मंसिर २६, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भएको अवरोधलाई ‘केटाकेटीको भान्छा झगडा’को संज्ञा दिएका छन् । उनले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेसलाई आग्रह पनि गरे ।

एमाले काभ्रे जिल्ला कमिटीको नवौँ जिल्ला अधिवेशनको बनेपामा उद्‍घाटन गर्दै उनले पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी नपाएकै कारण कांग्रेसले संसद अवरोध गरेको आरोप लगाए । ‘भान्छामा केटाकेटीले झगडा दुइटा कुरामा जिद्धि गर्छन्, दाल र भात छुट्टै हुनुपर्छ र अर्को थरीले दाल र भात एकै ठाउँमा हुनुपर्छ,’ उनले भने, ‘अहिले संसदमा कांग्रेस र मधेसी मोर्चाको कुरा एकै छ, संविधान संशोधन र पुनर्निर्माण नभए कांग्रेस मान्दैन, दुबै लैजादा मधेसी मोर्चा मान्दैन ।’ उनले भूकम्पपीडित जनतालाई राहत दिन पुनर्निर्माण विधेयक अघि बढाउँदा कांग्रेसले अबरोध गरेको आरोप लगाए ।

जारी नाकाबन्दी हट्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले आफ्नै पालामा भएको नाकाबन्दी हटाउने कांग्रेसले दाबी गर्नु लाजमर्दो भएको बताए । ‘मैले सपथ ग्रहण गर्दा नाकाबन्दी भएको २० दिन भएको थियो, मधेसमा आगो लागेको थियो, पेट्रोलियम पदार्थको अभाव थियो,’ उनले भने, ‘जसको पालामा नाकाबन्दी सुरु भएको हो, उसैले समस्या समाधान गर्छु भन्नु पत्याउने कुरा हैन ।’

उनले तथ्य र वास्तविकताका आधारमा नै १ बर्षमा लोडसेडिङ अन्तय गर्ने दाबी गर्दै उनले कांग्रेस महाधिवेशनमा रहँदै उपत्यकमा बिजुलीबाट चल्ने कार सञ्चालन गर्ने दाबी गरे । ‘कांग्रेस महाधिवेशनको गुफाबाट निस्कदा राजधानीमा बिजुलीबाट चल्ने कार सञ्चालन हुनेछन्,’ उनले भने, ‘एमालेले भर्खर नेतृत्व पाएको छ, अब विकासले गति लिन्छ ।’

उनले सत्तामा आएपछि प्रधानमन्त्रीले केही नगरेको आरोपको खण्डन गरे । ‘विकासे मुला फल्न त २ महिना लाग्छ,’ उनले भने, ‘मैले पनि सपथ गरेको २ महिनामात्रै भएको छ, अब परिवर्तन देखिन थाल्छ ।’ उनले कांग्रेस लगायतका दललाई घिसारेर संविधान निर्माण सम्भव बनाएको दाबी गरे । सबै लिन खोज्दा कांग्रेसले सबै पद गुमाएको तर्क गर्दै उनले सत्ताबाहिर कांग्रेस ‘फट्याक फट्याक’ भएको बताए ।

Post a Comment

 
Top