सिरानमा ठूल्ठूला पहाड छन्, उराठलाग्दा। चुरेको त्यो पहाडमा पानीसमेत रसाउँदैन। अनि मुनितिर छ, भारतको घना जंगल। आँखाले हेरिनभ्याउने गरी फैलिएको त्यो जंगल भारतको निकुञ्ज हो। त्यही उजाड चुरे अनि त्यो घना भारतीय जंगलबीच एउटा लमतन्न बस्ती छ।

बाँकेको सिमाना छोएर पूर्वमा कपिलवस्तुसम्म एकनास फैलिएको यो दशगजा छेऊमा लक्ष्मी विकका ४३ वर्ष कटिसकेका छन् । उनी आफैैं पनि ५० नाघिसकिन् रे । तर, उनी आफैंलाई यकिन छैन आफ्नो उमेर कति भयो? १५ वर्षको उमेरमै विवाह गरेकी उनी आफ्ना पतिसँग बाख्रा चराउन त्यो सिमाना छेउमा पुगेकी थिइन् । जंगलछेउमा बाख्रा चराउन गएका उनीहरूले त्यहीँ छाप्रो बनाए। केही जमिनमा बार बारे, अनि घरबार बस्यो।

अहिले उनीसँग त्योबेलाको जति बाख्रा छैनन्, न परिवार नै छन्। तर, लक्ष्मीजस्ता हजारौं परिवारका झुपडी अनि केही 'तले' (तला भएको) घरहरू त्यही नेपाल भारतको साँधमा छन्। खुल्ला साँधछेउको नेपाली बस्तीमा नेपाल झल्काउने केही छैन, ती रैथाने नेपालीबाहेक।
 
‘बाख्रा चराउन आएका हौं', उनले भनिन्, ‘अहिले नातिनातिनाहरू पनि यतै देखियो।' १० वर्षअघि उनका पति बिते। अहिले उनी नतिनीहरूसँग बस्दै आएकी छन्। 'नाकाको ठाउँ यस्तै हो', उनी भन्छिन्, 'हामी मान्छेमात्रै नेपाली हौं, अरू सबै इन्डियन।'
 
अलि सुगम मानिने दुईचार ठाउँमा नेपाली प्रहरीहरू बसेका छन्। बाँकी नाकाहरूमा राज्यको उपस्थिति भन्ने नै केही छैन। 'हाम्रा पुलिस कहिल्यै देखिन्नन्' उनले भनिन्, ‘बरु इन्डियनहरू आउँछन्, लुटेर जान्छन्।'
 
धेरै वर्षअघिको कुरा हो। एक रात भारतीय लुटेराहरू गाउँ पसे। कसैका घरबाट खसी लगे, कसैका घरबाट कुखुरा। कसैको पैसा लगे त कसैको गहना। केही पनि नभेटाए छोरी चेलीहरूको इज्जत पनि लुटे। 
 
लक्ष्मी विक पनि बाँकी रहिनन्। उनले खसी बाख्रा बेचेर बनाएको गहना जति उनीहरूले लुटे।दाङको दक्षिणीभेगमा भारतसँग सिमाना जोडिएका २५ भन्दा बढी नाकाहरूमा लक्ष्मीजस्ता थुप्रै नेपालीहरू बस्दै आएका छन्। 
 
नागरिकताको एउटा सानो पत्रबाहेक उनीहरूसँग अरू केही छैन नेपाली भन्नलाई। पूरै नाकाभरि नेपाली नोट कतै चल्दैन । नेपालीपनको झल्को दिने त्यही नेपाली बोली हो, त्यै पनि धेरै केटाकेटीहरूले हिन्दी पनि सिकिसकेका छन्। 
 
आजकल त, सोलारमै चार्ज गरेर भए पनि घाँसदाउरा गर्दा पनि सबैले हिन्दी गीत नै सुन्छन्। मोबाइलमै हिन्दी सिनेमा पनि हेर्छन्, बजारमा धेरै नेपाली फिल्म पाइन्न, मोबाइलमा हाल्नलाई।
 
सामान्य सलाई, चुरोट, सुर्ती पाइने खुद्रा पसलबाहेक ठूला पसलहरू त्यहाँ केही छैन। एउटा डल्लो साबुन किन्न पनि भारतकै बजार जानुपर्छ । त्यैपनि नेपाली नोटहरू चल्दैनन्। 
 
नाकामै भएका पसलहरूले भारुकै मूल्य बराबरमा झारेर नेपाली नोट लिन्छन्। 'नेपाली नोट लिएर के गर्नु?' उनले भनिन् 'सामान लिन इन्डिया नै जानुपर्छ, त्यो अर्काको बजारमा हाम्रो पैसा चल्दैन।'
 
