Via: Annapurna post

वीरगन्ज : वीरगन्ज रक्सौल नाकाको मितेरीमा धर्ना दिएर नाका ठप्प पारेका मधेसी दलका नेता कार्यकर्ताहरुलाई बुधबार राति भारतीयहरुले आक्रमण गरेर लखेटेका छन् ।

दशगजा क्षेत्रनजिकै रहेको भारत रक्सौलको अहिरवा टोलका भारतीयहरुले धर्नामा बसेका आन्दोलनकारीहरुलाई कुटेर लखेटेका हुन् । भारतीयहरुको कुटाइबाट धर्नामा बसेका मधेसी दलका पाँचजना कार्यकर्ता घाइते भएका छन् ।


घाइते हुनेहरुमा बाराको कलैया नगरपालिकाका सुरेश साह कानु , फेटा–२ का रन्जित साह , दक्षिण झिटकैयाका राम दहिन यादव र नन्दु यादव तथा वीरगन्ज–१३ का फिरोज बाबु खान रहेका छन् ।

उनीहरुमध्ये कानुको अवस्था गम्भीर छ । घाइते पाँचैजनाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

राति नौ बजेतिर रक्सौलको अहिरवा टोलबाट करिब एक सयजनाको संख्यामा लठ्ठी र भाटा बोकेका भारतीयहरुले मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारीमाथि आक्रमण गरेका हुन् ।

भारतीय नागरिकले धर्नास्थलमा आन्दोलनकारीले टाँगेको टेण्ट भत्काउनुका साथैे धर्नास्थलबाट आन्दोलनकारीलाई लखेटेर वीरगन्जतर्फ रोकिएको एउटा भारतीय खाली ट्रकलाई रक्सौल छिराएका छन् ।

नेपालमा सामान खन्याएर भारत फर्कन लागेका खाली भारतीय ट्रकहरु रक्सौल छिराउनकै लागि भारतीयहरुले धर्नामा बसेका आन्दोलनकारीमाथि आक्रमण गरेका हुन् ।

वीरगन्ज भन्सारक्षेत्रमा भारतका २५÷३० वटा खाली ट्रकहरु नाकामा भएको अवरोधका कारण थन्किएर बसेका छन् ।

भारतीयहरुले धर्नास्थलमा बसेकाहरुलाइ कुटपिट गर्दै लखेटेको खबर पाएलगत्तै वीरगन्ज र आसपासको क्षेत्रबाट अरु आन्दोलनकारीहरु बुधबार राति मितेरी पुलमा पुगेर नाका फेरि ठप्प पारेका छन् ।

धर्नामा बसेका अधिकांश आन्दोलनकारीहरु खाना खानको लागि रक्सौलमा सञ्चालित मेसमा गएको मौका छापेर भारतीयहरुले धर्नास्थलमा आक्रमण गरेको धर्नामा बसेका नेपाल सदभावना पार्टी पर्साका सचिव कृष्णा पटेलले बताए ।

‘हामी सबै खाना खान मेसमा गएका थियौँ, धर्नास्थलमा २०-२५ जना साथीहरु बस्नु भएको थियो’। उनले भने, ‘त्यही मौकामा उनिहरुले आक्रमण गरेका हुन् ।’

संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले रक्सौल अरिहवा टोलका केही अराजक तत्वहरुले नेपाल प्रहरीको उस्काहटमा धर्नामा बसेका आन्दोलनकारीमाथि आक्रमण गरेको बताए ।
‘नेपाल प्रहरीले नै भारतीय गुण्डाहरु लगाएर आन्दोलनकारी माथि आक्रमण गर्न लगाएको हो । यसको परिणामा ठीक हुँदैन’, उनले भने ,‘नाका बन्द हुँदा तस्करीको धन्दा चलाउन नपाएकाले नेपाल प्रहरीको उस्काहटमा यो काम गरेका हुन् ।’  

यसअघि गत सोमबार बिहान पनि खाली भारतीय ट्रक रक्सौल छिराउन खोजेका भारतीय चालक र आन्दोलनकारीबीच विवाद भएको थियो ।

सोमबार बिहान ६ बजे तिर धर्नामा बसेका आन्दोलनकारीहरु शौच गर्न गएका बेला वीरगन्जमा रोकिएका भारतीय खाली ट्रकका चालकहरुले गाडी भारततर्फ छिराउन खोजेपछि आन्दोलनकारीसँग विवाद भएको थियो  ।

भारतीय चालकहरुले बिहान ६ बजेतिर आन्दोलनकारीहरु नभएको बेलामा धर्नास्थलमा रहेको टेण्ट जबरजस्ती हटाउन थालेपछि दुवै पक्षबीच विवाद भइ झडप पनि भएको थियो । आन्दोलनकारीहरुले भारत छिर्न नदिएपछि भारतीय चालकले खाली ट्रक मितेरी पुलबाट फर्काएका थिए ।

संविधान निर्माण र सीमांकनको विरोधमा मधेसी दलहरुले वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलमा गत असोज ७ गतेदेखि धर्ना दिइ नाकाठप्प पार्दै आएका छन् ।

Post a Comment

 
Top