नेपाली सेनालाई अन्तर्राष्ट्रिय भड्खालोमा जाक्ने बिग बोस पोलिसी
मित्रराष्ट्र भारतका एकजना नेपाली बोल्ने अवकाशप्राप्त जर्नेल संयुक्त राष्ट्रसंघअन्तर्गत दक्षिण एसियाली (सार्क) शान्ति सेना खडा गर्ने एजेन्डा लिएर नेपालमा बसेको समाचार सार्वजनिक भएको छ। उनको पछाडि नेपाली सेनाका पूर्वजर्नेलहरूको ताँती लागेको बुझिन्छ। 

भारतीय जर्नेलको यो एजेन्डा सार्क राष्ट्रले मनन गरी भविष्यमा सार्क शान्ति सेना खडा होस् भन्ने मेरो अग्रिम शुभकामना छ। यद्यपि यो एजेन्डामा प्रवेश गर्नुअघि नेपाल सरकार, आम नेपाली र नेपाली सेनाले निम्न पृष्ठभूमिलाई सम्झनु कल्याण हुनेछ-

१. हालसम्म सार्क किन सफल भएन र एकअर्को देशमा भाइचारा किन बढेन, पाकिस्तान र भारतको सम्बन्ध सुधार गर्न यसले के गर्‍यो, नेपालमा हाल नाकाबन्दी लाग्दा पनि यो किन मौन बसेको छ? अहिले सार्कको राजनीतिक स्थिति के छ? यसलाई मनन गर्न जरुरी छ। 

नढाँटी भन्नुपर्दा भारतीय बिग बोस पोलिसीले सार्क राष्ट्रको सम्बन्ध धमिलो छ। यो धमिलो अवस्थामा सार्क शान्ति सेना खडा गर्ने भन्ने एजेन्डा के सार्थक छ? 
      
२. कुनै पनि देश राम्रो नराम्रो हुँदैन तर जनताको संस्कारमा भने मूलको पानी र कुलको छोरी भन्ने आहनजस्तै बानी व्यवहार अवश्य हुन्छ। नेपाल र भारतका जनताबीच रहेको संस्कारमा आकाश-जमिनको फरक छ। 

भारतले नेपाल-अंग्रेज युद्धमा नेपालीलाई हराउन ठूलो धनराशि र अन्य सहयोग अंग्रेजलाई दिएर कुमाउ र गढवालबाट नेपालीलाई लखेटेकै हो। अर्को कुरा, उसले सन् १८५७ मा अंग्रेजविरुद्ध पहिलो भारतीय स्वतन्त्रता संग्राम (सिपाही म्युटिनी) मा नेपालले अंग्रेजलाई सेना सहयोग गरेर स्वतन्त्रता संग्रामलाई दमन गरेको भनी पटक-पटक बोल्दै आएको छ। 

त्यो घटनापछि भारतले नेपाली सेनालाई मित्रभावले हेर्दैन किनकि नेपालीमा बहादुरीपन छ। यो सबै जातिमा हुँदैन। जापान, मंगोलिया, तिब्बती खम्पा, नेपाली जस्ता जातिमा यो सुरोपन छ, जुन भारतीयमा कमी रहेको पाइन्छ। युद्ध हतियारले मात्र लडिन्न, आँट पनि चाहिन्छ। 

नेपालीको आँटबारे भारतीयले राम्रोसँग बुझेका छन्। उदाहरणका लागि सन् १९४७ मा अंग्रेजबाट भारत स्वतन्त्र भएपछि त्यहाँ हिन्दु र मुसलमानबीच ठूलो काटमार भयो, त्यसलाई भारतीय सेनाले नियन्त्रणमा लिन नसकेपछि प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपाल सरकारलाई गुहारेपछि करिब १४ हजार नेपाली सेना भारत पुगी त्यो मारकाट नियन्त्रण गरेको थियो, जसलाई नेपाली सैनिक इतिहासमा हैदराबाद एक्सन भनिएको छ। 

नेपालीको त्यो बहादुरी कामले तत्कालीन भारतीय सैनिकलाई रमाइलो लागेको थिएन किनकि नेपालीले दंगा नियन्त्रण गरेका थिए।३. संसारभर नाम कमाइसकेको र १६१६ सालमा स्थापित नेपाली सेना भारतीय सेनाभन्दा तीन सय ८८ वर्ष जेठो थियो त्यसबेला। 

