विराटनगर: झापा, मोरङ र सुनसरीको नेपाल-भारत सीमा क्षेत्रमा सीमास्तम्भ (जंगेपिलर) मर्मत गर्ने र दशगजाको अतिक्रमण हटाउन बारम्बार सहमति भए पनि कार्यान्वयन भने हुन सकेको छैन्। विराटनगरमा पछिल्लो पटक सोमबार दुई देशका अधिकारीबीच पुनः बिग्रिएका भए स्तम्भ फेर्ने, मर्मत गर्ने र कामै नलाग्ने भए नयाँ बनाउने सहमति भएको छ।

यसअघि पनि यस्तै सहमति गरेका दुबै देशका अधिकारीले तत्कालै काम थाल्ने बताएका थिए। अघिल्लो वर्ष माघ र कात्तिममा भएका बैठकले पनि सीमा दुरुस्त पार्ने र सीमा अतिक्रमण हटाउने सहमति गरेको थियो। बैठकपछि दुबै देशका अधिकारीले सहमतिपत्र साटासाट गरेका थिए।

सोमबार बैठकपछि पत्रकार सम्मेलनमा भारतको अररिया जिल्लाका डिस्ट्रिक मेजिस्ट्रेट हिमांशु शर्माले भने, ‘काम सुरु भएको ५ महिना भित्रमा नेपाली प्राविधिक टोलीको सहयोगमा भारतीय पक्षले काम सम्पन्न गर्नेछन्।' उनले सीमा स्तम्भ दुरुस्त बनाउन र सीमाको अवरोध हटाउन भारतीय पक्ष गम्भीर भएको बताएका छन्। जोगबनी बजार क्षेत्रको दशगजामा निर्माण भएका पसल तथ कवल हटाउने पनि उनले आश्वासन दिए।

सीमा क्षेत्र दुरुस्त बनाउन र ग्लोबल नेभिगेसन स्याटलाईट सिस्टमबाट निगरानी गर्ने गरी काम हुने बताउँदै मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले भने, ‘सीमा क्षेत्रमा देखिएका अतिक्रमणलाई पनि क्रमस हल गर्दै लौजान हामी प्रतिवद्ध छौं।' सीमामा नेपालको तर्फबाट नापी विभागका मुख्य सर्भे अफिसर सुशील ढंगोल र भारतका ताहिर मुस्तफा नेतृत्वको टोलीले सीमा सर्भेको काम गरिरहेको छ।

झापा जिल्लाको १०१ नम्बरको पिलरदेखि काम सुरु गर्ने तयारी रहेको बताइएको छ।सुनसरीको २११÷१ सीमा स्तम्भबाट मर्मतको काम फागुन ११ गतेबाट थाल्ने प्रजिअ कार्कीले बताए।

बैठकले झापाका ११८ किलोमिटर, मोरंगको ५३ किलोमिटर र सुनसरीका ६३ किलोमिटर गरी २४३ किलोमिटर क्षेत्रको सीमा क्षेत्रमा नयाँ सीमास्तम्भको स्थापना, क्षतिग्रस्त सीमास्तम्भको मर्मत गर्ने र दशगजा क्षेत्रमा निर्माण गरिएका घरटहरा र खनजोत गरिएका जग्गाको तथ्यांक सङ्कलन गर्ने र अतिक्रमित दशगजा क्षेत्र खाली गर्ने पनि सहमति गरेको छ।

विराटनगरको भट्टा चौकमा रहेको ग्रामिण पुन निर्माण संस्था (आरआरएन) को सभा हलमा सम्पन्न बैठकमा नेपालका तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की, झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, तीनवटै जिल्लाका प्रहरी प्रमुखहरू र सशस्त्रको सीमा सुरक्षा कार्यायलका प्रमुखहरूको उपस्थिति थियो।