त्यै पनि भने जति सामान लिन नपाइने अर्को बाध्यता छ, नाकाका नेपालीहरूसँग। ठाउँठाउँमा ढाट लगाएर बसेका भारतीय सशस्त्र सीमा बलले नेपालीहरूलाई बढी नै दुःख दिने गरेको छ । पाँच किलोभन्दा बढी चामल उसले नेपालीहरूलाई ल्याउन दिँदैन। 
 
साताको एकपटक (प्रायः आइतबार) लाग्ने स्थानीय बजारको हाटबजारबाट मात्रै नेपालीले आफूलाई साताभरि चाहिने रासनपानी किनेर ल्याउँछन् । साइकल हुने साइकल चढेर जान्छन्, नहुने पैदल जान्छन्।
 
'आफैं तोकेर दिन्छन्', गौरिया नाकाकी शान्ति बुढाले भनिन्, ‘उनीहरूले तोकिदिएकोले हाम्लाई के पुग्थ्यो र?' भारतीय बजारबाट सरसामान ल्याउँदा नेपाली पुरुष भए त खासै केरकार हुँदैन तर महिला र युवतीहरू परे भने एसएसबीको कडा केरकारमा पर्छन्। 'काँ काँ छाम्छन् छाम्छन्', पहिला लजाएकी शान्तिले भनिन्, ‘आफ्नै स्वास्नीजस्तो ठान्छन् होला कुत्ताहरू।'
 
उनका पति पाँचवर्ष अघि बितेका हुन्। झाडापखालाले गाउँमा पूरै महामारी फैलिएको थियो। शान्तिको  श्रीमान् पनि त्यसको सिकार भए। उनी सम्झिन्छिन्, ‘गाडी चल्दैन, बोकेर अस्पताल लैजाँदा लैजाँदै बुढा त बिते।' त्यसपछि बजारमा गएर सरसामान ल्याउने काम उनकै भएको छ।
 
त्यसमा पनि गाउँलेलाई सलाई, चुरोट, सुर्तीजस्ता ससाना सामानहरूको उनले खुद्रा पसल चलाएकी छन्। 'आधा त उनीहरूले नै खाइदिन्छन्', उनले भनिन्, 'के गर्ने तैपनि बाँच्नै परेको छ।' बाबु बितेपछि ५ कक्षामा पढ्दै गरेको उनको छोरा पनि कमाउनका लागि भारत गएको छ।
 
धेरै पढेकाले ८ कक्षासम्म पढ्छन् । २५ वटा नाकामा एसएलसी पास गरेका खोज्ने हो भने मुस्किलले एक दर्जन जति भेटिएलान्। 'पढ्दापढ्दै बिहे गर्छन्, कोही कामाउन जान्छन्', गौरिया नाकाकी एक शिक्षिकाले भनिन्, 'मुस्किलले ५ कक्षासम्म पढाउँछन्, पढ्नेहरू पनि त्यत्ति हो, पढाउनेले पनि त्यत्ति हो।' नाकाभरि एक दर्जन जति प्राथमिक विद्यालय छन् भने आधा दर्जन निमावि। त्यस्तै भौवा नाकामा एउटा मावि छ।
पचासौं वर्षदेखि सिमानामा बसेका यी नेपाली बस्तीमा अहिलेसम्म राज्यको कुनै पनि सुविधा पुगेको छैन । अझ त्यसमा पनि सिमानामा नेपाली सुरक्षाकर्मी त कतै छैनन्।
खेतीपाती केही हुँदैन। नजिकैको भारतीय गाउँमा खेतबारी सबै हरियै हुन्छन्। नेपालीका बारीमा भने जहिल्यै गाईबाख्रा चरिरहेका हुन्छन् । ‘मकै हुन्छ, गहुँ हुन्छ', गन्धैलाका छविबहादुर पुनले भने ‘कहिलेकाहीँ तोरी पनि हुन्छ, अरू त यो रुखो जमिनमा केही हुँदैन।'
 
कसैको जमिन दर्ता भएको छैन। दुई तीन पुस्ता बितिसक्यो।'सबै जंगल फाँडेर बसेका हौँ', उनले भने, 'कसरी हुने जमिन दर्ता? सबैको पर्ती (ऐलानी) हो।' नेपालीहरू अधिकांशले सीमा स्तम्भभन्दा निकै तलतलसम्म बार लगाएका छन्। कतिपयको बार एसएसबीले केही वर्षपहिले उखेलिदिएको थियो। तर अहिले भने त्यस्तो गरेको छैन।
 
