१८ मंसिर, काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण काठमाडौंसहित देशभर ग्यासको चरम अभाव छ । धेरैको घरमा चुलो बल्न छाडेको छ । तर, भारतीय सीमा क्षेत्रमा झण्डै साढे चार लाख सिलिण्डर भर्न मिल्ने ग्यास भने भारतीय सीमा क्षेत्रमा लामो समयदेखि अलपत्र छ ।
नेपाल आयल निगमका अनुसार भारतीय सीमा क्षेत्रमा नेपालमा झण्डै ३ सय ५० ग्यास बुलेट अलपत्र परेका छन् । एक बुलेटबाट १२७० सिलिण्डर भर्छ । यस आधारमा साढे ४ लाख सिलिण्डर हुन्छ । अहिले सरकारले विक्री गरे जस्तो आधा सिलिण्डर मात्र भर्ने हो भने झण्डै ९ लाख वटा सिलिण्डरमा आधा ग्यास पुग्नेछ ।
वीरगञ्ज रक्सौल नाकामा अवरोध भएपछि रि-रुट गरेर सुनौलीबाट समेत ल्याउने प्रयास समेत भएको थियो । तर, त्यसमा पनि भारतीय पक्षले पूर्वप्रतिवद्धता अनुुसार सहयोग नगरेको नेपाली अधिकारीहरुको गुनासो छ ।
भारतीय सीमा सुरक्षा बल एसएसबी र भन्सार कार्यालयहरुले विभिन्न बाहना बनाएर भन्सार पास दिन आनाकानी गरेका छन् ।
नेपालगञ्ज नाका केही दिनदेखि तनावमा छ । मधेसी मोर्चाका कार्यकर्ताले सीमामा धर्ना थालेका छन् । भैरहवा नाकामा मधेसी मोर्चाको अवरोध नभएपनि भारतीय पक्ष नै भन्सारले पास गर्न ढिलाइ गरेको छ ।
सुनौली नाकामा मात्र १ सय १७ र रुपैडियामा १८ वटा ग्यास बुलेट अलपत्र परेका छन् । अन्य नाकामा पनि केही बुलेट ग्यास रोकिएका छन् ।
वीरगञ्जमा नाकाबन्दी सुरु भएकै बेलादेखि रोकिएका २ सय ८ वटा बुलेट छन् । यी बुलेटलाई नेपाल आउन रि-रुटको अनुमति दिइएको छैन । रि-रुट गरेर ल्याइएका बुलेटहरु पनि सुनौलीमा भारतले रोकेको छ । रि-रुट गरेर पनि अलपत्र पारिएका बुलेटको संख्या सुनौलीमा मात्रै ५० भन्दा बढी छ ।
बिराटनगर र मेची भन्सारबाट सामान्य संख्यामा बुलेट आइरेकाले पूर्वी क्षेत्रमा अन्य क्षेत्रभन्दा समस्या कम रहेको आयल निगमले जनाएको छ । काठमाडौंमा ग्यास वितरण गर्ने उद्योगका बुलेट आउने सुनौली नाकामा १ सय १७ बुलेट रोकिँदा सबैभन्दा बढी प्रभाव पनि काठमाडौंमा देखिएको छ ।
भारतबाट भित्रिने केही बुलेटमार्फत आधा सिलिन्डर भरेर बजारमा ल्याउने क्रम चलिरहेका बेलामा बुलेट आउनै छोडेपछि थप संकट उत्पन्न भएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइखरलाई बताए । ‘भैरहवाबाट ग्यास नआएको एक हप्ता भन्दा बढी भइसक्यो, बल्ल-बल्ल छोड्दा पनि एक-दुईवटा मात्र आउँछ’ घिमिरेले भने-‘आधा सिलिन्डर ग्यासको वितरण पनि ठप्प भयो । भारतबाट सहज रुपमा ग्यास नआएसम्म वितरण सुरु पनि गर्न सकिँदैन ।’
भैरहवमा नामा गाडी छाड्न ढिलाइ भएको भन्दै भन्सार एजेन्टहरुले कामकाज नै रोकेर आन्दोलन सुरु गरेका छन् ।

Post a Comment

 
Top