
![]() |
२० मंसिर, चितवन । मधेसप्रति अनुदार रहेको आरोप मधेसी मोर्चाका नेताबाट खेप्दै आएको नेकपा एमालेले भोलि सोमबारदेखि चितवनको सौराहमा तराई मधेसका २२ जिल्लाका अगुवा कार्यकर्ताहरुको भेला आयोजना गर्दैछ ।
Uml-New-Officeभेलालाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
तराईका २० जिल्ला र अन्य केही जिल्लासमेत गरी दुईदर्जन जिल्लाका अगुवा कार्यकर्ताहरु आइतबारदेखि नै सौराहामा भेला हुन थालिसकेका छन् । भेलाले तराई मधेसबारे एमालेको नीति तय गर्ने र सीमांकनमा देखिएको विवादको समेत साझा निकास खोज्ने नेताहरुले दाबी गरेका छन् ।
भेलामा करिब २७५ जनाको उपस्थिति रहने बताइएको छ । आन्दोलनको प्रभाव रहेका मधेसका ८ जिल्ललाबाट एमाले जिल्ला समितिका पदाधिकारी भेलामा उपस्थित हुने छन् ।
साथै तराईका जिल्लाका सांसदहरु, गत निर्वाचनमा पराजित भएका उम्मेदवारहरु, पूर्वसभासद र जनवर्गीय संगठनका पदाधिकारीसमेत भेलामा सहभागी हुने छन् । प्रधानमन्त्रीले उद्घाटन मन्तव्य दिएपछि बन्दशत्र सुरु हुने छ । मन्दशत्रमा पत्रकारलाई प्रवेश दिइने छैन ।
भेलामा पार्टी महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल र सचिव प्रदीप ज्ञवालीले तीनवटा प्रतिवेदन प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।
भट्टराईका अनुसार महासचिवका तर्फबाट पार्टी नीति, संविधान निर्माणमा एमालेले खेलेको भूमिका एवं अब कसरी अगाडि बढ्ने भन्नेबारे प्रतिवेदन प्रस्तुत हुनेछ भने भुसालबाट समग्र मधेस एवं नेपालको भूराजनीतिक स्थिति, नेपालको राज्य निर्माण प्रक्रिया, अन्तिरराष्ट्रिय स्थिति आदिबारे प्रतिवेदन प्रस्तुत हुने छ । सचिव ज्ञवालीले तराई मधेसको सामाजिक आर्थिक संरचना र पार्टीले लिनुपर्ने नीतिबारे अवधारणा प्रस्तुत गर्ने कार्यक्रम छ ।
दुई दिनसम्म चल्ने कार्यक्रममा तराई मधेसका नेता कार्यकर्ताबाट वस्तुगत स्थिथिबारे रिपोटिङ हुने एमाले सचिव योगेशले अनलाइनखबरलाई जानकारी दिए । उनले भने- ‘हामीले माथिका कुरा सुनाउने भन्द पनि तलका साथीहरुबाट उहाँहरुका कुरा सुन्नका लागि यो दुई दिने भेलाको आयोजना गर्न लागेका हौं ।’
भेलाको दोस्रो दिन मंगलबार भेलाका निश्कर्षहरु सार्वजनिक गरिने सचिव भट्टराईले जानकारी दिए ।
सीमांकनबारे गाँठो फुकाउने दाबी
मधेसी मोर्चासँगको वार्ताको मुख् अल्झन बनिरहेको सीमांकनका विषयमा एमालेको दुई दिने भेलाले समाधानको सूत्र खोजी गर्ने नेताहरुले दाबी गरेका छन् ।
सीमांकन परिमार्जनको कुरो उठ्दा एमालेका केन्द्रीय नेताहरुले सुनसरी र कैलालीको भूभाग चलाउन नहुने अडान खाल्दै आएका छन् । तर, मधेस प्रदेशका एमाले नेता तथा सांसदहरुले मधेशमा दुईवटा प्रदेशहरु बनाइनुपर्ने भन्दै नेतृत्वलाई दबाव दिँदै आएका छन् ।
तर, तराई मधेसलाई पहाडसँग जोडेर प्रदेशहरु बनाइनुपर्ने एमाले नेताहरुको अहिलेसम्मको धारणा छ ।
विगतमा कांग्रेससँग मिलेर ल्याएको सात प्रदेशको प्रस्तावमा भने एमालेले तराई मधेसका जिल्लालाई मात्रै मिलाएर दुईवटा प्रदेश बनाउन सहमति जनाएको थियो । पछि एमाले नेताहरु यो प्रस्तावबाट पछि हटेका थिए ।
यद्यपि चितवन भेलाले सीमांकनबारे पार्टीको साझा धारणा ल्याउने र त्यसले मधेसी मोर्चासँगको सहमतिलाई पनि सहज बनाउने एमाले नेताहरुको दाबी छ ।

![]() |
Post a Comment