वास्तवमा नेपाली (गोर्खाली) सेनाको कारणले नै नेपाल पश्चिमी मुलुकमा प्रख्यात थियो। जर्मन, इटली, बेलायतजस्ता शक्तिशाली देशहरूले नेपालसँग सम्बन्ध राख्न प्रयास गरेका थिए। यो पृष्ठभूमिमा जब २००७ साल फागुनमा नेपालमा प्रजातन्त्र आयो त्यसको केही महिनापछि नै विभिन्न विज्ञको रूपमा थुप्रै भारतीय नेपाल भित्रिए। त्यसमध्ये एउटा थियो: सैनिक सल्लाहकार टोली। 

नेपाली राजनीतिमा भारतीय प्रभुत्व बढाउन रेड कार्पेट ओछ्याउने व्यक्ति राजा त्रिभुवन नै थिए। अब भारतीय सैनिक टोलीले सबैभन्दा पहिला नेपाली सेनालाई आँखा लगाई ४२ हजारबाट घटाएर नौ हजारमा झारियो अनि अर्को वर्षदेखि नेपालमा सुरक्षास्थिति कमजोर भयो भने ट्रेनिङ टिम र निर्माण गर्ने टोलीको नाममा नेपालभर भारतीय सैनिक तैनाथ गरिए। 
नेपालको परराष्ट्र नीतिको सफल पाटो भनेको नेपाली शान्ति सेना÷प्रहरीको भूमिका नै हो। यसमा हाम्रो आफ्नै सफल इतिहास छ। हाल भएको शान्ति सेनाको संख्यालाई चार गुना बढाए हुन्छ। नेपाली सेनाको मनोबल बढाउने मुख्य पक्ष भनेको यही शान्ति सेना हो। तर भारतीय पहलमा सार्क पिस किपिङ फोर्स गठन गरी त्यसभित्र नेपालको उन्नति होला?
यो उनीहरूको उतैबाट बनाइएको रणनीति थियो। नेपाललाई चाहिएर नौ हजार सेना राखिएको थिएन। राजा महेन्द्र नजन्मेको भए र राजा त्रिभुवनको दीर्घायु भएको भए सायद नेपालमा भारतीय सेनामात्र हैन, भारतीय झन्डा नै फहराइने थियो।

४. बिग बोस पोलिसीले नेपालविरुद्ध भारतले लगाएको नाकाबन्दीको बयान गरेर सकिँदैन। यो कुलको छोरी र मूलको पानी भनेजस्तै हो। भारत कुलको छोरी कहिल्यै भएन। तत्कालीन माओवादी युद्धमा नेपाली सेनालाई घुँडा टेकाउन भारतले हतियार, गोली, बमलगायतका सामान रोकिदिएको र नेपालले जर्मनलगायतका राष्ट्रहरूमा हतियार खरिद गर्न खोज्दा सफल हुन नदिएको हाम्रा पूर्वजर्नेल सा'बहरूलाई राम्रै थाहा छ। 

तर भारतमा काम नलाग्ने ठहरिएको इन्सास राइफल भने नेपाली सेनालाई भिडाउन भारतले ठूलै कसरत गर्‍यो। तर राजा ज्ञानेन्द्रले ठाडै अस्वीकार गरेका थिए। दुर्भाग्यवश, भर्खरै अवकाशप्राप्त प्रधानसेनापतिले ठूलो परिणाममा इन्सास राइफल नेपाली सेनामा भित्र्याए, किन यस्तो भयो इतिहासले नै जबाफ दिनेछ।

५. राजा वीरेन्द्र पहिलोपटक सार्कको अध्यक्ष हुँदा माल्दिभ्समा केही आतंककारी÷विद्रोहीले गडबड गरेपछि त्यहाँको राष्ट्रपतिको अनुरोधमा शान्ति कायम गर्न करिब १५० जनाको नेपाली सेनाको टोली (लेखकसहित) तुरुन्तै माल्दिभ्स उड्ने गरी भैरवनाथ गण महारजगन्ज ब्यारेकमा सामेल भयो। 

सो कुरो भारतले थाहा पाएको रहेछ र सार्कको अध्यक्षको स्वीकृतिबिना नै भारतले आफ्नो फौज माल्दिभ्स उतारेको थियो। यता नेपाली सेना हेरेको हेर्‍यै भयो। सायद यो असल मित्रराष्ट्रले गर्ने व्यवहार थिएन।

६. अर्को कुरा, राजा वीरेन्द्रको पालामा २०४५-४६ सालतिर भारतीय सेनाका लडाकु विमानले जानाजानी नेपाललाई हेपेर नेपालभित्र उडान भर्न थाले। हरेक माध्यमबाट भारतीयहरूलाई त्यसो नगर्न अनुरोध गर्दा पनि टेरेन। 

