मंसिर १२, २०७२- जापानी प्राध्यापक मासायुकी तानिगावाले नेपालको राजनीतिक परिवर्तन विश्वमै उदाहरण भएको बताएका छन् । ३० वर्षदेखि नेपाल आइरहेका र नेपालबारे धेरै विषयमा जानकार उनले शुक्रबार भने, ‘यस्तो फास्ट ट्रयाक राजनीतिक परिवर्तनले राजनीति शास्त्रका अनुभवीहरूसमेत अचम्ममा पर्ने गरेका छन् ।’

राज्य स्थापनादेखिको इतिहास बोकेको राजतन्त्रको अन्त्य, लामो सशस्त्र द्वन्द्वको अवतरण, संविधान निर्माणका लागि २ पटक संविधानसभाको निर्वाचन, संघीय गणतान्त्रिक मुलुकको घोषणा र संविधान जारी हुनु चानचुने नभएको उनको भनाइ छ ।

नयाँ संविधान जारी भएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘नेपालीले आफ्नो प्रयासमा ल्याएको यो संविधान उदाहरणीय छ । यसलाई जापानी भाषामा उल्था गरेर जापानमा हुने संविधानसम्बन्धी अध्ययनमा छलफलका लागि लैजान्छु । म अहिले नेपालको संविधान अध्ययन गरिरहेको छु ।’

लामो संस्थागत राज्यको परिवर्तित रूपको यो संविधान जनस्तरबाट जारी हुनुलाई उनले निकै अर्थपूर्ण मानेका छन् । नेपालजस्तो मुलुक अहिले संघीयतामा गएर पुरानो संरचनालाई परिवर्तन गर्दा विकास प्रक्रिया अघि बढाउन सहज भने नहुने उनले बताए । उनले अमेरिका, भारतलगायत मुलुकको अवस्था फरक रहेको तर त्यसकै नक्कल गर्न खोज्दा गाह्रो
हुने भन्दै बेल्जियमको अध्ययन गर्नसमेत सुझाव दिए ।

‘विकसित मुलुकलाई समेत संघीयता धान्न गाह्रो छ तर नेपालले त्यसमा अडेर संविधान जारी गरिसकेको अवस्थामा यसबाट पछि हट्ने अवस्था पनि छैन र अघि बढ्न सहज पनि छैन,’ उनले भने ।

उनले अहिले तराईमा देखिएको समस्यामा सरकारले चीनकार्ड प्रयोग गर्न नहुने सुझाएका छन् । ‘नेपालको भौगोलिक अवस्था नै त्यस्तो छ जहाँ भारत र चीन जोडिन्छ तर एक–अर्का मुलुकविरुद्ध सरकार वा राजनीतिज्ञले ‘कार्ड’ प्रयोग गरेको समाचार हेर्दा र उनीहरूको कुरा सुन्दा लाग्छ तर त्यो राम्रो होइन, यसमा ख्याल गर्न जरुरी छ,’ उनले भने ।

प्रा. तानिगावाले तराई समस्या आन्तरिक भएकाले राजनीतिक दलबीच छलफल गरेर मिलाउन आवश्यक रहेको बताए । संविधान उत्कृष्ट हुँदाहुँदै पनि किन यसमा विवाद आयो भन्ने बुझेर समाधानतर्फ लाग्न जरुरी रहेको उनले बताए । उनले अहिले भएको गतिविधिले तराईकेन्द्रित तथा अन्य राजनीतिक दललाई समेत कुनै फाइदा नहुने बताए ।

नेपाल र जापानबीचको सम्बन्ध तथा सहकार्य स्मरण गराउँदै उनले नेपालले अहिलेसम्म प्रगति गर्न नसक्नुको कारणबारे नेताहरूले घोत्लिन जरुरी रहेको बताए । अन्य मुलुकको विकास प्रक्रिया अध्ययन गर्न जरुरी रहेको उनको भनाइ छ ।

एक साताअघि नेपाल आएका उनले यहाँ रहँदा नेपालको प्रजातन्त्रबारे अध्ययन गर्ने थिंक टयांकको भ्रमण गर्ने र त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसँग छलफल गर्ने गरेको बताए । उनले नेपालजस्तो बहुभाषी, बहुजाति र बहुधर्मीका साथै एक प्रकारको संरचनाबाट विकास प्रक्रिया अघि बढाएको मुलुकलाई संघीयता लागू गर्न भने सहज नहुने बताए ।

नेपालमा देखिएका समस्या संघीयतामा सीमा बाँडफाँडकै भएको उल्लेख गर्दै उनले भने, ‘यो विषय जति हल्का रूपमा लिइन्छ त्यति सहज छैन, यसमा ख्याल गर्न जरुरी छ ।’ लामो समय नागासाकी विश्वविद्यालयमा अध्यापन गराएका उनी सेवानिवृत्तपछि विश्वका विभिन्न विश्वविद्यालयमा अतिथि प्राध्यापन र स्वअध्ययनमा लागेका छन् ।





Post a Comment

 
Top