काठमाडौँ: भारतले गरेको नाकाबन्दीका कारण मानवअधिकारमा समेत असर परेकाले नेपालले व्यहोर्नुपरेको क्षति भराउनका लागि पहल गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

मानवअधिकार तथा शान्ति समाजले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा संस्थापक सभापति कृष्ण पहाडीले नाकाबन्दीका कारण महसुल बुझाएर ल्याएका ग्यास र पेट्रोलियम पदार्थसहित औषधि, खाद्यान्न र लत्ताकपडाजस्ता साम्रग्रीको आपूर्तिमा रोक लगाएर भारतले मानवताविरुद्धको अपराध गरेकाले वास्तविक क्षतिको पूर्ति गराउन पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।

भूपरिवेष्ठित मुलुकले निर्विवाद उपयोग गर्न पाउने पारबहन सुविधामा उपभोग गर्न नदिएर गरेको कुठाराघात नीतिगत क्रुरता भएको र यो क्रुरता स्वयम् भारतका लागि आत्मघाती कदम भएको उनले  धारणा राखे ।

समाजले घृणास्पद अभिव्यक्ति दिएर उत्तेजित गराउने राजनीतिक दलका नेतालाई कारबाही गर्न पहल गरिने जानकारी दिँदै संस्थापक सभापति पहाडीले त्यस्ता व्यक्तिका अभिव्यक्तिलाई समाचार नबनाउन पनि आग्रह गरेका छन् ।

भारतले लगाएको नाकाबन्दी तत्काल अन्त्य गर्न र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गर्न सो समाजले यही मङ्सिर १० देखि २४ गते (विश्व मानवअधिकार दिवसका दिन)सम्म काठमाडौँका विभिन्न भागमा हस्ताक्षर अभियान, सभा, भारतीय दूतावास अगाडि धर्ना दिने भएको छ ।

Post a Comment

 
Top