मंसिर १९, २०७२- दोलखा सिंगटीका बोधराज
श्रेष्ठ पाँच दिनमा सक्नुपर्ने कामका लागि १३ दिन धाए । घरको हालसाबिक गर्न
कातिक ३० देखि काठमाडौंको मनमैजुस्थित नापी कार्यालय धाइरहे । सहजै काम
गराउन उनले त्यसको जिम्मेवारी लेखनदासलाई दिएका थिए । ती लेखनदासले १५ हजार
मागे । आधा नाप्न जाने सर्भेयरलाई दिने र आधा आफैं राख्ने उनको सोच रहेछ ।
मंसिर १ गते छठको बिदाका दिन सर्भेयर रामप्रमोध कुमार महासेठले मनमैजु ८
‘घ’को कित्ता नम्बर ७१३ मा बनेको घरको नापजाँच गरे ।
मंसिर २ गते फेरि कार्यालय समयपछि महासेठ सँदियारलाई दस्तखत गराउन गए ।
बोधराजले सदियार बोलाएर राखेका थिए । सही गर्ने बेलामा पश्चिम तर्फको जग्गा
धनीलाई महासेठले डर देखाइदिए । भने, ‘तपाईको जग्गा यो घरले मिचेको पनि हुन
सक्छ है ।’
त्यसपछि जग्गा धनी हर्कबहादुर तामाङ झस्किए, दस्तखत गरेनन् । पूर्व तर्फको
घरधनी रुपाकुमारी भट्टराईको चाहि हाल साबिक भइसकेको थियो । उनले दस्तखत
गर्न कुनै आपत्ती जनाइनन् । चौथो दिन सदियार तामाङले पनि दस्तखत गरे ।
त्यसपछि भने महासेठले झुलाउने अर्को बाटो पहिल्याए । ‘तपाईको जग्गाको आकार
पहिले लाम्चो थियो, अहिले घर बन्दा त्यस्तो छैन । समस्या हुने भयो ।’ यसले
बोधराजलाई झस्कायो । लेखनदासले मागेको १५ हजार मध्ये पाच हजार उनले बैना
दिइसकेका थिए । महासेठले अरुलाई लगाउनु पर्दैन म आफै गर्छु भन्दै
लेखनदासबाट फाइल मगाउन लगाए । अनि, काम फत्ते गर्न ७५ हजार रुपैया चाहिने
प्रस्ताव राखे ।
बोधराज हैरान भए । उनी कार्यालय धाएको निकै दिन भइसकेको थियो । ७० बर्षिय
बुबालाई बिहान १० बजे लिएर जान्थे, बेलुकी चार बजे फर्कन्थे ।
१० गते
बिहीबार बिहान फेरि उनी नापी कार्यालय गए । सर्भेयर महासेठलाई भेटे । उनले
७५ हजार भए तत्काल काम गरिदिने आशा फेरि देखाए । आफनो कतै कमजोरी छ की
भन्ने बोधराजले खोजे । फाइलको कागज सबै फोटोकपी गरेर लेखनदास र आफन्तलाई
पनि देखाए । कति दिन धाउने ? दिक्क भएर उनले गुनासो गर्ने ठाउ खोजे । नापी
कार्यालय प्रमुख भेटे, जो सम्बन्धित फाँट वालालाई भेट्न भन्दै पन्छिए । अनि
बोधराजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहार्न आफन्तले सुझाए ।
उनलाई यो सुझाव ठिक लाग्यो । ‘नापीका कर्मचारीले सेवाग्राही छिरेदेखि नै
बार्गेनिङ गर्छन । फिल्ड जानु पर्यो भने दुई हजार भन्दा कम पैसामा जान
मान्दैन,’ उनले सुनाए, ‘यस्तालाई कानुनी कठघरामा ल्याउनु सज्जन नागरिकको
कतब्य ठानें । अनि अख्तियार गुहारें ।’
११ गते शुक्रबार उसैगरी बुबालाई लिएर उनी नापी कार्यालय धाए । ७५ हजार
रुपैया दिएको भोली पल्टै काम गरिदिने आश्वासन फेरि पाए । त्यसपछि घर
फर्किएर बुबालाई छाडेर उनी अख्तियार हानिए । आयोगमा आफनो समस्या सुनाए ।
त्यो दिन चार बजिसकेको थियो । आइतबार ‘स्ट्रिङ अपरेशन’ गर्ने योजना बन्यो ।
...