भारतका तर्फबाट अररिया, सुपौल र किसनगञ्जका जिल्ला प्रमुखहरू हिमांशु शर्मा, रामचन्धुधु र रामजी साह तथा भारतीय सीमा सुरक्षा बल (एसएसएबी) का प्रमुख र भारतीय प्रहरीका अधिकारी सहभागी थिए।

एसएसबी क्याम्प हटाउन अटेर
नेपाल र भारतको सीमाना जोगवनीस्थित दशगजा क्षेत्रभित्र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अस्थायी रूपमा खडा गरेको क्याम्प हटाउन अटेर गरेको छ। एसएसबीले बलमिच्याइँ गर्दै विराटनगरमो जोगबनी क्षेत्रमा दशगजामै त्रिपाल टाँगेर क्याम्प खडा गरेको छ।

 बिहारको चुनावलाई मध्यनजर गरेर खडा गरिएको भनिएको क्याम्प निर्वाचनको परिणाम आएको धेरै दिन बितिसक्दा पनि हटाइएको छैन्।दुई देशको सीमाना छुट्याउन गाडिएको पिलर छेउमै एसएसबीले क्याम्प खडा गरेको हो।

दशगजा भित्र पर्ने विराटनगरबाट जोगवनी प्रवेशका लागि निर्माण गरिएको गेटदेखि भित्र पट्टीको भागमा टेन्ट टाँगिएको छ । क्याम्प र नेपाली भू-भागमा गाडिएको पिलरको दुरी लगभग दुई मिटर मात्र छ।

नेपाल-भारत सीमानाको दशगजा क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएको भौतिक संचालन तत्काल हटाउने विषयमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच छलफल भएको र सोमबार भएको द्विपक्षीय बैठकपछि अनौपचारिक छलपलमा पनि कुरा उठाइएको मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताए।
उनले भने, 'अनौपचारिक रूपमा भएको छलफलमा सीमामा बनाइएको क्याम्प, नेपाली सीमाभित्र आएर सुरक्षाकर्मीबाट भएका गल्ती आदि विषयमा पनि कुरा उठाइएको छ।' विराटनगरमा माधेशी मोर्चाका कार्यकर्तासँगको झडपका क्रममा नेपाल प्रहरीका असईको बन्दुक खोसेको विषयमा पनि छलफल भएको बताइएको छ। हतियार एसएसबीले फिर्ता गरेका छैनन्।

एसएसबी गतिविधि प्रति असन्तुष्टि
पछिल्लो पटक भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले नेपालमा प्रवेश गर्दै गरेको गतिविधि प्रति नेपाली अधिकारीले असन्तुष्टि व्यक्त गर्दै सचेत गराएका छन्। नेपाल-भारतका सुरक्षा अधिकारीबीच विराटनगरमा भएको छलफलमा नेपाली पक्षले पछिल्ला गतिविधिले जनस्तरमा भएको सम्बन्धसमेत बिग्रने भन्दै भारतीय पक्षलाई सचेत गराएको हो।

विरानगरमा सोमबार सीमाको संयुक्त सर्वेक्षण टोली(एफएसटी) को बैठकपछि सुरक्षा अधिकारीको अनौपचारिक बैठकमा नेपाली पक्षले सुनसरीमा एसएसबीले गोली हानेको र झापामा हतियारसहित नेपाल प्रवेश गरेको विषय उठाएका थिए। मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले भने, ‘अनौपचारिक रूपमा हामीले उताका सुरक्षा अधिकारीसँग छलफल गरगेका हौं।यस्ता गतिविधिले समस्या आउने विषयमा सचेत गराइएको छ।'

छलफलमा एसएसबीको अररियास्थित ५७ औं बटालियनका प्रमुख निरज चन्द पनि सहभागी थिए।एसएसबीले सुनसरीमा गोली प्रहार गर्दा नेपाली घाइते भएका थिए। झापामा हतियारसहित एसएसबी प्रवेश गरेपछि स्थानीयले नियन्त्रणमा लिएर सशस्त्र प्रहरीको जिम्मा लगाएका थिए।

Post a Comment

 
Top