मिडिया एनपी, काठमाडौं, २१ मंसिर ।हाल भारत भ्रमणमा रहेका आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध दल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतले भन्दैमा नेपालमा मधेसी मोर्चाले गर्दै आएको नाकाबन्दी नखोल्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले सीमांकन टुङ्गो नलाग्दासम्म नाकाबन्दी नखोल्ने स्पष्ट पार्दै झापादेखि कञ्चनपुरसम्म मधेसमा दुई प्रदेश हुनुपर्ने अडान दोहोर्याएका छन् ।
प्रमुख तीन दलले भने जस्तो संसदीय वा राजनीतिक समिति गठन गरेर सीमांकनको विवाद टुङग्याउने कुरा आफुहरुलाई मान्य नभएको भन्दै उनले अघिल्लो सरकारले दर्ता गराएको संविधान संसोधन विधेयकले पनि निकास नदिने जिकीर गरे । भ्रमणमा क्रममा भारतीय विदेशमन्त्री शुष्मा स्वराजले नाकाबन्दीको विषयमा सोधेको र आफूले भारतले नभई मधेसीले नाकाबन्दी गरेको स्पष्ट पारेको जानकारी दिदै मधेसको माग पुरा नभएसम्म आन्दोलनबाट ब्याक नहुने बताए ।
यस्तै मोर्चा घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भारतले नाकाबन्दी नगरेको भन्दै मधेसी दलहरुको आमहडतालको कारण असहज अवस्था उत्पन्न भएको बताएका छन । संसदीय र राजनीतिक समिति बनाएर सीमांकन बनाउने कुरा आफूहरुलाई मान्य नहुने स्पष्ट पार्दै उनले समस्या समाधानमा प्रधानमन्त्री केपी शर्मा ओली गंभिर नभएको आरोप लगाए । धमदलासँग कुरा गर्दै ठाकुरले आफूहरुको आन्दोलनमा भारतको साथ र समर्थन रहेको समेत स्पष्टपारे ।
ठाकुरले काठमाडौ फर्किएपछि वार्तामा उपप्रधानमन्त्री कमल थापाले पेश गरेको तीन बुँदे प्र्रस्तावमा छलफल गरेर धारणा बनाउने भन्दै सो प्रस्तावमा समावेशी समानुपातिक, जनसंख्याको आधारमा क्षेत्र निर्धारण, नागरिकता र सीमांकन राजनीतिक समिति बनाएर गर्ने रहेको जानकारी दिए । ठाकुरले आफूहरुले पेश गरेको ११ बुँदे प्रस्तावमा बुँदागत रुपमा छलफल हुनु पर्ने भन्दै अबको सहमति उधारो नभई प्याकेजमै हुनु पर्ने बताए ।


Post a Comment

 
Top