मंसिर २२, २०७२- हिजो सोमबार भारतको उपल्लो सदन राज्यसभामा भएको ‘नेपाल बहस’मा उठेका प्रश्नहरुको भारतीय विदेश मन्त्री सुष्मा स्वराजले जवाफ दिएकी थिइन् । कांग्रेस नेता करण सिंह, मणिशंकर अय्यर तथा जनता दल युनाइटेडका अध्यक्ष शरद यादव लगायत १४ सांसदले नेपालको विषयमा गरेका टिप्पणी र प्रश्नहरुको जवाफ दिँदै स्वराजले अहिले नेपाल माथिको नाकाबन्दी पहिलो नभएको बताइन् ।

उनले राजीव गान्धीको शासनकालमा सन् १९८९ मार्चदेखि १९९० जुनसम्म सवा वर्षसम्म नेपालमाथि भारतले नाकाबन्दी लगाएको बताइन् ।

उनले सांसद सलिम अन्सारीले गरेको प्रश्नको जवाफ दिने क्रममा भारतले नेपाल माथि अहिले लगाएको नाकाबन्दी पहिलो नभएको बताएकी हुन् । ‘म राजीव गान्धीको नाम लिन चाहिरहेकी थिइनँ । तर, यहाँ राजीव गान्धीको नाम अर्कै सन्दर्भमा लिइयो । उनकै शासनकालमा नेपाल माथि सवा वर्ष नाकाबन्दी लगाइएको थियो,’ उनले भनिन्, ‘ट्ेरड ट्रिटीको विषयलाई लिएरै उक्त नाकाबन्दी गरिएको थियो । अहिलेको पहिलो होइन ।’


Post a Comment

 
Top