२६ मंसिर, काठमाडौं । पुनर्निर्माणसँगै संविधान संशोधन विधेयक पास गर्न मधेसी मोर्चालाई मनाउँछु भनेको कांग्रेसले शनिबार वार्ता नै गरेन । मधेसी मोर्चा पूर्ववत अडानमा कायमै छ र कांग्रेसले पनि अडान नछाडे आइतबार पनि प्राधिकरण विधेयक पास हुने सम्भावना न्यून देखिएको छ ।
मधेसी मोर्चा भूकम्प पीडितका राहतका लागि काम गर्ने पुनर्निर्माण प्राधिकरणसम्वन्धी विधेयक पास गर्न दिन तयार छ । तर, कांग्रेसले पूर्ववर्ती सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक पनि सँगै पेश गर्नुपर्ने माग गरेको छ र उसले बिहीबार संसद नै अवरुद्ध गर्‍यो ।
कांग्रेस मधेसी मोर्चालाई आइतबारसम्ममा मनाउँछु भन्दै समय मागेपछि शुक्रबार संसद बैठक सूचना टाँसेर स्थगित गरियो । तर, शनिबार कांग्रेस र मधेसी मोर्चाका नेताहरुबीच कुनै औपचारिक सम्वाद नै हुन सकेन । मोर्चाका एक नेताले भने-‘आज छलफल गर्ने भन्ने थियो । तर, कांग्रेस कता व्यस्त भयो थाहा भएन ।’
मोर्चाका नेताहरु भने कांग्रेसको प्रस्तावबारे आन्तरिक गरेका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा भएको छलफलले कांग्रेस नेतृत्वको अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक हुवहु स्वीकार्य नहुने दोहोर्‍याएको छ ।
मधेसी मोर्चाले प्राधिकरण विधेयक पास हुन दिने पूर्व प्रतिवद्धतामा कायमै रहने बताएको छ । ‘हिजो भूकम्पको बेला पनि मधेसले सहयोग गरेको हो’ मोर्चाका एक नेताले भने-‘अहिले पनि यो पुनर्निर्माण विधेयक मानवीयतासँग जोडिएकाले पास गर्न सहयोग गर्छौं ।’
आफूहरुले मुटुमाथि ढुंगा राखेर पुनर्निर्माण विधेयक अघि बढाउन तयार भएको तर, कांग्रेसले बखेडा झिकेको मोर्चाका नेताहरुको आरोप छ ।

Post a Comment

 
Top