गृहमन्त्री बस्नेतसँगै गृहसचिव नारायणगोपाल मलेगो, नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका प्रमुख कोषराज वन्त, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी र नेपाली सेनाको पूर्वी पृतना प्रमुख हरिबहादुर बस्नेतसहित पूर्वका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित सशस्त्र प्रहरीको पूर्वी मुख्यालय पकलीमा बैठक बसिरहेको छ । 
 
मधेस आन्दोलनका कारण पूर्वी नेपालको जनजीवन कष्टकर बनेको, एसएसबीले नेपाली भुमिमा पसेर नेपालीमाथि गोली ठोकेको र पूर्वको समग्र सुरक्षाको स्थितिबारे बैठक केन्द्रित हुने गृह मन्त्रालयका प्रबक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए । 

बैठकस्थलमा पुगेका सञ्चारकर्मीहरुलाई गृहमन्त्री बस्नेतले बैठक सकिएपछि देशको सुरक्षाको अवस्थाबारे सरकारको अआधिकारिक धारण सार्बजनिक गर्ने बताएका छन् । 
मधेसी मोर्चाको आन्दोलन र भारतले गरेको नाकाबन्दीको सामना गर्न, पूर्वाञ्चलका १६ जिल्लाको शान्ति सुरक्षा मजबुत पारी यातायातका साधन सहजरुपमा सञ्चालन गराउनेबारे बैठकमा सहभागी प्रमुख जिल्ला अधिकारी तथा क्षेत्रिय सुरक्षा समितिका प्रमुखहरुले गृहमन्त्रीलाई जानकारी गराएपछि भावी रणनीति तय गरिने भएको छ । 

बैठकमा नेपाल–भारत सीमामा सुरक्षा फितलो भएको भन्दै गृहमन्त्रीले आक्रोश पोखेपछी गृहमन्त्रालयले सुरक्षा समितिको बैठक इटहरीमा राखेको बुझिएको छ । 

बैठक सकिएपछि गृहमन्त्रीसहितको टोली एसएसबीको गोली लागेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका हरिपुर–७ का अशोक यादव र नरेश यादवलाई भेट्ने कार्यक्रम रहेको एमाओवादी सुनसरीका सह–सेक्रेटरी अइन्द्रविक्रम बेघाले बताए । 

Post a Comment

 
Top