काठमाडौँ : उपप्रधानमन्त्री भीमबहादुर रावलले तराई–मधेसमा हुँदै आएको आन्दोलनलाई शान्तिपूर्ण तुल्याएर वार्ताको वातावरणलाई सहज बनाउन मधेसकेन्द्रित दललाई आग्रह गरेका छन्।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनरत दलले नेपाल र नेपाली जनताप्रति जिम्मेवार भएर प्रस्तुत भएर आफ्ना माग राख्नुपर्नेमा जोड दिए । उनले भने,“लोकतन्त्रलाई मान्नुहुन्छ भने आन्दोलनका स्वरुप परिवर्तन गर्नुहोस्, भूकम्पले थिलथिलो भएका जनताप्रति अनुदार नबन्नुहोस् ।”

Via:Annapurna Post



निरन्तरको बन्द र भारतको नाकाबन्दीबाट मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको र जनताको दैनिक जीवनमा नकारात्मक असर परेको उल्लेख गर्दै रक्षामन्त्री रावलले आन्तरिक मामिला र मित्र राष्ट्रबीचको सम्बन्धलाई फरक फरक तवरले हेर्नुपर्ने बताए ।

उपप्रधानमन्त्री रावलले चीन र भारत दुवै देशले नेपालको भूपरिवेष्टित राष्ट्रको अधिकारलाई सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै भने, “हामी भारतसँग सुमधुर सम्बन्ध कायम राख्न चाहन्छौँ, पारवहनमा परेको यो अप्ठ्यारो दुई देशबीचको सम्झौतासँग मेल खाँदैन ।”

देश र जनताको शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भने “आफ्नो भूभाग र जनताको रक्षाका लागि सरकार प्रतिबद्ध छ, त्यसका लागि आवश्यकताअनुसार संविधान र कानुनबमोजिम सबै सुरक्षा निकाय परिचालन हुन्छ ।”

सरकारले वार्ताको वातावरण बनाउन आन्दोलनकारीका मागलाई पूरा गरेको स्पष्ट पार्दै उनले औषधि बोकेको ट्रक र बिरामी बोकेका एम्बुलेन्स चलाउने, जिउँदै पेट्रोल छर्केर आगो लगाउने र पारवहनमा अवरोध गर्ने काम बन्द गर्न आग्रहसमेत गरे ।

अहिलेको अप्ठ्यारो अवस्था लामो समयसम्म नरहने उल्लेख गर्दै नेकपा(एमाले)का उपाध्यक्ष रावलले अब राष्ट्र, जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर निकर्षको बाटामा लागिने स्पष्ट पारे । रासस

Post a Comment

 
Top