महाविनाशकारी भूकम्प पाँच महिना पूरा भएको दिन असोज १२ गते बिहानैबाट काठमाडौंमा वर्षात थियो। कठ्यांग्रिने जाडो, हामी श्रीमान् श्रीमती आआफ्नो कर्मथलोमा जाने चटारोमा थियौं।

अस्पतालको बेडमा शल्यक्रिया गरिएका बिरामी बुवा। घरमा १६ महिनाकी छोरी। मोटरसाइकलमा पेट्रोल छैन। भान्सामा इन्धन अभाव छ, आमा छटपटिइरहनुभएको छ। पट्यारलाग्दो थियो दिन। दिउँसो खाजा खान हामी दुई मित्र निस्कियौं। खाजा खाने पसलकी आन्टीले निराशा झल्कने खिस्स दुईवटा दात देखाउँदै भन्नुभयो, 'ग्याँस छैन, दुःख नमान्नु है।' सहानुभूति देखाउँदै अलि परको अर्को पसलमा लागियो।


बिहानदेखिको चिसो चना र आलु तयार छ तर तताउने राप, हिटर ग्याँस छैन भन्ने थाहा भएपछि भोक मीठो कि भोजन मीठो भन्ने तर्कसँगै भोक मेटाइयो।बिरामी बुवालाई भेटेर न्युरोडको एक चुलो सप्लायर्स चिनजानको मान्छे, इलेक्ट्रिकल चुलो मिलाइदिन हुन बिन्तीभाउ गर्दै उहाँलाई भेट्न हामी त्यहाँ पुग्यौं।

अघिल्लो दिनै सामान पाउने आशामा पेस्की पैसा दिइसकेको थिएँ। अबेरसम्म कुर्दा पनि सामान नपाउने भएपछि हामी निराश मुद्रामा घरतिर लाग्यौं।एक हप्ताअघि बेलुका १० बजे अचानक असह्य पीडा भयो बुवालाई पेट दुखेर। टिचिङ अस्पताल लानुपर्ने भयो।

ट्याक्सी हलचोकदेखि वनस्थलीसम्म हप्तौंदेखि लाइनमा थिए। जसोतसो इमेर्जेन्सीमा पुर्‍यायौं, मोटरसाइकलको पछाडि राखेर। त्यहाँ त झन् कोही राति ११ बजे कपनदेखि हिँड्दै आएको भन्दै थिए, डाक्टरले सामान्य उपचार गरेर डिस्चार्ज गरे। तर फर्कने साधन छैन। बिहानपख जान्छु भन्ने बाध्यता थियो।

त्यहाँ धादिङका एउटै परिवारका ट्याक्टर दुर्घटनामा चार व्यक्ति घाइते, कोही पाँच वर्षे बालक, कोही सात वर्षे र ४५ र ५० वर्षका कोहीलाई बीएनबी लैजानुपर्ने, कोही मनमोहन कार्डियोलोजीमा राख्नुपर्ने, कोही घर फिर्ता जानुपर्ने। तर उनीहरूलाई कसरी लाने? कसले लगिदिने?

सोमबार सिभिल अस्पतालमा अपरेसनको डेट थियो। बुवालाई भर्ना गरियो। कुरुवा म आफैं बसेको थिए। तीन दिन अस्पताल बसाइ अवधिमा क्यान्टिन बेलुुका ७ बजे नै बन्द हुन्छ। बिरामीलाई कहिले तातोपानी, कहिले जाउलो, कहिले दाल कहिले के?

न घर कोठा वा आफन्तबाट ल्याउन सम्भव न क्यान्टिनमा नै सबै कुरा उपलब्ध छन् ? कति कष्टकर छ जीवन? म कुरुवाघरबाट खाना खान जाँदा गाडी नपाउने, मोटरसाइकलमा पेट्रोल नहुने। म वरिपरि कतै खान्छु भन्दा बानेश्वरदेखि सिनामंगलसम्म चाहार्दा पनि सबै भात होटल बन्द।

बल्लबल्ल एउटामा जसोतसो चित्त बुझाउन बाध्य भएँ। औषधि पसलमा औषधि पूरा छैन। चारवटा कुनै औषधिको नाम दियो भने एउटा हुन्छ, अरू तीनवटा किन्न बाहिर पसलमा चाहार्नुपर्ने।अर्को दिन बेलुकीको खाना लिएर जाँदै थिएँ।

