मंसिर १५, २०७२- ‘आज नाका क्लियर गर्ने कुरा छ,’ सोमवार साँझ ७ बजेतिर एक सुरक्षाकर्मीले खबर गरे । अफिसको दैनिक काम सकेर कोठा जाने बेला अचानक खबर आएको थियो । कन्फर्म भएपछि नेपालगन्ज–रुपैडिहा नाकातिर लागियो । साथमा थिए, सहकर्मी ठाकुरसिंह थारु ।

नेपाल–भारत सीमा जमुनहा पुग्दा साढे ७ बजेको हुँदो हो । छोट्टिदै गएको हिउँदे दिन ढल्किसकेको थियो । गाँढा अँध्यारो चिर्दै जमुनहा पुग्दा त्यहाँ बिरक्तलाग्दो मौनता छाएको देखियो । केही रित्ता मालबाहक ट्रक र ट्याङ्करका चालक तथा तिनका सहयोगी छेउछाउँ लागेर एकआपसमा कानेखुसिको शैलिमा बात मारिरहेका थिए । एकाध पसल बाहेक अरु सबैका सटर तानिएका थिए । अबेर रातिसम्म चहलपहल हुने सीमा बजार चकमन्न देख्दा ‘केहि हुँदैछ’ भनेर सजिलै लख काटन सकिन्थ्यो ।

सुरक्षाकर्मीको कल्याङकुलुङ मात्र । ईलाका प्रहरी कार्यालय अघिल्तिरको सडकमा नेपाल प्रहरी र सशस्त्रको बाक्लो उपस्थिति त थियो नै केही सशस्त्र ब्याक फोर्सका रुपमा अलि पछिल्तिर पोजिसन लिइरहेका थिए । प्रहरी अधिकृतहरु मातहतलाई निर्देशन र अरनखटनमा ब्यस्त थिए । जिल्ला प्रहरीका डिएसपी भीमकिरण बोगटी र सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्मका डिएसपी फिल्ड कमाण्डमै खटिएका देखिए । सेटमा जिल्ला प्रहरी प्रमुख वसन्त पन्त भरपर्दो पोजिसन लिएर अघि बढ्न निर्देशन दिइरहेका सुनिए ।

सीमा पारिको दशगजामा मधेसी मोर्चाका कार्यकता टेण्ट गाडेर बसिरहेका थिए । तीन दिन यता मात्रै उनीहरुले टेण्ट गाढेर राति अबेरसम्मै धर्ना दिन थालेका हुन् । त्यसअघि सबेरै नाका केन्द्रित हुन्थे । धर्नामा बसेर साँझ फर्किने दैनिकी जस्तै थियो, उनीहरुको । तर केही दिन यता आन्दोलनको स्वरुप फेरेका थिए । राति पनि धर्ना दिन थालेपछि सीमा अबरोध बढ्यो । त्यसैलाई निहुँ बनाएर भारतीय सुरक्षाकर्मीले पेट्रोलियम पदार्थ लगायतका अन्य सरसमान छाड्न आनाकानी गरिरहेका थिए । यस्तो चुनौती पन्छाउन नेपाली सुरक्षाकर्मीले रातको समय चुनेका थिए । कालो अध्यारोमा प्रहरी र आन्दोलनकारी आमनेसामने भए ।
आन्दोलनकारीको माँझमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का केही अफिसर र जवानहरु कोही बर्दी त कोही सादा पोसाकमै मिसिएका थिए । रुपैडिहाका एसएसबी सहायक कमाण्डेन्ट पीएन सिंह आफै त्यहाँ पुगेका देखिए । पत्रकारको उपस्थिति बिझेपछि उनी कुनातिर छेलिए । आन्दोलनकारीहरु ‘नेपाली सुरक्षाकर्मीले जर्बजस्ती हटाउन खोजिरहेको’ गुनासो गरिरहेका थिए, पत्रकारहरुसँग । उनीहरुको साथमा भने लाठीहरु थिए । केही युवा ढुंगा र इटा जम्मा गर्न लागेका देखिए ।

