मंसिर १३, २०७२- एनआरएन क्यानडाले नेपालमा भइरहेको भारतीय नाकाबन्दीविरुद्ध टोरन्टोमा विरोध प्रदर्शन गरेको छ । तत्काल नाकाबन्दी खोल्न माग गर्दै भारतीय महावाणिज्य दूतावासअघि प्रदर्शन गरिएको हो ।

एनआरएन क्यानडाका अध्यक्ष तुलसी थपलियाले नाकाबन्दीले दुई देशबीचको सम्बन्धलाई कमजोर बनाउादै लगेको बताए ।

प्रदर्शनमा टोरन्टोका विभिन्न नेपाली संस्थाहरुको सहभागिता थियो । त्यसमध्येको नेपाली प्रवासी मञ्च क्यानडाका अध्यक्ष रमेश थापाले नाकाबन्दीबारे अन्तराष्ट्रिय समुदायलाई जानकारी दिन र भारतले नेपालीको आवाज सुनोस् भन्ने उद्देश्यले प्रदर्शन गरिएको बताए ।

सेन्टिनेल कलेज टोरन्टोमाअध्यापनरत डा तुलसी धरेलले जहा रहे पनि नेपालीवीचको एकता कायम हुनुपर्ने र देशलाई समस्यापर्दा एक जुट हुन पर्नेमा जोड दिए ।

महावाणिज्य दूतावासले नाकाबन्दी तत्काल खोल्न पहल गर्न एनआरएनले दिन खोजेको ज्ञापनपत्र भने अस्वीकार गरेको छ ।

एनआरएन क्यानडाले नाकाबन्दीका कारण देशमा औषधीलगायत अत्यावश्यक सेवाका सामानको अभाव भएकाले त्यसमा सघाउन क्यानडाका संघ संस्था तथा व्यक्तिलाई आह्वान गरेको छ । विशेषगरी औषधीलगायतका वस्तुको पूर्तिका लागि आफ्नो स्थानबाट सक्दो सघाउन अध्यक्ष थपलियाले अनुरोध गरेका हुन् ।





Post a Comment

 
Top