त्यो पनि चार सय रुपैयाँ प्रतिलिटरमा ब्ल्याकमा किनेको दसैंमा चाहिन्छ भनेर। फेरि न्युरोडको चुलो साहूजीले चुलो लिन बोलाउनुभयो। बेलुका ७ बजे आउन फोन आयो, बुवालाई खाना लिएर कुरुवालाई पालो दिन हतार भइसकेको थियो।

चुलो पाउने आशामा न्युरोड पुगेर ८ बजेसम्म कुरेँ, पाउने कुनै टुंगो भएन। सबै बजार सटर बन्द भइसक्यो। साहूजी सामानको अडर पुर्‍याउन नसकेको हुँदा फोनमा कन्भिन्स गराउनमा नै व्यस्त थिए उनी।
बिरामी बुवालाई खानपानको व्‍यवस्था गर्नुपर्ने। घरमा आमा छोराले चुलो ल्‍याउने आशामा हुनुहुन्‍थ्यो। छोरीले सधै घरमा पुग्‍दा बाबा भन्‍ने आवाज, आज छोरी निदाइसकेकी थिइन्।
अस्पतालबाट आफन्तले 'कहाँ हराइस्? ढिला भइसक्यो' भन्दै खाना ल्याउन भनेर बारम्बार फोन आइरहेको थियो। म हतारहतार अस्पताल लागेँ, फोन आएको आयै थियो। पालो दिन आफन्तलाई निकै ढिलो भएछ।

अर्को बेडको कुरुवालाई जिम्मा लगाएर जानुभएछ। भोलिपल्ट डिस्चार्ज भयो बुवाको। ट्याक्सी पाइन्न। सुरुमा तीन हजार भनियो। बार्गेनिङ गर्दागर्दा १५ सयमा बल्ल कुरा मिल्यो। सस्तै पाइयो भन्दै बानेश्वरबाट वनस्थलीसम्मको भाडा तिर्न बाध्य भएँ।

पैसा एडभान्स दिँदा पनि इन्डक्सन चुलो नपाएको, भोलि भोलि भनेको सुन्दा छिमेकी घरका परिवारले पनि पत्यार गर्न छाडे। भोलिपल्ट फेरि ६ बजे बेलुका बोलाइयो र दुवै हामी पुग्यौं।

फेरि ७ बजे कुर्नुपर्ने भयो, चिया खान पर्‍यो पसल बन्द। जसोतसो गरेर ७ बज्यो। साहूजी फोनमै व्यस्त थिए । बजार पूरै बन्द भइसकेको थियो। मेरो मानसपटलमा त्यो १६ महिनाकी अबोध छोरीको खानपानको व्यवस्था, बिरामी बुवालाई खानपानको व्यवस्था गर्नुपर्ने।

घरमा आमा यतिका बेर छोराले चुलो ल्याउने आशामा हुनुहुन्थ्यो। छोरीले सधैं घरमा पुग्दा बाबा भन्ने आवाज, आज छोरी निदाइसकेकी थिइन्।बाहिर बजार पूरै बन्द भइसकेको थियो। हामी एकअर्कामा मुखामुख गर्दै निराश भएर घरतिर लाग्यौं।

भन्न जति सजिलो छ दाउरा बाल्ने, दाउरा नै कहाँ पाइन्छ ? सबै फर्निचर बन्द छन्। निर्माण कार्य ठप्प छ । फेरि सहरका साँघुरो कोठामा कहाँ घरभेटीले दाउरा बाल्न नै दिन्छन् र? देख्दा पनि अचम्म, जहाँतहीँ सबैको दर्दनाक अवस्था छ।

अस्पतालमा अपरेसनको बिरामी क्षणक्षणमा औषधि पानी, जाउलो, चिया, दाल र आउजाउ गर्न सम्भव छैन। नजिकका नरनाता सबैकोमा समस्या छ, चाहेर पनि सहयोग गर्न नसक्ने अवस्था छ। भन्न पनि लाजै पचाउनुपर्ने।

Post a Comment

 
Top