मंसिर २४, २०७२- पछिल्लो समयमा जोगबनी नाकाबाट सामान्य अवस्थाको झै आयात निर्यात हुन थालेपछि राजश्व असुली पनि सामान्य अवस्थाकै सरह हुन थालेको छ । सामान्य अवस्थामा यो नाकावाट मासिक सरदर १ अर्ब ६० करोड राजश्व असुली हुन्थ्यो । नाकाबन्दी सुरुवाती महिना असोज छाडेर कात्तिक र मंसिरमा लक्ष्य अनुसारको राजश्व असुली भएको विराटनर भन्सारले जनाएको छ ।

सामान्य अवस्थामा यो नाकावाट दैनिक सरदर अढाई सय मालवहाक ट्रक, कन्टेनर र ४० टयांकर पेट्रोलियम पदार्थको आयात हुन्थ्यो । कात्तिक दोस्रोसातादेखि त्यही अनुपातमा मालवहाक ट्रक, कन्टेनर र पेट्रोलियम पदार्थ भित्रिन थालेको विराटनगर भन्सारले जनाएका छ ।

बिहिबार दिउँसोसम्ममा यो नाकाबाट ४१ ट्यांकर इन्धन सहित १ सय १३ वटा मालवहाक ट्रक भित्रिएका छन् । भन्सारका अनुसार बिहिबार डिजेलका २१, पेट्रोलका ६ ट्यांकर र एलपी ग्याँसका १४ बुलेट भित्रिएका छन् ।

बुधबार पनि डिजेलका ३२, पेट्रोलका ८ ट्यांकर र एलपी ग्याँसको एउटा बुलेट सहित २ सय ९७ वटा मालवहाक ट्रक भित्रिएका थिए । भारतले असोज ७ देखि अघोषित नाकाबन्दी गरेपछि यो नाकाबाट १८ असोजसम्म आयात निर्यात ठप्प भएको थियो । १९ असोजदेखि निकासी पैठारी सुरु भएको यो नाका यसबेला सहज रहेको भन्सारको भनाई छ ।

नाकाबन्दी पछि मंसिर तेस्रोसातासम्ममा जोगबनी नाकाबाट औद्योगिक कच्चा पदार्थ, व्यापारिक सामान र इन्धन बोकेका ट्यांकर सहित ९ हजार भन्दाबढी मालवहाक ट्रक, कन्टेनर र ट्यांकर भित्रिएको विराटनगर भन्सारको तथ्याङ्क छ । भन्सारले यस अवधीमा ४ अर्बभन्दा बढी राजश्व पनि असुली गरेको छ । भन्सारले असोजदेखि मंसिरसम्ममा ४ अर्ब ९४ करोड राजश्व असुली गर्ने लक्ष्य राखेको थियो ।

अघोािषत नाकाबन्दीपछि मंसिर तेस्रोसातासम्ममा जोगबनी नाकावाट पेट्रोल ६४ लाख ३६ हजार लिटर, डिजल १ करोड ९० लाख २० हजार लिटर र खाना पकाउने ग्याँस ४० लाख ७२ हजार केजी भित्रिएको भन्सारको तथ्याङ्क छ ।

अघोषित नाकाबन्दीको सुरुवातमा असोज ७ देखि १८ गतेसम्म यो नाकावाट निकासी पैठारी ठप्प रह्यो । विराटनगर भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले भने त्यसयता मंसिर तेस्रोसातासम्म यहाँबाट सहज रुपमा निकासी पैठारी भइरहेको छ । असोज १९ गतेदेखि मसान्त सम्ममा औद्योगिक कच्चापदार्थ, व्यापारिक सामान र इन्धन बोकेका ट्यांकर सहित यो नाकावाट २ हजार २ सय ९१ वटा मालवहाक ट्रक, कन्टेनर र ट्यांकर भित्रिदा ९८ करोड राजश्व असुली भयो । असोजमा १ अर्ब ५४ करोड राजश्व असुली लक्ष्य थियो ।

कात्र्तिकमा १ अर्ब ४५ करोड राजश्व असुली गर्ने लक्ष्य रहेकोमा १ अर्ब ४६ करोड असुली भएको बस्नेतले वताए । उनका अनुसार कात्र्तिकमा मालवहाक ट्रक, कन्टेनर र इन्धनका ट्यांकर सहित ३ हजार ९० वटा मालवहाक ट्रक भित्रिएका थिए । मंसिर तेस्रोसाता सम्ममा यो नाकाबाट ट्यांकर, मालवहाक ट्रक र कन्टेनर गरी ३ हजार ४ सय २० वटा मालवाहक ट्रक भित्रिँदा १ अर्ब ६४ करोड राजश्व असुली भएको बस्नेतले बताए । उनका अनुसार मंसिरमा १ अर्ब ७५ करोड राजश्व असुली लक्ष्य छ ।

अघोािषत नाकाबन्दी यता यो नाकाबाट इन्धन, औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान सहित धानचामल, गहुँ र मकैपनि उल्लेख्य मात्रामा भित्रिएको भन्सारको तथ्याङ्क छ । भन्सारका अनुसार असोज १९ देखि मंसिर तेस्रोसातासम्ममा जोगबनीबाट ३० करोड ९५ लाख ३३ हजार मूल्य बराबरको ८६ लाख ५८ हजार ८ सय केजी धानचामल, २९ करोड ४६ हजार मूल्य बरावरको ९४ करोड २४ लाख ६ हजार केजी मकै र १२ करोड ११ लाख ६ हजार मूल्य बराबरको ४७ लाख ९६ हजार ७५ केजी गहुँ भित्रिएको छ ।

भन्सारका अनुसार नाकाबन्दी यता मंसिर तेस्रो सातासम्ममा यो नाकावाट ११ करोड ८८ लाख ३२ हजार मूल्य वरावरको ६ लाख ४४ हजार ९ सय केजी औषधी आयात भएको छ ।

नेपालगन्ज नाका पनि सहज

नेपालगन्ज नाकाबाट पनि अाज बिहान ३ बजेबाट मालवाहक गाडीहरु सहज रुपमा भित्रिरहेका छन् । दिउँसाेसम्ममा रुपैडिहाबाट १९ डिजेल, ५ पेट्रोल, ३ हवाई इन्धनका ट्यांकर र ७ वटा ग्यासकाे बुलेट सहित २०० वटा जति मालवाहक गाडी भित्रिएकाे छ ।

Post a Comment

 
Top