सुरेन्द्र भण्डारी / झापा २४ मङ्सिर – ‘घर शान्ति नै विश्व शान्तिको आधार, पुनः निर्माण,शिक्षा र समान व्यवहार’ भन्ने मूल नाराका साथ यो वर्षको लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियान आज समापन हुँदैछ ।अभियान भरि झापामा औपचारिक कार्यक्रम दिनहुँ जसो भएपनि महिला हिंसाका घटनामा भने कमी आएको पाइएको छैन । जिल्ला प्रहरी कार्यालय झापाको त्रिवर्षीय तथ्याङ्कलाई हेर्ने हो भने हरेक वर्ष झापामा महिलामाथि हुने हिंसाका घटनामा वृद्धि हुँदै गएको उल्लेख गरिएको छ ।
महिलामाथि हुने हिंसा नियन्त्रणका लागि सरकारले विभिन्न खाले कार्यक्रम ल्याएपनि झापामा त्यो कार्यक्रमको प्रभावकारिता शून्य सरह देखिएको छ । नोभेम्वर २५ तारिकलाई महिला माथि हुने हिंसा विरुद्दको दिवसको रुपमा विश्वभर मनाउँदै आइएको छ । यसरी दिवस मनाउदै आएको पनि यो वर्षसंगै २२ वर्ष पूरा भएको छ ।
गत वर्षहरुमा झापामा १६ दिने अभियान सञ्चालन भइरहँदा महिला हिंसाका घटना वाहिर आएपनि यो वर्ष दिवसको समयमा कुनैपनि अप्रिय घटना भने नघटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।आर्थिक वर्ष २०७०÷०७१ मा जिल्लामा महिलामाथि हुने घरेलु हिंसाको संख्या ४० रहेपनि त्यो बढेर २०७१÷०७२ मा एकसय ३८ पुगेको छ ।
त्यस्तै चालू आर्थिक वर्षको चार महिनामा महिलामाथि हुने हिंसाका घटना ३५ पुगिसकेको जिल्ला प्रहरी कार्यालय झापामा रहेको महिला सेल सामुदायिक सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक रमा चुडालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ६९÷०७० मा ६० वटा महिलामाथि हुने घरेलु हिंसाका घटना जिल्लामा घटेका थिए । आर्थिक वर्ष २०७० ÷२०७१ म्हिलामाथि हुने घरेलु हिंसा केही घटेपनि त्यसयता हरेक वर्ष यस्ता घटना बढ्दै गएको उहाँको भनाई छ ।
महिलामाथि हुने हिंसाका घटनामा घरेलु हिंसासहित विगत तीन वर्षमा जवरजस्ती करणी र जवरजस्ती करणी उद्योगका मुद्दामा पनि प्रत्येक वर्ष वृद्धि हुँदै गएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालू आर्थिक वर्षको चार महिनामा १२ वटा वलात्कारका घटना घटेका छन् भने ८ वटा जवरजस्ती करणीको प्रयास भएको प्रहरी सहायक निरीक्षक चुडालले जानकारी दिनुभयो ।
यता आर्थिक वर्ष २०६९÷०७० मा ३९ वटा महिलामाथि जवरजस्ती करणीका मुद्दा जिल्लामा दर्ता भएका थिए भने १८ वटा जवरजस्तीको प्रयासका मुद्दा दर्ता भएका छन् ।
त्यो दर आर्थिक वर्ष २०७०÷०७१ मा बढेर गएको पाइएको छ । जवरजस्ती करणीका मुद्दा आर्थिक वर्ष २०७०÷०७१ मा ४६ पुगेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै सोही आर्थिक वर्ष जवरजस्ती करणी उद्योगका मुद्दा २२ वटा दर्ता भएका छन् ।
घरेलु हिंसाका घटनामा आर्थिक वर्ष २०७०÷०७१ मा अघिल्लो आर्थिक वर्षको तुलनामा कमी आएपनि जवरजस्ती करणीका मुद्दामा भने कमी आएको छैन् । आर्थिक वर्ष २०७१ ÷०७२ मा महिलामाथि हुने जवरजस्ती करणीका मुद्दामा झन् वृद्धि भएको पाइएको छ भने प्रयासका घटनापनि वढी देखिएको छ ।
आर्थिक वर्ष २०७१÷०७२ मा ५२ वटा जवरजस्ती करणीका मुद्दा दर्ता भएको र जवरजस्ती करणी उद्योगका मुद्दा ३३ वटा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाकी महिला सेल सामुदायिक सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक चुडालले बताउनुभयो ।त्यस्तै वहुविवाहका घटनामा भने कमी आएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६९÷०७० मा ३२ वटा वहु विवाहका मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए ।
जसमा २२ वटा मुद्दालाई कानूनी कारवाही अगाडि वढाइएको थियो भने १२ वटा मिलापत्र भएका थिए । आर्थिक वर्ष २०७०÷०७१ म त्यो दर घटेर २५ मा झरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जसमा २२ वटालाई मुद्दा चलाईको र ३ वटा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा २७ वटा वहुविवाहका मुद्दा दर्ता भएपनि ५ वटा सहमतिमा मिलापत्र भएको प्रहरीले जनाएको छ ।
यो आर्थिक वर्षको चार महिनामा ६ वटा वहु विवाहका मुद्दा दर्ता भएका छन् । मानव वेचविखन सम्वन्धीपनि ६ वटा नै मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यता महिला तथा बालबालिका कार्यालय झापाकी प्रमुख इन्दिरा ओझाले वर्षेनी महिला हिंसाको घटनामा बृद्धि भएको देखिए पनि शिक्षाका कारण धेरै लुकेका घटनाहरु बाहिर आएकाले हिंसा बढेको जस्तो देखिएको बताउनु भयो ।
दिनहुँजसो एक न एक महिला बलात्कृत हुनुपर्ने र उक्त घटनालाई विगतमा ढाकछोप गरिने गरिएपनि अहिले शिक्षाका कारण बाहिर आउने गरेकले हिंसा बढेको जस्तो देखिएको छ उहाँले भन्नुभयो ।
४ महिनामा ७ वटा पुरुष हिंसाका घटना
देशव्यापी रुपमा महिला हिंसाको चर्चा पुलिएपनि झापामा भने पुरुष हिंसाका घटना पनि सार्वजनिक भएका छन् । बढ्दो वैदेसिक रोजगारीका कारण झापामा पुरुषमाथि हुने हिंसाका घटना जिल्ला प्रहरी कार्यालय झापामा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी सहायक निरीक्षक चुडालले बताउनुभयो ।उहाँका अनुसार पुरुष नभएको समयमा श्रीमतीले सम्पत्ति लिएर अर्कै पुरुषसंग गएपछि झापाका ४ महिनामा ७ जना पुरुष हिसांको सिकार भएका हुन् ।
पुरुष हिंसाका कारण सिकार भएका पुरुषको नाम भने जिल्ला प्रहरी कार्यालय झापाले खुलाएको छैन । तर, साउनमा ५ र भदौमा दुई वटा पुरुष हिंसाका घटना झापामा घटेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय झापकी प्रहरी सहायक निरीक्षक चुडालका अनुसार महिलाले सम्पत्ति लिएर हिडेपछि ७ वटा उजुरी परेका छन् ।


Post a Comment

 
Top