभयो । त्यो पनि सुरुमा त लबेदा–कोट सिलाउनुभएको थिएन । छोराभतिजाहरूले वेला–वेला किनिदिन्छन्, साथीभाइले ल्याइदिन्छन् । त्यही लाउने हो । मोजा फाटे त मैले किनिदिनुपर्छ ।
६४. उपप्रधानमन्त्री हुँदा दौरासुरुवाल पछि मात्रै किन सिलाउनुभएको नि ?
सुरुमा कोट–पाइन्टमै शपथ खाउँला भनेर सोच्नुभएको थियो क्यारे । पछि कसले हो संसद्मा ‘हैन दौरा–सुरुवाल लगाउनुपर्छ’ भनेछन् । अनि, हतारमा अघिल्लो दिन सिलाउन दिएर भोलिपल्ट लगाएर शपथ खान जानुभएको हो ।
६५. राम्रा लुगा लगाएर चिटिक्क परेर हिँड्नुपर्छ भनेर भन्नुहुन्न तपाईंले ?
कहिलेकाहीँ भन्न त भन्छु क्यारे । ‘त्योभन्दा यस्तो लुगा लगाएर हिँडे हुने’ भनेर भन्छुु ।
६६. अनि, के भन्नुहुन्छ त ?
‘यसको सट्टा त्यो लुगा लगाएर मान्छेले फलानो गयो भन्ने हुन् र ? बरु जस्तो छ, त्यस्तै लगाए भन्ने हुन्’ भन्नुहुन्छ ।
६७. आफ्ना लागि नकिने पनि तपाईंका लागि त लुगा किनिदिनुहुन्छ होला नि ?
कसैका लागि पनि किन्नुहुन्न । आफ्ना लुगा मैले आफैँ किन्ने हो ।

तलब
६८. आफ्नो तलब तपार्इंलाई दिनुहुन्छ कि आफैँ राख्नुहुन्छ ?
मलाई नै दिनुहुन्छ ।
६९. आफूले कति राख्नुहुन्छ ?
खर्च डेढ–दुई हजार राख्नुहुन्छ ।
७०. उहाँको खर्च केमा हुन्छ ?
उही पत्रपत्रिका किन्नमा हुने हो । अरू त खर्च गर्नुहुन्न ।
७१. तपार्इंसँग पैसा माग्नुहुन्छ कि हुन्न ?
सकिएपछि माग्नुहुन्छ ।
७२. कति दिनुहुन्छ तपाईंले ?
कहिले हजार, कहिले दुई हजार, कहिले ‘पाँच सय भए पनि पुग्छ’ भन्नुहुन्छ ।
७३. पैसाको बारेमा कहिले दुईजनाबीच ठाकठुक पर्छ कि पर्दैन ?
पैसाका बारेमा त पर्दैन ।

रिसाउने र खुसी हुने
७४. रिसाउने बानी कति छ ?
त्यस्तो धेरै रिसाउने बानी त छैन ।
७५. कस्ता कुरामा रिसाउनुहुन्छ ?
कस्ता कुरामा भन्नु ? घरायसी कुरामा त हो नि ।
७६. रिसाएपछि के गर्नुहुन्छ ?
बोल्नुहुन्न । घरबाट निस्किँदा पनि नबोली हिँड्नुहुन्छ ।
७७. रिसाएपछि कसले पहिला फकाउँछ ?
उहाँ रिसाए पनि, म रिसाए पनि बोल्नु त मैले पर्‍यो नि । खाना दिनुपर्‍यो, के खानुहुन्छ सोध्नुपर्‍यो । उहाँले न खाना दिनुपर्‍यो, न सरसफाइ गर्नुपर्‍यो । नबोले नि भयो ।
७८. तपार्इंलाई कहिल्यै पिट्नुभएको छ कि छैन ?
छैन ।
७९. माया गरेर तपार्इंलाई के भनेर बोलाउनुहुन्छ ?
‘माइली’ भन्नुहुन्छ ।
८०. तपाईंले माया गरेर के भनेर सम्बोधन गर्नुहुन्छ ?
(हाँस्दै) मैले के भन्ने हो ? ‘हजुर’ भन्छु ।

जिद्दी
८१. जिद्दी गर्ने स्वभाव कत्तिको छ ?
जिद्दी त गर्नुहुन्न । मैले भनेपछि मान्नुहुन्छ ।
८२. भनेपछि उहाँको भन्दा बढी जिद्दी तपार्इं गर्नुहुन्छ ?
(हाँस्दै) सबै कुरा मैले धान्नुपरेपछि उहाँले जिद्दी कसरी गर्न मिल्यो त ?
८३. कस्ता कुरामा खुसी मान्नुहुन्छ ?
अब, घटना हेरी–हेरी हुन्छन् । त्यस्तो एकदमै खुसीले मात्तिने र अरू वेला आत्तिने गर्नुहुन्न । सधैँ एकनासको हो ।
८४. आफैँ गीत गुनगुनाउनुहुन्छ कि हुन्न ?
गुनगुनाउनुहुन्न ।

