बुटवलको खानेपानी समस्या समाधानका लागि पाल्पाको दोभानमा सञ्चालित झुम्सा खोला खानेपानी परियोजनासँगै दोभान क्षेत्रको विकासमा पनि सरकारले ध्यान दिन दोभानबासीले आग्रह गरेका छन्।

दोभान क्षेत्रको सिंचाईको लागि प्रयोग गरिदै आएको पानीको मुहान खानेपानी प्रयोजनको लागि उपयोग गरिएपछि त्यहाँको सिँचाईको अर्को विकल्पसँगै वन, वातावरण, सरसफाई र बाटोघाटो निर्माणमा बुटवल क्षेत्रले सहयोग गर्नुपर्ने उनिहरुले माग गरेका छन्।

झुम्साखोला खानेपानी परियोजना र सिद्धबाबा सडकको वैकल्पिक उपाय अध्ययनको  लागि बुटवलदेखि दोभान सम्मको स्थलगत अध्ययनमा गएका सरकारका अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री सोमप्रसाद पाण्डे सामु दोभान बासीले उक्त माग राखेका हुन्।

उनिहरुले बुटवलमा दोभानको पानी लगेबापत दोभान क्षेत्रलाई खानेपानी संस्थानले वार्षिक १० लाख रकम वन, वातावरण संरक्षण, शौचालय निर्माण र गोठ सुधारको लागि उपलब्ध गराउनुपर्ने, झुम्सा ज्यामीरे सडक स्तरउन्नती गर्नुपर्ने, झुम्सादेखि सिद्धबाबा सम्मका बासिन्दालाई खानेपानीको समस्या रहेकोले सहपरियोजनाको रुपमा दोभानमा खानेपानीको व्यवस्थापन गर्नुपर्ने र कृषि क्षेत्रमा सिंचाईको व्यवस्था उपलब्ध गराउनुपर्ने मागपत्र समेत अर्थमन्त्री पौडेललाई हस्तान्तरण गरेका छन्।

स्थानीयवाशीका मागहरु बुझ्दै अर्थमन्त्री पौडेलले दोभान क्षेत्रको एकदुई वटा मात्र नभई समग्र विकासको जिम्मा आफुले लिने बताए। उनले खानेपानी योजनाका मागका सम्बन्धका बारेमा सबै मागहरु सकारात्मक रहेकाले यी मागहरु सम्बोधन हुने र संगै जोडिएको बुटवलसंगै दोभानको विकासलाई पनि अगाडी बढाईने बताए।
खानेपानी समस्या समाधानको लागि झुम्साका बासीन्दाले बुटवललाई लगाएको गुन कसैले भुल्न नहुने भन्दै बुटवल र दोभानको विकासलाई संगसंगै अघि बढाईने बताए।

अर्थमन्त्री पौडेलले बुटवलवाशीहरु यो खानेपानी आयोजनाको सिघ्र कार्यान्वयनको प्रतिक्ष्ँामा रहेको उल्लेख गर्दै केन्द्रिय तहबाट गर्नुपर्ने केन्द्रिय तहबाट सम्पन्न गर्ने र स्थानीय तहबाट सम्पन्न गर्नुपर्ने कामहरु छिटो सम्पन्न गर्न खानेपानी संस्थानलाई निर्देशन समेत दिए।

अर्थमन्त्री पौडेलले सिद्धबाबाको बैकल्पिक मार्गको खोजि गरेर जोखिम न्यूनिकरण गर्न आफुहरुले केन्द्रिय तवरबाटै पहल कदमी चालेको बताए। उनले सिद्धबाबाको स्थायी समाधान के हुन सक्छ भन्ने विषयमा छलफल भईरहेको उल्लेख गर्दै सुरुङ मार्गको सम्भाव्यता अध्ययनको लागि बजेट समेत छुट्टाईएको बताए।
खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्टले झुम्सा खानेपानी योजनाको काम ७० प्रतिशत सकिएको जानकारी दिए।

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सिद्धबाबाको जोखिम न्यूनिकरणका लागि यस अघि देखिनै सिद्धबाबा क्षेत्रमा बैकल्पिक मार्गको खोजि भईरहेकाले अब छिट्टै नै यसको समाधान हुने विश्वास दिलाए।

५० साल देखि ९ सय भन्दा बढिको ज्यान गईसकेको यो सडकको जोखिम न्यूनिकरणको लागि बैकल्पिक मार्गको विषयमा केन्द्रिय तहबाट गम्भिर रुपमा छलफल भईरहेको र अब छिट्टै नै त्यसको नतिजा समेत आउने बताए।

उद्योगमन्त्री पाण्डेले रकिङ नेटको विकल्प अस्थायी रुपमा भएपनि गर्न सकिने भन्दै अहिले त्यसको प्रक्रिया अगाडि बढेको र स्थायी समाधानको लागि भने उत्तम विकल्प भनेको सुरुङ मार्ग नै हुने बताए।

अवलोकनको क्रममा पश्चिमाञ्चल डिभिजन सडक कार्यालय पोखराका निर्देशक उत्तमलाल प्रधानले सिद्धबाबा सडकको बैकल्पीक मार्गका रुपमा अघि सारिएको सुरुङ मार्गको लागि प्राविधिक र विशेषज्ञको टोलिले कामको प्रकृति, बन्ने समय, लागत स्टमेट गरी ३ महिनामा प्रतिबेदन दिन आफुहरु तयार रहेको बताए।

पाल्पा जिल्लाका स्थानिय विकास अधिकारी कृष्णप्रसाद पाण्डेले सिद्धबाबा सडक पाल्पाको मात्र समस्या नभई समग्र पश्चिमाञ्चलकै समस्या रहेकोले यसको बैकल्पिक उपाय खोज्न सके पाल्पादेखि पोखरा र मुस्ताङ सम्मकै पर्यटकिय बिकासमा समेत टेवा विश्वास व्यक्त गरेका थिए।

Post a Comment

 
Top