काठमाडौंको सुन्धारामा भगौडा प्रहरीमाथि प्रहरीले गोली प्रहार गरेको छ। सुन्धाराको लुम्बिनी पाहुना घरमा हतियारसहित बसेका बारा बरियारपुरका छाेटेलाल ठाकुरलाई पक्राउ गर्न खोज्दा जवाफी फायर गरेपछि गोली चलाएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले बताए। उनी भगौडा प्रहरी हुन्। त्यस्तै प्रहरीले ठाकुरको साथी राजकुमार पटेललाई पनि पक्राउ गरेको छ। रौतहटमा नेपाल प्रहरी सेवामा रहँदा उनले एसएलआर लिएर भागेका थिए।
लुम्बिनी पाहुना घरकाे २०२ नम्बर काेठामा बसेका उनी प्रहरीले ढाेका खाेल्न लाग्दा प्रहरीमाथि फायर गरेका थिए। त्यसपछि उनकाे घुँडामा प्रहरीले गाेली हानेकाे हाे।
उनको घुँडामा २  गोली लागेको छ। उनलाई वीर अस्पतालमा उपचारका लागि लगिएको हो। खनालका अनुसार उनी सुटर समेत हुन्। भारतमा पनि उनले आतंक मच्याउँदै आउका थिए। उनको साथबाट चाइनिज पेस्तोल र कटुवा पेस्तोलका साथै ७ राउण्ड गाेली बरामद गरिएको डिएसपी किरणजंग थापाले जानकारी दिए।
रौतहटमा प्रहरी जवानमा उनी कार्यरत थिए। उनी घुमुवाको समेत काम गर्दथे। २०६७ सालमा हतियार लिएर फरार भएका उनले १ वर्षजति घरमै लुकाएर राखेको र पछि भारतीय नागरिक सुनिल जैसवाललाई बेचेका थिए। जैसवाल भने यसअघि बारामा पक्राउ परिसकेका छन्।

Post a Comment

 
Top