रक्सी र चुरोट
८५. केही अम्मल छ कि छैन ?
अहिले त केही छैन ।
८६. पहिला चुरोट–खैनी खानुहुन्थ्यो ?
खैनी त होइन, चुरोट खानुहुन्थ्यो । त्यो पनि अहिले त छाडिसक्नुभयो ।
८७. दिनमा कति खानुहुन्थ्यो ?
धेरै खाने होइन । बिहान खाना खाएपछि, बेलुका भात खाएपछि खानुहुन्थ्यो ।
८८. कुन चुरोट खानुहुन्थ्यो ?
गैँडा चुरोट ।
८९. तपाईंले नखानुस् भन्नुहुन्थेन ?
आफू पनि खाइन्थ्यो, त्यसैले त्यस्तो त भनिएन ।
९०. अचेल तपाईंले पनि छाड्नुभयो ?
म पनि खान्नँ ।
९१. कसरी छाड्नुभयो पछि ?
बहुदल आएपछि पनि अलि–अलि खानुहुन्थ्यो । सांसद भएपछि डाक्टरले ‘माछामासु नखानुस्, तपार्इंको ज्यानले सकेन’ भनेपछि सँगै चुरोट खान पनि छाड्नुभयो ।
९२. रक्सी खानुहुन्थ्यो कि खानुहुन्थेन ?
त्यस्तो खानुहुन्थेन । कहिलेकाहीँ साथीभाइसँग बस्दा छुट्टै कुरा भयो । घरमा त कहिल्यै खानुभएन ।

ठट्टा/रमाइलो
९३. उखान मिसाएर भाषण गर्नुहुन्छ, घरमा कुरा गर्दा कत्तिको उखान भन्नुहुन्छ ?
घरमा त भन्नुहुन्न । बानी हो कहिलेकाहीँ त आउँछन् । तर, ‘मैले आज फलानो ठाउँमा यस्तो उखान भनेको, सबैले राम्रो माने’ भनेर सुनाउनु भने हुन्छ ।
९४. तपार्इंलाई मन परेको उहाँले सुनाएको उखान ?
कुनलाई राम्रो भन्नु, सबै राम्रा लाग्छन् । मैले बरु ‘कहाँबाट सिक्नुहुन्छ यस्ता उखान’ भनेर भन्छु ।
९५. अनि, के भन्नुहुन्छ त ?
‘आइहाल्छन् नि’ भन्नुहुन्छ ।
९६. ठट्टा गर्ने, रमाइलो गर्ने बानी कति छ ?
घरमा त हँसिमजाक गर्ने गर्नुहुन्न ।
९७. जिस्कने कत्तिको गर्नुहुन्छ ?
हामीबीच जिस्किने, हँसिमजाक गर्ने कुरै हुन्न । हेर्नुस्, हाम्रो बानी नै छैन त्यस्तो । उमेर छँदा उहाँ पढ्न आउनुभा’थ्यो, भेटै हुँदैनथ्यो । छुट्टिएपछि एक्लै थिएँ, केटाकेटी साना थिए । १५ दिन–महिना दिनमा घर आउँदा घाँस–दाउरा काट्न जानुहुन्थ्यो ।
९८. घाँस–दाउरा नि गर्नुहुन्थ्यो ?
गर्नुहुन्थ्यो नि । कस्ता–कस्ता भिरमा गएर घाँस काटेर ल्याउनुहुन्थ्यो । एकपल्ट छुट्टीमा आउँदा वर्ष दिनलाई पुग्ने दाउरा जम्मा पार्नुहुन्थ्यो । भिरको मह काढ्न त्यस्तै सौखिन ।
९९. मह आफैँ काढ्नुहुन्थ्यो ?
हो नि । घरमा पुलिसले पनि खोजी गथ्र्यो । जंगलतिर ठुल्ठूला भिरबाट समेत मह काढ्नुहुन्थ्यो । गाउँले साथीभाइलाई पनि दिनुहुन्थ्यो ।
१००. जोकहरू सुन्ने/सुनाउने कत्ति गर्नुहुन्छ ?
केही गर्नुहुन्न त्यस्तो । टाइम पनि हुन्न त्यस्तो गर्न ।
१०१. उहाँसँगैका सांसदहरू गाडी चढ्छन्, उहाँ यत्तिका वर्ष सांसद हुँदा पनि पैदल हिँड्नुहुन्थ्यो, नराम्रो लाग्दैनथ्यो ?
लागेन मलाई त त्यस्तो । आजको नयाँ पत्रिका दैनिकबाट



Post a Comment

 
Top