काठमाडौं: भारतीय र पाकिस्तानीको सेटिङमा नेपाली युवालाई अवैध रूपमा रुस पठाउने गिरोह काठमाडौंमा सक्रिय देखिएको छ।

रुसको राजधानी मस्कोमा राम्रो काम र आकर्षक तलब पाउने प्रलोभनमा नेपाली युवा ठगिन थालेका छन्।पछिल्लोपटक कामका लागि रुस हिँडेका बौआगुम्बा पाल्पाका हुमबहादुर राना र दिनबहादुर रानालाई मस्कोस्थित अध्यागमन कार्यालयले फर्काइदिएपछि यसबारे खुलेको हो। रानाद्वय नजिकका नातेदार हुन्।


उनीहरूले भारतको राजधानी नयाँदिल्ली र रुसको राजधानी मस्कोमा रहेका एजेन्टले आफूहरूलाई फसाएको बताए पनि काठमाडौंमा उनीहरूसँग सेटिङ मिलाउने व्यक्तिबारे बताउन मानेनन् । उनीहरूलाई काठमाडौंबाटै दलालहरूले नयाँदिल्ली र मस्कोमा कनेक्सन गराएका थिए।

नेपालस्थित रुसी दूतावासबाट भिसा लिएका रानाद्वय नयाँदिल्लीबाट एयर इन्डियाको जहाज हुँदै मस्को विमानस्थलमा उत्रिएका थिए। नेपालबाट रुसको भिसा लिए पनि काठमाडौंस्थित विमानस्थलमा प्रहरी, अध्यागमन र एयरलाइन्समा सेटिङ मिलाउन झन्झटिलो भएकाले दलालको सुझावअनुरूप उनीहरू नयाँदिल्ली हुँदै मस्को जान सहमत भएका थिए।

रानाद्वय मंसिर २१ गत नयाँदिल्ली हुँदै मस्को उडेका थिए।पर्यटक भिसामा मस्को पुगेका उनीहरूलाई त्यहाँको अध्यागमनले होटेल बुकिङ, घुम्ने खर्चबारे सोधपुछ गर्दा चित्त नबुझेपछि तीन दिन नियन्त्रणमा लिएर नेपाल फर्काइदिएको थियो । पुस ५ गते नयाँदिल्ली फर्कने टिकट लिएको भए पनि अध्यागमनले उनीहरूलाई मस्को छिर्नै दिएन।

अहिले काठमाडौंस्थित अध्यागमन विभागको हिरासतमा रहेका हुमबहादुरले मस्कोमा राम्रो काम पाउने भनेपछि आफूहरू लोभिएको बताए। सुरुमा आफूखुसी गएको दाबी गर्दै आएका रानाद्वयले लामो सोधपुछपछि नयाँदिल्लीमा रहेका इन्डियन र मस्कोमा रहेका पाकिस्तानीको सेटिङमा रुस गएको बताएका छन्।


मस्कोबाट फर्काइएपछि उनीहरूलाई काठमाडौंस्थित विमानस्थल अध्यागमनले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि अध्यागमन विभागमा बुझाएको छ । मस्को पुगेपछि त्यहाँ रहेका पाकिस्तानी दलाललाई ३-३ सय अमेरिकी डलर दिने सहमति भएको थियो। उक्त रकम दिएबापत पाकिस्तानी दलालले जागिर खोजिदिने भनेका थिए। ती पाकिस्तानी दलालले उनीहरूलाई युरोपेली मुलुकसम्म पुर्‍याइदिने आश्वासन पनि दिएका थिए।

पछिल्लो समयमा रुस हुँदै युरोपेली मुलुकमा मानव तस्कर गर्ने गिरोह नेपालमा सक्रिय रहेको स्रोतको दाबी छ। अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले उनीहरूबारे थप अनुसन्धान भइरहेको बताए। 'अन्य युवा आइन्दा नठगिऊन् भन्ने हाम्रो उद्देश्य हो', महानिर्देशक न्यौपानेले अन्नपूर्णसँग भने, ‘अहिले ठगिएकाहरूले वास्तविक कुरा लुकाइदिँदा मानवतस्कर पत्ता लगाउन कठिन भएको छ।'

दोहोरो टिकट साथमै लिएर गएका उनीहरू मस्को प्रवेश गर्न पाएका भए फर्कने थिएनन्। दिनबहादुरले भने, 'मस्को छिरेपछि केही समय उतै लुकेर काम गर्ने योजना थियो।' नयाँदिल्लीबाट एक भारतीय नागरिकले विमानस्थलसम्म पुर्‍याइदिएको र मस्को विमानस्थलमा लिन एक पाकिस्तानी आएको उनीहरूले बताए।


अध्यागमनले पक्राउ गरेपछि उनीहरूको पाकिस्तानी एजेन्टसँग भेट भएन। मस्को प्रस्थान गर्नुअघि भारतीय दलालले त्यहाँको विमानस्थलमा पाकिस्तानी नागरिक लिन आउने जानकारी गराएका थिए। दिनबहादुरले नेपालमा राम्रो काम नपाएपछि वैकल्पिक रोजगारीका लागि मस्को जान लागेको बताए। उनले भने, 'दुःख गरेर कमाएको अलिअलि पैसासमेत फस्यो।'

दलालहरूको सुझावअनुसार रानाद्वयले ५-५ सय अमेरिकी डलर बोकेका थिए। त्यति पैसाले रुसमा घुम्न नपुग्ने र होटेलको समेत पैसा नतिरेको पाइएपछि मस्को अध्यागमनले फर्काइदिएको थियो। केही दिनअघि पनि मस्को छिर्न खोज्ने चार युवालाई त्यहाँको अध्यागमनले फिर्ता पठाएको थियो।

14 Dec 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top