मंसिर १८, २०७२- हुम्लामा दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ। हवाई सेवामार्फत ढुवानी गरिने दैनिक उपभोग्य वस्तुको मूल्य बढेको हो।
सहरकै थोक बिक्रेताले मूल्य बृद्धि गरेको भन्दै स्थानीय खुद्रा व्यपारीले मूल्य बढाएका छन्। हवाई यातायातबाट मात्र ढुवानी हुने हुम्लामा पहिलेदेखि नै महँगी अचाक्ली छ। स्थानीय व्यापारी विष्णु श्रेष्ठका अनुसार पहिले प्रतिलिटर २ सय ८० मा बिक्री हुने धारा तेल ३ सय ६० र प्रतिकिलो १ सय २० मा बिक्री हुँदै आएको मोटा चामल १ सय ५२ रुपैयाँ पुगेको छ।

हवाई भाडा नबढेको भए पनि खरिद गर्दा नै थोक बिक्रेताले बढाएको भन्दै स्थानीय खुद्रा व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका छन्। यो वर्ष स्थानीय उत्पादन घटेको र नेपाल खाद्य संस्थानमार्फत सहुलियत मूल्यमा बिक्री वितरण हुने खाद्यान्न पर्याप्त नहुने भएकाले मूल्य वृद्धि भएपछि स्थानीय मारमा परेका छन्। खाद्यान्न खरिद गर्ने अर्को विकल्प नभएको हुम्लामा भोक टार्नका लागि स्थानीयले मूल्य महँगो भए पनि खरिद गर्न बाध्य छन्।

संस्थानले सरकारको ढुवानी अनुदानका कारण सहुलियत मूल्यमा आपूर्ति गर्दै आएको भए पनि स्थानीयको मागअनुसार पर्याप्त छैन। संस्थानबाट बिक्री वितरण गरिने खाद्यान्न पहुँचवाला र राजनीतिक नेताले मात्र उपभोग गर्ने गरेको सर्वसाधारणले आरोप लगाउँदै आएका छन्।

‘हामीलाई आवश्यक परेको समयमा संस्थानको चामल पाउँदैनौं। जसको पहुँच छ उसैलै पाउँछ। त्यसैले भोक टार्न महँगो भए पनि स्थानीय व्यापारीले बिक्री गर्ने चामल खरिद गर्न बाध्य छौं,’ डाडाफया निवासी आपजंग शाहीले भने। पहिले चीनबाट मैदा ल्याएर भोक टार्ने गरे पनि चिनियाँ मुद्राको सटरी दर बढेकाले मैदा खरिद गरी ल्याउँदा झनै महँगो पर्ने भएकाले स्थानीय बजारबाटै चामल खरिद गर्नुपरेको उनको भनाइ छ।






Post a Comment

 
Top