गाईघाट (उदयपुर)—नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले परापूर्व कालदेखिको छिमेकी देश भएर पनि भारतले अमानवीय तरिकाले नेपालको घाँटी निमोठेको बताएका छन्।

पूर्वको सुनसरीको चतरा–उदयपुर–कटारी–सिन्धुली हुँदै राजधानी काठमाडौं जोड्ने वैकल्पिक राजमार्गको अनुगमन गर्न उदयपुर आएका नेता नेपालले प्रेस चौतारी उदयपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा भने, 'अहिले नेपालीले राम्रो संविधान बनाएबापत घनिष्ट मित्र भनिने छिमेकी भारतले उपहारस्वरुप घाँटी निमोठेको छ। यो नै सबैभन्दा ठूलो विडम्बना हो।'

आफूहरु हिन्दूहरु भएको दाबा गर्ने भारत सरकारले अधिकांश हिन्दू नेपाली बसोबास गरेको नेपालमा सीमा नाका बन्द गरेर आर्थिक रुपमा घाँटी निमोठेको नेता नेपालको भनाइ थियो।

'अहिले नेपालमा सबैले संविधानमा बराबरी अधिकार पाए पनि सबैभन्दा बढी अधिकार मधेसीले पाएका छन् । छुट्टै मधेस प्रदेश पनि मधेसीले नै पाएका छन्', उनले भने। अहिले संयुक्त मधेसी मोर्चाले आन्दोलन छाडेर वार्ताबाट समस्याको समाधान खोज्न पहल गर्नुपर्नेमा नेता नेपालको जोड थियो।

वर्तमान संविधानमा केही कमजोरी रहेको भए संविधान संशोधनबाट त्यसलाई सच्याउन सकिने नेता नेपालले बताए।

आन्दोलनका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भइआएकाले अब सुनसरीको चतरा हुँदै उदयपुर, सिन्धुली भएर राजधानी काठमाडौं जोड्ने वैकल्पिक राजमार्गको स्तरोन्नति गर्न सरकारले तुरुन्त पहल गर्नुपर्ने पनि नेता नेपालले बताए।

यसका लागि आफू सहितको टोलीले अहिले वैकल्पिक राजमार्गको संयुक्त अनुगमन तथा अध्ययन गरेको र काठमाडौँ फर्केर सरकारलाई तुरुन्त यसको सुधारका लागि ध्यान आकर्षण गर्ने पनि नेता नेपालले जानकारी दिए।

उनले वर्तमान सरकारलाई खुलेर सहयोग गर्न पनि प्रतिपक्ष दल नेपाली कांग्रेससँग अनुरोध गरे। रासस


Post a Comment

 
Top