काठमाडौँ, १२ मङ्सिर । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले करिब दुई महिनादेखि तराईमा भएको बन्द, हडताल र नाकाबन्दीले निम्त्याएको समस्याप्रति चिन्ता व्यक्त गरेको छ । 
“देश र नेपाली जनतालाई इतिहासमै सर्वाधिक राष्ट्रियतामाथिको हस्तक्षेप, भारतीय नाकाबन्दी र जनताको चुलो बल्न बन्द भएको सङ्कटको भूमरीमा पारिएको छ”– पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ–‘राष्ट्रको सार्वभौमिकता र हाम्रो जनताको स्वतन्त्रता एवम् बाच्न पाउने आधारभूत मानवअधिकारमाथि भारतले नाकाबन्दी गरेर मानवता विरोधी गतिविधि गरेको छ ।’ 

हस्तक्षेपको प्रतिवाद गर्दै वैकल्पिक आपूर्ति व्यवस्था र दीर्घकालीन आन्तरिक व्यवस्थापनको दृष्टिकोण एवम् योजना बनाउनुपर्ने सो पार्टीको भनाइ छ । 

‘अझै भारतीय सीमा सुरक्षा बलले दिनदहाडै सुनसरीको भण्टाबारीमा नेपाली जनतालाई गोली ठोक्छ, तराईको भू–भाग भारतसँग मिसाउने खुल्ला अभिव्यक्ति भारतीय सांसदले दिन्छन्’–विज्ञप्तीमा भनिएको छ । 

भारतले गरेको अघोषित नाकाबन्दीको विरोध स्वरूप सो पार्टीले आइतबार नेपाल बन्द गर्ने समेत घोषणा गरेको छ ।
 

Post a Comment

 
Top