संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र भारतीय पक्षबीच बीरगन्ज-रक्सौल नाकाको मितेरी पुलमा झडप भएको छ। रक्सौलबाट टाँगामा हालेर ल्याएको पेट्रोल आन्दोलनकारीले खन्याएपछि भारतीय पक्षले आक्रमण गरेको पर्सा प्रहरी प्रमुख एसपी राजुबाबु श्रेष्ठले जानकारी दिए। झडप नियन्त्रण गर्न प्रहरी त्यसतर्फ गएको एसपी श्रेष्ठले नागरिकन्युजलाई बताए।

भारतीय पक्षको आक्रमणबाट दुई जना घाइते भएका छन्। इनरवा-१९ का सत्रुघन यादव र तमलोपाको महिला नेतृ रेखा साह घाइते भएको प्रहरीले जनाएको छ। दुबैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

रक्सौल नाका ठप्प पारेर धर्ना बसेका मधेसी दलका नेता कार्यकर्ता बुधबार राति भारतीयहरुको आक्रमणपछि लखेटिएका थिए। रक्सौलको अहिरवा टोलका भारतीयहरुले धर्नामा बसेका आन्दोलनकारीलाई कुटेर लखेटेका थिए।

सोही निहु पारेर मधेसी मोर्चाका कार्यकर्ताहरुले बिहीबार बिहानदेखि नाका पूर्णरुपले ठप्प परेका छन्। कुनै पनि सामान वीरगन्जतिर आउन नदिएपछि भारतीय पक्ष आक्रशित बनेको प्रत्यक्षदर्शीले बताएका छन्।



Post a Comment

 
Top