वोधराजले नापीमा निवेदन दर्ता गरेको १४ औ दिन अर्थात मंसिर १३ गते बोधराजले
महासेठलाई फोन गरे । बेलुका चार बजेसम्म जतिबेला आएपनि काम गरिदिने
महासेठले बताए । अख्तियार टोली दिउँसो १२ बजेपछि वोधराजको बालाजुस्थित घर
पुग्यो, त्यहीँ अपरेसनको योजना बन्यो ।
घुस दिने रकम आयोगले प्रमाणका लागि आफैले ल्याएको रहेछ । हजारको ७५ वटा
नोटको फोटो कपी पनि गरेको रहेछ । उक्त पैसा बोधराजलाई दिएर टोली नापी तिर
अघि बढ्यो । आयोगले बोधराजलाई महासेठसंगको कुराकानी पनि रेकर्ड गर्न
लगाएको थियो । उनीसंगको गतिविधि नियाल्ने छुटटै उपकरण पनि पठाएको थियो ।
आयोग टोली सवा एक बजे नापी कार्यालय पुग्दा सेवाग्राहीको भीड थियो ।
बोधराजले महासेठलाई भेटे । मागेजति रकम पाउने भएपछि महासेठको टोलीले उनको
काम फटाफट गर्यो । आयोग टोली भने कर्मचारीहरुलाई निगरानी गरिरहेको थियो ।
रकम पनि लिने अनि उनको काम पनि टुंग्याउन महासेठ दोस्रो तल्लाको कार्यालय
प्रमुखको कोठा तिर लागे । निमित्त कार्यायल प्रमुख बिजयकुमार यादवलाई
फाइलमा सही गर्न लगाए । अनि महासेठ त्यो कोठाको भित्रपट्टी सर्भर–रुममा
छिरे । त्यहाँ बोधराजले ५० हजार पेश्की लिन आग्रह गरे । लालपुर्जा बनेपछि
थप २५ हजार दिने आश्वासन दिए । पैसा बुझाउँदै गर्दा बोधराजले ढोकैमा बसेको
अख्तियारबाट खटिएका प्रहरीलाई फोन गर्न भ्याए । पैसा बुझाएर बोधराज बाहिर
निस्कने बित्तिकै सिभिलमा खटिएका प्रहरी भित्र छिर्दा महासेठ सर्भर रुमको
ढोका लगाउदै थिए । उक्त कोठामा निमित्त कार्यालय प्रमुख बिजय र महासेठ
मात्रै थिए । कार्यालय प्रमुखको कोठामा सादा पोशाकका प्रहरीले उनलाई बाहिर
जान रोके । केही बेरमै अपरेसनका लागि खटिएका सादा पोशाकका डिएसपीसहित
प्रहरी र कर्मचारी पनि आइपुगे । डिएसपीले आफू अख्तियारबाट आएको परिचय दिए ।
त्यतिञ्जेलसम्म यादव भने कोठाभित्रको गतिविधि थाहै नपाएको जस्तै गरी
सेवाग्राहीको काम गर्न ब्यस्त थिए ।
आयोग टोलीले महासेठलाई सोधपुछ गर्न थाल्यो । बोधराजको काम नियमसंगत
थियो/थिएन ? खल्तीमा कति पैसा छ ? खल्तीमा भएको पैसाको बन्डलमा कति–कतिको
नोट छन् ? कस्तो रबरले बाँधिएको छ ? महासेठले मलिन स्वरमा घर खर्चको लागि
पैसा बोकेको सुनाए । रबरको रंग थाहा नभएको बताए । कतिको नोट छ भन्ने पनि
खुलाउन सकेनन । ज्याकेटको देब्रो तर्फका खल्तीमा राखेको पैसा बारम्बार
निकाल्न खोज्थे । तर आयोग टोलीले एक छिन भन्दै रोकिरहन्थ्यो । टोली
खानतलासी गर्ने पुर्जी दिएपछि मात्रै खल्तीको पैसा निकाल्न चाहन्थ्यो ।
महासेठको शरीर खानतलासी गर्नुअघि नजिकका प्रहरीलाई बोलाइयो । कार्यालयका
सबै कर्मचारी अघि राखियो । वरपरका स्थानीयलाई पनि बोलाइयो । महासेठको
ज्याकेटको देब्रो खल्तीको पैसा बोधराजले दिएको हुन सक्ने टोलीले आकलन थियो ।
तर, उक्त पैसा अर्कै भएको पुष्टि भयो । त्यसपछि थप अनुसन्धान अघि बढ्यो ।
बोधराजले दिएको पैसा उनले कहाँ राखे ?
पैसा लुकाएको ठाउ देखाउन बाम्बार आग्रह गर्यो टोलीले । तर महासेठ तयार
भएनन् । पछि आयोग टोलीले नै खोजी गर्दा सर्भर र वाइफाइको डिभाइस (राउटर)
राखेको ठाउमा फ्याकिएको रहेछ । उनले आफूले राखेको स्वीकार नगरेपछि आयोगले
‘फिङगर प्रिन्ट’ लिने प्रक्रिया अघि बढायो । प्रयोगशालाबाट टोली झिकाइयो ।
त्यसपछि महासेठ आफैले उक्त ठाउमा पैसा निकाले । अनि महासेठको पुरै शरीर
खानतलासी गरियो । ज्याकेटमा ३० हजार रुपैया भेटियो । अनि आयोगले फोटोकपीसँग
त्यो पैसा भिडायो । ५० हजारको बण्डलका सबै नोट आयोगबाटै पठाइएको पाइए ।
टोलीले फोटोकपीमा महसेठलाई उक्त रकम आफनो साथबाट बरामद भएको लेख्न आग्रह
गर्यो । तर, उनले इन्कार गरे । ‘त्यो पैसा मैले राखेकै होइन किन मेरो
साथबाट भन्नु ?’ उनले भने, ‘मेरो साथबाट भन्ने चाहि लेख्न नपरे हुन्थ्यो ।
यसरी लेख्दा त मलाई अफ्ठ्यारो हुन्छ ।’ अनि उनले यसरी लेखे, ‘यस फोटोकपीमा
रातो मसीले ठीक लगाएका नोटहरु कार्यालय प्रमुखको ढोका संगैको कम्प्यूटर
सर्भर राउटर राखिएको स्थानबाट बरामद गरिएको ठी साचो हो ।’
आयोग टोलीले सबै प्रक्रिया पुरा गर्दा साझ साढे ५ बजेको थियो । आयोगले
नियन्त्रणमा लिएर जानुअघि उनले कहाँ लाने हो भन्ने जिज्ञासा राखे । उनका
साथीहरु मिलाउनु पर्छ भन्दै दबाब दिइरहे पनि वोधराजले टेरेनन् ।
Post a Comment