रसिया, ११ मङ्सिर । गएको हप्ता टर्कीको सुरक्षाफौजले आफ्नो हवाई इलाका रसियाली युद्धक विमान पुगेपछि आकाशमै आक्रमण गरी खसालेको केही समयपछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले राष्ट्रपति पुटिनसँग फोन वार्ता गर्न चाहेको क्रेमलिनले शुक्रबार बताएको छ ।

एर्डोगानले साँच्चै राष्ट्रपति पुटिनसँग फोन वार्ता गर्न चाहेका थिए । रसियाली राष्ट्रपति पुटिनलाई पनि सोको जानकारी गराइएको थियो । तर पुटिन र एर्डोगानबीच फोन वार्ता विविध कारणले हुन नसकेको क्रेमलिनले बताएको छ ।


क्रेमलिनका प्रवक्ता डिभित्री पेस्कोभले भने , विमान खसालिएको करिब ८ घण्टापछि एर्डोगानले फोन गरेको र राष्ट्रपति पुटिनलाई सो कुराको जानकारी गराइएको थियो ।

एर्डोगानले एक फ्रान्सेली टेलिभिजन च्यानलसँगको कुराकानीमा आफूले फोन गरी रसियाली राष्ट्रपतिसँग समस्या समाधानका लागि पहल गर्न चाहे पनि पुटिनसँग वार्ता हुन नसकेको बताएका थिए ।

तर, बिहीबार रसियाली विदेशमन्त्री सर्गेइ लाभारोभले भने त्यस्तो फोन वार्ता प्रयास नभएको बताएका थिए ।

यसैबीच टर्कीका राष्ट्रपतिले टर्की र रसियाबीच देखिएको पछिल्लो तनाव सम्बन्धमा संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको सेरोफेरोमा भेट्न आग्रह गरेको बताएका छन् ।

रसियाली पक्षबाट यस सम्बन्धमा कुनै जवाफ आइनसके पनि टर्की आफ्नो आग्रहलाई रसियाले सकारात्मक रुपमा लिनेछ, टर्कीका राष्ट्रपति तैयपले फ्रान्सको टेलिभिजनसँग्को अन्तरवार्तामा भनेका छन् ।

यी सबै दोषारोपणलाई अस्वीकार गर्दै रसियाली राष्ट्रपति पुटिनले उच्च तहको टर्कीको नेतृत्वले विमान आक्रमणप्रति क्षमा याचना गर्नुपर्ने साथै घटनाको क्षतिपूर्ति दिनुपर्ने भनी कडा प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रसियाली विमानको आकाशमा दुर्घटना गराएको प्रति खेद व्यक्त गर्दै प्रधानमन्त्री दिमित्री मेदभेदेभले सरकारलाई टर्कीविरुद्ध आर्थिक नाकाबन्दीको तयारी गर्न निर्देशन दिइसकेका छन्।

Post a Comment

 
Top