मंसिर २६, २०७२- कोलकाताको एक अदालतले ३ वर्षअघि एक भारतीय महिलामाथि सामूहिक बलात्कार गर्ने ३ जनालाई १० वर्षको जेल सजाय सुनाएको छ । उनले बलात्कार भएको एक वर्षपछि आफ्नो परिचय सार्वजनिक गरेकी थिइन् ।

सुजेत जोर्डन नामकी दुई छोरीकी एकल आमालाई एक नाइट क्लबबाट निस्केको अवस्थामा बसपार्क नजिकको सडकबाट बलात्कारीहरूले उठाएका थिए । उनको यसै वर्षको मार्चमा एकखाले घातक मेनेनिजाइटिसबाट मृत्यु भएको थियो । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले उनलाई ढँटुवा भनेकी थिइन् ।

जोर्डनले पश्चिम बंगाल सरकारलाई नराम्रो देखाउन खोजिरहेको भन्दै आलोचना गरेपछि कोलकातावासी र सञ्चारमाध्यम मुख्यमन्त्रीमाथि नै खनिएका थिए ।

अन्य दुई अभियुक्त अझै फरार छन् । उनीहरूविरुद्ध इन्टरपोलमा सूचना जारी गरिएको छ । जोर्डनलाई घर पुर्‍याइदिने भन्दै ती पुरुषले गाडीमा हालेका थिए ।

उनीहरूले गाडीमै बलात्कार गरी बिहानपख फालेका थिए । सुरुमा प्रहरीले उक्त घटनालाई लिएर उजुरी लिन आनाकानी गरेको थियो । तर सञ्चारमाध्यमले लगातार दबाब दिएपछि उजुरी दर्ता गर्न कर लाग्यो । भारतको कानुनअनुसार बलात्कार पीडितहरूको नाम सार्वजनिक गर्न पाइँदैन ।

कसैले गरेमा २ वर्षसम्मको कैद सजाय हुन्छ । तर जोर्डनले चाहिँ आफैं खुलासा गरेकी हुन् । ‘म एउटा पीडित हुँ । ममाथि बलात्कार भएको छ । म किन आफ्नो अनुहार लुकाऊ । बलात्कारीले पो आफ्नो अनुहार लुकाउनुपर्छ,’ उनले बीबीसीसँगको अन्तरवार्तामा भनेकी थिइन् ।

Post a Comment

 
Top