एसएसबीले सहनै नसक्ने गरी ज्यादती गरेको भन्दै पाँच वर्षअघि २५ वटै नाकाका बासिन्दाहरू देउखुरीको एउटा सामुदायिक वनको जग्गामा बस्न आएका थिए। तर दुई महिनासम्मको कडा संघर्षपछि प्रशासनले उनीहरूलाई त्यहाँबाट जबर्जस्ती हटाएको थियो।
 
पछि त्यहाँ प्याकेजमा विकासका योजनाहरू लैजाने सहमति पनि भएको थियो। तर अहिलेसम्म त्यहाँ विकासका कुनै पनि पूर्वाधार छैनन्। न यातायातका लागि सडक छ, न त बिजुली नै छ। पैसा हुनेले सोलार बालेका छन्, नहुनेले टुकी।
 
सञ्चारका कुनै साधन छैनन्। न मोबाइल, न टेलिफोन, न हुलाक । त्यहाँ नेपाली मोबाइलका कुनै पनि टावर छैनन्। केहीले भारतीय मोबाइलका सिम प्रयोग गरिरहेका छन् । त्यै पनि भरपर्दो छैन । अरू त अरू नाकामा बसेका नेपाली प्रहरीहरूले समेत भारतीय मोबाइल चलाउनुपर्ने बाध्यता छ।
 
सिमानामा घर बनाएका धेरैजसो नेपालीको पेसा नै रक्सी बनाएर बेच्नु हो। अनि अर्को व्यापार बाख्रा र कुखुराको हो। भारतीयहरू रक्सी खान नेपालीकोमा आउँछन्, त्यही रक्सी खान्छन् अनि महिलालाई जथाभावी गर्छन्। 
 
नेपाली प्रहरीहरू टाढा छन्, उनीहरूलाई भने पनि भारतीयलाई केही भन्दैनन् । भारतीय प्रहरीले नेपालीको उजुरी लिन निकै 'भाउ' खोज्छ। जंगलबाट बाबियो, दाउरा अनि सालका पातहरूसमेत ल्याएर पनि उनीहरूले गुजारा चलाइरहेका छन्। 
 
बाख्रा अनि कुखुरा अन्य आम्दानीको स्रोत। अधिकांश पुरुष भारतमा जान्छन्, केही महिलाहरू पनि कमाउनका लागि भारत जान्छन्।गौरिया नाकाका अनन्त पुरीले एकपटक भारतीय वनरक्षकलाई भारु पाँच हजार रुपैया तिरे।
 
 कारण उनका पाँचवटा गाइगोरुले भारतीय जंगलमा गएर संरक्षण गरेको घाँस खाइदिएको थियो । त्यसपछि फेरि अर्को पटक उनले ६ सय रुपैयाँ तिरे । तर पैसा लैजाने वनरक्षकले उनलाई पैसा तिरेको रसिद दिएनन्। 'माग्छन् दिनै त पर्‍यो', उनले भने, 'हाम्लाई के रसिद दिन्थ्यो र उसैले पैसा लैजान्छ।'
 
उनका अनुसार भारतीय जंगलमा पसेको गाईबाख्राहरू सबै उसले थुनेर राखिदिन्छ अनि पैसा तिरेपछि मात्रै छोडिदिन्छ। त्यसो त भारतीयहरू नेपालीका बारीमा गाइबाख्रा छोडिदिन्छन्। 
 
तिनले नेपालीका बारीमा रहेका अन्नबाली खाइदिन्छन्। 'तर हामी उनीहरूलाई तिराउन सक्दैनौँ', पुरीले भने, ‘हामीले उनीहरूसँग निहुँ खोज्यौं भने हाम्ले ल्याउने रासन बन्द गरिदिन्छन्, हाम्लाई बाटैमा लुट्छन् भन्ने डर हुन्छ।'
 
पचासौं वर्षदेखि सिमानामा बसेका यी नेपाली बस्तीमा अहिलेसम्म राज्यको कुनै पनि सुविधा पुगेको छैन। अझ त्यसमा पनि सिमानामा नेपाली सुरक्षाकर्मी त कतै छैनन्। भारतले दाङसँग सिमाना जोडिएको करिब ५३ किलोमीटर सिमानाहरूमा प्रत्येक ४-५ किलोमिटरको फरकमा सशस्त्र सीमाबल तैनाथ गरेको छ।
 
 तर, नेपालका भनेका खिया लागेका एकदुईवटा थोत्रा थ्री नट थ्री धारी एकाध प्रहरी केही ठाउँमा मात्रै छन्। 'नाकावासी नेपाली नै वास्तविक सीमा रक्षक हुन्', भौवा नाकाका स्थानीय युवा अमृत खड्का भन्छन्, 'राज्यका अरू केही छैनन् यहाँ।'
- See more at: http://www.annapurnapost.com/News.aspx/story/22433#sthash.6m6yAdCM.oLWULJYJ.dpuf

Post a Comment

 
Top