नेपालन्ज— आन्दोलनरत ट्यांकर चालकहरु काममा फर्किएका छन्। उनीहरुले आन्दोलन स्थगित गरेपछि शुक्रबार इन्धन ढुवानीको काम सुरु भएको छ। इन्धनको कालोबजारी गरेको आरोपमा ट्यांकर चालक गंगादत्त बडुलाई पक्राउ गरेको विरोधमा चालकहरु बिहीबारबाट आन्दोलित भएका थिए।


मध्यपश्चिम पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष समेत रहेका बडुको संलग्नतामा इन्धन कालोबजारी गरेको तथ्य पत्ता लागेपछि प्रहरीले पक्राउ गरेको थियो। बडुविरुद्ध लागेको आरोपको निष्पक्ष रुपमा छिटो, छरितो छानविन गर्ने विषयमा सहमती भएपछि शुक्रबार दिउँसोबाट आन्दोलन स्थगित गरी काममा फर्किएका हुन्।

बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले चालक बडुको विषयमा निष्पक्ष छानविन गर्ने सहमतिपछि आन्दोलनरत चालकहरु काममा फर्किएको जानकारी दिए। ट्यांकर चालकलाई अनुसन्धानका लागि हिरासतमै राखिएको उनले बताए। कालोबजारी अन्तर्गतको मुद्दालाई अदालतले हेर्ने नयाँ व्यवस्था अनुसार चालक बडुलाई बाँके जिल्ला अदालतमा पेश गरिएको प्रजिअ लेखकले जानकारी दिए।

चालक काममा फर्किएपछि शुक्रबार दिउँसो १ बजेबाट इन्धन लोड र अनलोड सम्बन्धी काम सुरु भएको नेपाल आयल निगम मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जका निमित्त प्रमुख विक्रम गुवाजुले बताए। उनका अनुसार शुक्रबार बाँके, बर्दिया, दाङ लगायत जिल्लामा डिजल र पेट्रोल पठाइएको छ। 'चालकको आन्दोलनले गर्दा हिजो पठाउन नसकिएको इन्धन आज सबै ठाउँमा पठाइयो,' गुवाजुले भने।

B

Post a Comment

 
Top