२५ मंसिर, काठमाडौं । भारतीय आयल निगम (आइओसी)का मार्केटिङ म्यानेजर मोहम्मद सिराजुद्दीन इस्लामिक स्टेट (आइएस)का लागि काम गरेको आरोपमा पक्राउ परेका छन् ।

मोहम्मदले आतंकवादी संगठन आइएसको सिद्धान्तलाई अनलाइन र सामाजिक सञ्जालमार्फत प्रचार-प्रसार गरेको तथा युवाहरुलाई आइएसमा लाग्न उत्प्रेरित गरेको भारतीय प्रहरीले जनाएको छ ।

कर्नाटकका ३० वर्षीय मोहम्मद सिराजुद्दीनलाई एन्टी टेरोरिस्ट स्क्वाड (एटीएस)ले जयपुरबाट बिहीबार पक्राउ गरेको हो । एटीएसका अनुसार मुस्लिम युवाहरुलाई आइएसमा लाग्नका निम्ति प्रोत्साहन गर्न उनले इन्टरनेटका विभिन्न समुह र फोरमहरु प्रयोग गर्दै आएका थिए । उनको अनलाइन क्रियाकलापको तथ्यांक विश्लेषण गरेर आइएसका लागि काम गरेको एकिन भएपछि मात्रै पक्राउ गरएको एटिएसको दाबी छ ।

‘उनी आइएसमा मान्छे भर्ती गरिरहेका थिए भन्दा फरक पर्दैन । उनले ह्वाट्सएप, टेलिग्राम, फेसबुक र अन्य सामाजिक सञ्जालमा गु्रप बनाएर आइएसका सिद्धान्तहरुको प्रचार-प्रसार गरिरहेको पाइयो ।’ एटीएसका डीजीपी आलोक त्रिपाठीले भने ।

सिराजुद्दीनले आफूमाथिको आरोप स्वीकार गरिसकेको समेत उनले बताए । अरु कोको व्यक्तिहरु उनीसित यस कार्यमा जोडिएका छन् भन्ने विषयमा खोजी भइहेको उल्लेख गर्दै त्रिपाठीले सिराजुद्दिनलाई तत्कालै म्याजिस्ट्रेटसामु पेस गर्ने जनाएका छन् ।

प्रहरीले सिराजुद्दिनको जयपुरस्थित निवासबाट ल्यापटप र आइएसका जर्नलहरु बरामद गरेको छ । एटीएस स्रोतले उनी अनलाइनमार्फत आइएससित जोडिएको र हाल यसको सक्रिय सदस्य रहेको दाबी गरेको छ ।

उनी आफ्नी श्रीमती र बच्चासहित २०१४ देखि जयपुरमा बस्न थालेका थिए । विगत तीन महिनायता भने उनी एक्लै थिए ।

स्रोत : इण्डियन एक्सप्रेसबाट

Post a Comment

 
Top