काठमाडौं, १९, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा निर्वाचित भएपछि पहिलो पटक आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीको नाममा एभरेष्ट बैंक लिमिटेडमा जम्मा रु सात लाख नगद मौज्दात रहेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा प्राप्त विवरणमा उल्लेख छ ।


यसबाहेक प्रधानमन्त्री ओलीको सम्पत्ति विवरण फारममा उहाँकी श्रीमती राधिका शाक्यको नाममा झापामा १० कट्ठा जग्गा र भक्तपुरमा डेढ रोपनी जग्गाका साथै अढाइतले घर रहेको उल्लेख छ ।

राधिका शाक्यकै नाममा १३- १४ तोला सुनका गरगहना, माछापुच्छ्रे बैंक लिमिटेडमा रु नौ लाख ५० हजार, प्रभु बैंक लिमिटेडमा रु चार लाख ५० हजार र रु १५ लाख बराबरको राष्ट्रिय बचतपत्र रहेको विवरणमा उल्लेख छ । प्रधानमन्त्री ओलीको उक्त सबै सम्पत्ति स्वआर्जन गरी प्राप्त गरेको उल्लेख गरिएको छ ।

कुनै पनि सार्वजनिक पदधारण गरेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सम्पत्ति विवरण पेस गर्नुपर्ने कानुनी प्रावधान छ ।

Post a Comment

 
Top