कतिसम्म भयो भने राजा वीरेन्द्रको क्षेत्रीय सवारी भ्रमणमा सेती-महाकाली अञ्चलका तराईका जिल्लामा जिल्लाबासीका तर्फबाट राजाले अभिनन्दन लिने कार्यक्रममा राजालाई हेपेर उनकै टाउकोमाथिबाट भारतीय लडाकु विमानले 'ओभर फ्लाइ' गरेपछि उनी गम्भीर भए। त्यसपछि नेपाल सरकारले चीनबाट 'एन्टी एअरक्रफ्ट गन' किनेको थियो। त्यसपछि भारतीय लडाकु विमानले नेपालभित्रको उडान रोकेका थिए।

७. अर्को कुरा, हाल भारतीय र नेपाली शान्ति सेना तैनाथ भएका देशहरूमा भारतले नेपाललाई कस्तो व्यवहार गरेको छ भन्ने नेपाली सेनाबाट सल्लाह लिन जरुरी छ। रमाइलो पक्ष के हो भने केही वर्षअगाडि मात्र नेपाली बोल्ने तिनै भारतीय पूर्वजर्नेलले लेखेको 'द माओइस्ट इन्सर्जेन्सी एन्ड द रोयल नेपाल आर्मी' नामक पुस्तकले नेपाली सेनाको मर्यादामा ठूलो चोट पुर्‍याएको छ। 

तिनै जर्नेलले हिजोआज नेपाली टेलिभिजनमार्फत नेपाली सेनामा मधेसी फौजलाई स्थान दिनुपर्ने, संघीयताको लागि झापा, मोरङ र सुनसरी दुई नम्बर प्रदेशमा र कैलाली कन्चनपुर थारूहरूलाई दिनुपर्ने, भारतले नेपालमा नाकाबन्दी लगाएको होइन भनी नेपालीलाई पढाइरहेका छन्। के यो आन्तरिक मामिलामा हस्तक्षेप हैन र?

अब अहिले तीनै भारतीय जर्नेल सार्क शान्ति सेनाको अवधारणा बनाउने जननी पनि बनेका छन्। सुनिँदै छ-त्यो धारणाको पछाडि नेपाली सेनाबाट पेन्सन खाने, शान्ति सेनाको पैसाबाट खडा भएको सैनिक कल्याणकारी बोर्डबाट भत्ता खानेहरू समेत लागिपरेका छन्। 

उहाँहरूलाई अनुरोध छ-बहालमा छँदा पनि सेनाभित्र गुटबन्दी, तेरो मेरो गरी सैनिक मर्यादा बिगारेका थिए, हाल आएर पनि विभिन्न आईएनजीओको सेमीनारमा रणनीतिज्ञ बन्नुभएको देखिन्छ। तर हाल राष्ट्रिय सुरक्षाका लागि र भारतले नाकाबन्दी लगाउँदासम्म पनि केही बोल्नु हुन्न, कृपया 'ट्र्याक-२ डिप्लोमेसी' मार्फत नेपाल सरकारलाई सहयोग गर्नुस्। उदाहरणका लागि तपाईंहामी जस्तै भारतीय सेनाका पूर्वजर्नेल आज पनि नेपालभित्र बसेर भारतीय रणनीतिको वकालत गरिरहेका छन्।

अन्त्यमा नेपालको परराष्ट्र नीतिको सफल पाटो भनेको नेपाली शान्ति सेना÷प्रहरीको भूमिका नै हो। यसमा हाम्रो आफ्नो सफल इतिहास छ। हाल भएको शान्ति सेनाको संख्यालाई चार गुना बढाए हुन्छ। नेपाली सेनाको मनोबल बढाउने मुख्य पक्ष भनेको यही शान्ति सेना हो।

यसर्थ माथि उल्लेख गरिएका भारतीय ऐतिहासिक पृष्ठभूमिमा हाल आएर भारतीय पहलमा नै सार्क पिस किपिङ फोर्स गठन गरी त्यसभित्र नेपालको उन्नति वा अवन्नति के होला ? गम्भीर विषय रहेको छ। 

प्रस्टसँग विश्लेषण गर्दा भारतीय संस्कार केलाउने हो भने सार्क पिस किपिङ फोर्समा पनि बिग बोस पोलिसी हाबी हुनेछ भन्ने कुरालाई नकार्न सकिन्न। जसको परिणाम नेपाली सेनालाई शान्ति सेनामार्फत कुनै अन्तर्राष्ट्रिय भड्खालोमा जाकिनेछ र यसलाई शान्ति सेनाको क्षेत्रमा खोटो मोहर बनाउन सकिने सम्भावना देखिन्छ।

Post a Comment

 
Top