‘तपाईहरुले सहयोग गर्नुपर्‍यो । फ्रन्टमा देखिनु भएन । तपाईहरुको उपस्थितिले एसएसबी बिचकिएको छ । उसले हामीलाई सहयोग गर्ने आन्तरिक सहमति भएको छ,’ भन्सार सुरक्षा गुल्मका डीएसपी भनिरहेका थिए,‘अब हाम्रो कर्भट अप्रेसन सुरु हुन्छ । दशगजामा गाडिएको टेण्ट कब्जा गर्ने नीति मात्रै हो । पछाडि गइदिनुपर्‍यो ।’ भीड र लाठी तथा इँटाढुंगाले मान्छे चिन्दैनथ्यो ।  त्यसैले सेफ जोनमा बस्नु श्रेयस्कर हुन्थ्यो । त्यसै गरियो ।

एकैछिनमा बिजुली झ्याप्प गयो । कमाण्डरहरुका आदेश मात्र सुनिए । टाउकामा हेल्मेट र हातमा ढाल तथा लाठी लिएका नेपाल प्रहरी र सशस्त्रका सयौं जवान गुरुरु अघि बढे । भुइँतिर झुक्दै, झुक्दै । हतियारधारीहरु अलि पछि बीचमा मिसिए । सेटको आवाज मात्र सुनिन्थ्यो । तर, एकैछिनमा ती आवाज कमजोर भए । एक्कासी ढुंगा बर्सिन थाल्यो । त्यसमा रित्ता शिशाका बोत्तल पनि थिए ।  आन्दोलनकारी सीमा गेटमा छेलिएर एकोहोरो ढुंगा र बोत्तल हान्न थालेपछि सुरक्षाकर्मीले पनि लाठी र ढाल बजाउँदै झन चर्को आवाज बनाए । दायाँतिरबाट अघि बढेको टोलीले टेण्ट कब्जा गर्‍यो । त्यसलाई उखेल्यो र विजयभावमा कराउदै पछाडी पाइताला सार्‍यो । त्यो टोलीलाई अर्कोले ब्याक सर्पोट गर्‍यो । आधा घण्टामै टेण्ट कब्जामा आएको थियो ।

आकाशमा आँगोको लप्का देखियो । त्यो भुइँमा खस्यो । त्यसले नेपाल प्रहरीका जवान सनत बस्यालको बुट लगाएको खुट्टा छोयो । उनी अर्को खुट्टाले त्यसलाई निभाउने प्रयास गरिरहेका थिए । सहकर्मीले निभाउन सहयोग गरे । त्यतिन्जेल उनको खुट्टा जलिसकेको थियो । त्यो आगोको लप्का पेट्रोल बम थियो । ढुंगा र बम एकनासले सीमा वारि खस्न थाले । सुरक्षाकर्मीलाई निसाना बनाएर । प्रहार गर्ने मधेसी मोर्चाका कार्यकर्ता थिए । जसले नयाँ संबिधानमा असहमती जनाउदै नाका केन्द्रित आन्दोलन थालेका थिए ।

सेटमा जिल्ला प्रहरी प्रमुख एसपी वसन्त पन्त कराइरहेका थिए, ‘अब आफ्नो भूमिमा बस्ने । प्रतिरक्षा गर्ने र त्यसो गर्दा डराइरहुन पर्दैन । एसएसबीले पनि सहयोग गर्ला जस्तो छ ।’ दोहोरो झडप भएको एक घण्टा बितिसकेको थियो । बिजुलीको लाइन काटिएको थियो । पारिबाट पेट्रोल बम प्रहार निरन्तर थियो । ती कतिपय पडकिएनन् । झ्वारर आगो मात्र बलथ्यो । युद्धभूमिको जस्तो दृष्य थियो, त्यहाँ ।

डेढघण्टापछि पारि माइकिङ सुनियो । त्यो एसएसबीले गरेको थियो । दशगजा र आफ्नो भूमिबाट आन्दोलनकारीलाई हट्न एसएसबीले दबाब दिइरहेको प्रष्ट सुनिन्थ्यो । त्यसपछि ढुंगाइँटा र पेट्रोल बम आउन छाडे । त्यतिन्जेल राति साढे ९ बजिसकेको थियो ।





Post a Comment

 
Top