नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चा आन्दोलनमा होमिएको शुक्रबार चार महिना पुगेको छ। साउन ३० देखि सुरू भएको आन्दोलन चार महिनामा प्रवेश गर्दा तराइका जिल्लामा जनजीवन निकै कष्टकर बनेको छ।

महिनौदेखी जारी आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिनादेखि आन्दोलन गर्दै आएका मोर्चाका स्थानीय नेता कार्यकर्ता निरास छन्।
वीरगन्ज रक्सौल नाकाको मितेरी पुल, रौतहटको सदरमुकाम गौर बैरगनिया नाकाको मितेरीपुल र सर्लाहीको मलंगवा–सोनवर्सा नाका अवरुद्ध पारेर २४ सै घण्टा धर्ना बसेका मोर्चाका कार्यकर्ता राज्यले मागप्रति चासो नदेखाउँदा आन्दोलन कति दिनसम्म गरिरहने भनेर दिक्क भएको बताउँछन्।

आन्दोलन उचाइमा पुगेको बेला बाराको मटिअर्वा, कबहीगोठ, रौहतटको औरैया, बंकुल नाका अवरुद्ध पारेर धर्ना भएको थियो। महिनौंसम्म आन्दोलन गर्दा पनि कुनै सुनवाइ नभएपछि मोर्चा कार्यकर्ताहरु आजित भएर दुई सातादेखी टेन्ट हटाएका छन्। त्यहाँ अहिले उनीहरूको धर्ना छैन। मधेसी मोर्चाका शीर्ष तीन नेताहरुको गृह जिल्ला सर्लाहीको मलंगवा–सोनवर्सा मुख्य नाकाको टेन्ट समेत एक सातादेखि हटाइएको छ।

सदभावना अध्यक्ष राजेन्द्र महतो, तराइ मधेस लोकतान्त्रिक पाटीका अध्यक्ष महन्थ ठाकुर र तराइ मधेस सदभावनाका अध्यक्ष महेन्द्र यादवको गृह जिल्ला सर्लाहीमा आन्दोलन सिथिल छ। त्यहाँ स्कुल, कलेज, बजार, पसल पूर्ण रुपमा खुला छन्।

मलंगवा–सोनवर्सा नाका बन्द गरेर बीच सडकमै खडा गरिएको टेन्ट आन्दोलनरत मोर्चाले एकहप्ता अघि आफैँ हटाएको छ। त्यसपछि नाका सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी रामेस खड्काले नागरिकन्युजलाई बताए।

’नाकाको टेण्ट उहाहरुले आफै हटाउनु भएको छ’ डिएसपि खडाकाले भने ’भारतबाट स्थानीयले इन्धन ल्याउँदा कुनै बेला मोर्चा कार्यकर्ताले अवरोध गर्ने गरेका छन्’ उनले भने ‘आन्दोलनको राप अचेल कम हुँदै गएको महसुस भएको छ।’

बारा पटेरीया निवासी सदभावना पार्टीका जिल्ला सदस्य संजय साह आफ्नो सबै काम छाडेर आन्दोलनमा लागेको बताउँछन्। ’नाकाबन्दी शुरु भएदेखि पुलमा धर्ना दिँदै आयौं,’ साहले भने ’यति लामो आन्दोलन हुँदा पनि माग सुनवाई नभएपछि धेरै साथीहरू निरास भएर आन्दोलनमा आउन छाडेका छन्।’

हिजोआज वीरगञ्ज धर्नामा न्युन उपस्थिति देखिन्छ। पर्सादेखि सप्तरीसम्मका धर्ना र आन्दोलनमा उपस्थिति झनै कमजोर छ।

’सरकारले अविलम्ब मोर्चासँगको वार्तालाई निरन्तरता दिनुपर्छ,’ मधेस मामिसलामा दख्खल राख्ने राजनीतिक बिष्लेशक विजयकान्त कर्ण भन्छन, ’आन्दोलनका जायज माग पूरा गरिएन भने विरोधका अर्कै रूपहरू उब्जन सक्छन्।’ राज्ले मधेसी जनता पनि नेपाली हुन भन्ने व्यवहार देखाउनु पर्ने विश्लेशक कर्णको भनाइ छ। उनले जनता खेती किसानीमा लागेकोले उपस्थिति कम भएको बताउँछन्।

महँगीसँगै तराईमा ब्यापक कालोबजारी भइरहेको छ। किसानहरुले खेत जोत्न नपाएर गहुँ, मसुरो र तेलहन बाली समेत समयमा लगाउन पाएका छैनन्। आन्दोलनले किसानलाई ठूलो संकट परेको जेष्ठ नागरिक संघका अध्यक्ष बिजय किशोर झाले बताए। स्रोत नागरिक अनलाइन

Post a Comment

 
Top