Via:Onlinekhabar

सरकारले बहुमत गुमाउने अवस्था सिर्जना हुँदै गएपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीले राप्रपालाई उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय दिने प्रस्ताव गरेका छन् । कम्युनिस्ट नेतृत्वको सरकारमा सामेल हुन नहुने मत राप्रपाभित्र प्रभावशाली बन्दै गएपछि प्रधानमन्त्री ओली आत्तिएका हुन् ।

खासगरी सूर्यबहादुर थापाका छोरा सुनिल थापा समूह सरकारमा सहभागी हुन नहुने विषयमा लबिङमै जुटेको छ । भारतीय इसारामा थापा यसरी लबिङमा जुटेको प्रधानमन्त्री ओलीले राप्रपाका अर्को लबीका नेताहरुलाई बताएका छन् । सरकारमा सामेल हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले राप्रपाका तीनवटै समूहसँग छुट्टाछुट्टै वार्ता गरेका छन् ।

उनले गत मंगलबार लोकेन्द्रबहादुर चन्द र पशुपतिशमशेर राणासँग छुट्टाछुट्टै वार्ता गरेका थिए भने बुधबार डा.प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, नजवराज सुवेदी, बालाराम घर्तीमगर, ध्रुबबहादुर प्रधान, पर्शुराम खापुङलगायतका नेताहरुसँग सामूहिक भेटघाट गरेका थिए ।

समाचार स्रोतका अनुसार तीनवटै समूहसँगको भेटघाटमा ओलीले भारतीय इसारामा सुनिल थापाले राप्रपालार्य सरकारमा सामेल हुन नदिइरहेको सूचना आफूले पाएको भन्दै यसबारे जिज्ञासा राखेका थिए । उनले राप्रपाभित्र स्पष्ट रुपमा तीनवटा समूह रहेको भन्दै तीन समूहबाट एक–एकजनालाई मन्त्री बनाइदिने र यसमध्ये सिनियरलाई उपप्रधानमन्त्री बनाइदिने आश्वासन दिएका थिए । तरुण साप्ताहिकमा खबर छ।

Post a Comment

 
Top